शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : पूर्वाधार निर्माणको काम समयमा सम्पन्न गर्न सांसदहरुको माग

बिहीबार, २३ चैत २०७९, १५ : १७
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । संसद् बैठकको शून्य समयमा अधिकांश सांसदहरुको पूर्वाधार निर्माणको काम समयमा नै सम्पन्न गर्न सरकारसँग माग गरेका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश संसदहरुले सडक, खानेपानी, गौरवका आयोजना, पुँजीगत खर्च लगायत पूर्वाधार निर्माणको विषयमा चासो राख्दै निर्माणको काम सरकारले सक्रिय बढाउन माग गरेका हुन् । 

सांसदहरुले चालु आर्थिक वर्षको ९ महिना पूरा हुँदा समेत पुँजीगत खर्च न्यून भएको भन्दै सरकारले पुँजीगत खर्च बढाएर गुणात्मक विकास निर्माणको काम गर्न माग गरेका छन् । बैंठकको शून्य समयमा सांसदहरुले आर्थिक विषयमा विशेष प्राथमिकताका साथ उठाएका छन् । 

शून्य समयमा बोल्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले २०२० सालमा मातातीर्थ हुँदै काठमाडौँको टेकुसम्म ४२ किलोमिटर रोववयका संरचना व्यवस्थापन गर्न माग गरे । उनले सञ्चालनमा आएर २०५६ सालमा बन्द भएको २३ वर्षसम्म त्यसको संरचना उस्तै रहेको भन्दै राज्यको करोडौंको सम्पत्ति संरक्षण गर्न सरकारसँग माग गरे । उनले रोपवयका संरचना कमजोर भएको भन्दै संरचनाले मानवीय क्षति गर्नसक्ने बताए । 

त्यस्तै, सांसद विमला सुवेदीले काठमाडौँको वाइपास, रानीपैवा, तीन पिप्ले, नुवाकोटको त्रिशूली जोड्ने पासाङ ल्हामुराजमार्ग सबै भन्दा पुरानो राजमार्ग ठोक्क तोड्दा अलपत्र भएको बताइन् ।  उनले काठमाडौँ र नुवाकोट जोड्ने महत्त्वपूर्ण सडक भएको भन्दै समयमा नै निर्माण सम्पन्न नहुँदा जनताले दुःख पाएको बताइन् । उनले भारतीय एक्जिम बैंकको सहयोगमा निर्माण कार्य भएको सडक ४५ प्रतिशत काम सम्पन्न भएको बताइन् । उनले भारतीय ठेकदारहरुको लापरबाहीले सडक निर्माण नभएको भन्दै सरकारले तत्काल ठेक्का लगाएर काम थालनी गर्न माग गरिन् । 

त्यस्तै अर्का सांसद बुद्धिमान तामाङले बुढीगण्डकी जलविद्युत आयोजनाको कारण तत्काल तटीय क्षेत्रमा स्वास्थ्य,शिक्षा,नहर,खानेपानीको सुविधा उपलब्ध गराउन माग गरे । उनले आयोजनाको काम राष्ट्रिय हित हुने गरी अगाडि बढाउन माग पनि गरे । उनले आयोजना प्रभावित जिल्लाका नागरिकहरुलाई आयोजनामा रोजगारी दिन माग गरे ।  

त्यस्तै,सांसद माधव सापकोटाले आर्थिक वर्षको सुरुमा महिनामा तोकिएको खर्च गर्ने र अन्तिममा चौमासिकमा हुने ठूलो खर्च सरकारले निरुत्साहित गर्नुपर्ने बताए । उनले चालु आर्थिक वर्ष सकिन लाग्दा समेत करिब २५.८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको महालेखाको तथ्याङ्कले देखाएको बताए । उनले सरकारको पुँजीगत खर्च अन्तिम महिनाको जेठ र असारमा ६० प्रतिशत खर्च हुने भएको भन्दै विकास बजेट खर्च नभएर सरकारी ढुकुटीमा रहनु चलायमान अर्थतन्त्रमा उचित नभएको बताए । उनले सरकारले बजेट बनाउँदा सरकारले वार्षिक बजेट क्यालेण्डर बनाई प्रत्येक महिनामा निश्चित प्रतिशत बजेट खर्च गर्न र सम्बन्धित निकायको कार्यसम्पादनको मूल्याङ्कन गरी बजेट व्यवस्थापनको कमजोरी हटाउन सरकारसँग माग गरे । 

त्यस्तै अर्का सांसद मानवीर राईले पर्यटकीय जिल्ला सोलुखुम्बु जाने सडक कालोपत्र उक्किएको भन्दै तत्काल कालोपत्र गर्न सरकारसँग माग गरे । उनले विश्वका पर्यटकहरु सडकमार्ग मार्फत जाने बाटो बनाउन सरकारको ध्यानाकर्षण गराए । 

सांसद राजेन्द्रकुमार केसीले काठमाडौँ उपत्यकाबासी राष्ट्रिय राजमार्गको कारण मारमा परेको बताए । उनले सडक निर्माण गर्दा ५० मिटर जग्गा छोड्नुपर्ने व्यवस्थाले कालिमाटी कलंकी क्षेत्रका नागरिक विस्थापित हुने बताए । उनले फराकिला सडक बनाउँदैमा ट्राफिक व्यवस्थापन हुन नसक्ने बताए । 

सांसद रोशनी कार्कीले दुई पटक संसद्ले विश्वास गरेका प्रधानमन्त्रीलाई मिटरब्याजी पीडितले विश्वास नगरेको बताइन् । उनले आयोगको आलोचना भएको भन्दै सरकारले तत्काल कानुन बनाएर पीडितको समस्या समाधान गर्न माग गरिन् । उनले सरकारले आफूलाई आवश्यक कानुन फास्ट ट्रयाकमा ल्याउन हुने तर नागरिकको लागि सरकारले किन नल्याउने भन्दै प्रश्न गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप