शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रीको मनपरी

अर्थमन्त्रीले बाँडे आफूखुसी २३ करोड !

बिहीबार, २३ चैत २०७९, १७ : ०८
बिहीबार, २३ चैत २०७९

सुर्खेत । बुधबार कर्णाली प्रदेशसभा बैठकमा कांग्रेसका सांसदहरुले अर्थमन्त्री विनोदकुमार शाहले करोडौँ रकम मनमौजी तरिकाले गाउँमा पठाएको आरोप लगाए । अर्थमन्त्री शाहले मुख्यमन्त्री राजकुमार शर्मालाई समेत पत्तै नदिई चुनावी खर्च उठाउने नियतले गाउँमा बजेट पठाएको भन्दै कांग्रेस सांसदले सदनमा त्यसबारे जानकारी गराउन माग गरे । यद्यपि शाहले संसदमा यसबारे जवाफ भने दिएका छैनन् ।

मन्त्री शाहले गत फागुन १६ गते २३ करोड २० लाख बराबरको रकम गाउँगाउँमा पठाइसकेका छन् । रातोपाटीलाई उपलब्ध विवरण अनुसार शाहले विभिन्न ६७ वटा योजनामा उक्त रकमको अख्तियारी पठाएका हुन् । यो रकम प्राकृतिक विपद व्यवस्थापनका लागि राखिएको बजेट हो । अर्थमन्त्री शाहले यति ठुलो रकम गाउँमा पठाउँदा सरकारका अन्य मन्त्री र मुख्यमन्त्रीलाई पत्तो नै नदिएको आरोप छ । विषम् परिस्थितिको यति ठुलो बजेट बाँडफाँट गर्दा मन्त्रिपरिषद्मा समेत विषयले प्रवेश नपाएको एक मन्त्रीले रातोपाटीलाई बताए ।कुन जिल्लामा कति योजना ?

मन्त्री शाहले छानेका अधिकांश योजना वितरणमुखी र कार्यकर्तामुखी देखिन्छ । शाहले आफ्नो गृह जिल्ला दैलेखमा ३० भन्दा बढी योजनामा करोडौँ रकम पठाएका छन् । त्यसपछि सुर्खेतमा १८ योजना छुट्याइएको छ । शाहले विनियोजन गरेको बजेटमा सल्यान भने परेको छैन । जुम्लामा एउटामात्रै योजना पारिएको छ । कालिका मावि टोप्लाको आइसिटी तथा पुस्तकालय निर्माण गर्ने भनेर २० लाख बजेट पारिएको छ ।

artha mantralaya

यस्तै हिमाली जिल्लाहरुमा समेत बजेट न्यून गएको छ । डोल्पामा जम्मा २ वटा योजना परेका छन् । लोङलादेखि सोचेन तटबन्धका लागि ३० लाख र तामु सिँचाइ आयोजनाका लागि ३० लाख बजेट छ । मुगुमा बाले बगर वृहत तटबन्धका लागि ४० लाख र धौलीगाडा तटबन्ध आयोजना भनेर ३० लाख बजेट विनियोजन गरिएको छ । यस्तै हुम्लाको सर्केगाड गाउँपालिका–१ मा पर्ने साँगुडा ग्रामीण सडक निर्माण भन्दै २० लाख बजेट पठाइएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १० को चिसापानी खेलकुद मैदान निर्माण गर्ने भनेर ३० लाख बजेट पठाइएको छ ।

दैलेख र सुर्खेतपछि जाजरकोटमा बजेट बढी पठाइएको छ । जाजरकोटको सक्ला रन्गवारा हुँदै खारी जोड्ने सडकका लागि ३० लाख, ज्ञानकुञ्ज क्याम्पस फिल्ड निर्माणका लागि २० लाख, पाँच काटीया बुढीका चौर हुँदै मछाईन्ना जोड्ने सडकका लागि ३५ लाख, आरसी खोला तटबन्धका लागि ४० लाख र काउली छहरे खोला दुवारे सडकका लागि ३० लाख रकम विनियोजन गरिएको छ ।

कालिकोटमा दुई योजनाका लागि ३५ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

कुन जिल्लाका कुन योजनामा कति बजेट ? (हेर्नुहोस् तस्बिरमा)

123
 

निर्वाचन क्षेत्रमा झण्डै ९ करोड बराबर रकम

अर्थमन्त्री शाहले आफ्नो गृह जिल्ला दैलेख, त्यसमा पनि निर्वाचन क्षेत्रमा विशेष प्राथमिकता दिएर बजेट विनियोजन गरेका छन् । उनको निर्वाचन क्षेत्र दैलेख २ (२) हो । यस क्षेत्रमा आठबीस र चामुण्डाबिन्द्रासैनी तथा ठाटीकाँध गाउँपालिका पर्दछन् । ठाटीकाँध शाहको गृह पालिका हो । शाहले ठाटीकाँधमा मात्रै ४ करोडभन्दा बढी रकम पठाएका छन् । चामुण्डाविन्द्रासैनी नगरपालिकामा १ करोड ५ लाख बराबरका योजना छन् भने आठबीस नगरपालिकामा ३ करोड ८५ लाख बजेट छ ।

अर्थमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्रमा पठाएको बजेट÷योजनामा उनी निकट नेता, कार्यकर्ता र आफन्तको नाम उल्लेख भएको लिस्ट नै सामाजिक सञ्जालमा आएको छ । यही कुरालाई आधार बनाएर कांग्रेसका सांसदहरुले चुनावी खर्च उठाउने नियतले गाउँमा रकम पठाएको आरोप लगाएका हुन् ।

‘शाहको नियतमाथि प्रश्न’

binod shahi

अर्थमन्त्री शाहले मन्त्री, सांसद कसैलाई पनि पत्तै नदिएर रातारात बजेट गाउँमा पठाएको भन्दै उनको नियतमाथि नै शंका गर्ने ठाउँ रहेको कांग्रेस सांसद बेदराज सिंहले बताए । गणतन्त्र आइसकेपछि बनेको प्रदेश सरकारमा अर्थमन्त्रीले बजेट एकाएक ट्रान्फर गर्ने कुरा संघीयता हो कि भन्दै प्रश्न गरे ।

‘उहाँले अमेरिकाको कुनै स्टेटबाट ल्याएको छुट्टै बजेट थियो र मन्त्रीले निजी रुपमा वितवरण गर्नुभयो कि ?,’ सिंहले थपे, ‘या त लन्डन, युरोपेली युनियनको तर्फबाट आएको हो ?’ नेपाल सरकारले तर्जुमा गरेको बजेटमा सबैको स्वामित्व हुनुपर्ने उनको भनाइ छ ।

सल्यानबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद सुरेश अधिकारीले अर्थमन्त्री शाहको नियतमाथि नै प्रश्न उठाए । उनले भने, ‘विशेष परिस्थितिको बजेट रकम विशेष परिस्थिति, भोकमरी लगायतका कुरामा रकमान्तर गरेर पठाउने होला तर, अर्थमन्त्री शाहले चुनावी खर्च उठाउनका लागि कसैलाई पत्तो नदिइ बजेट पठाउनुभयो ।’

उनले बजेटमा आफ्नो जिल्ला नसमेटिएको बताउँदै सल्यान कर्णालीमा पर्छ कि पर्दैन भनेर प्रश्न गरे । सांसदहरुले भनेजस्तै शाहले पठाएका योजना रातोकिताबमा आएका नभई शाहले आफैँ पठाएको कांग्रेसको आरोप छ ।

यद्यपि विनियोजित बजेट प्रक्रिया अनुसार नै गएको अर्थ मन्त्रालयको दाबी छ । ‘छलफल गर्ने नगर्ने कुरा मन्त्रीज्यूको हो,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रालयबाट चाहिँ प्रक्रियागत रुपमा नै गएको छ ।’

अर्थमन्त्री शाहले पनि बजेट प्रक्रियागत रुपमै पठाएको बताउँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप