मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
अपराध

मरेको मान्छेको नाममा ठगी गर्ने कार्यमा संलग्न गिरोह पक्राउ

शुक्रबार, २४ चैत २०७९, २२ : ३२
शुक्रबार, २४ चैत २०७९

काठमाडौँ । मरेका मान्छेको नाममा रकम असुलेर ठगी गर्ने कार्यमा संलग्न गिरोहका सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको गोङ्गबुका रामबहादुर तामाङसहित ६ जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा गई मृत्यु भएकाका परिवारलाई प्रलोभनमा पारेर रकम ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  

अपराध अनुसन्धान कार्यालयका एसएसपी डा.मनोज केसीका अनुसार वैदेशिक रोजगारीको लागि विदेशमा काम गर्दा गर्दै विविध कारणले मृत्यु भएका तथा बिदामा नेपाल आउँदा मृत्यु भएका नेपालीहरूले बीमा बापत पाउने बीमा रकम मृतकका आफन्तहरूलाई दिलाई दिने भन्दै उनीहरुले ठगी गर्ने गरेको खुलेको छ । त्यसबापत उनीहरुले प्रति मृतक ७ लाखसम्म ठगी गरेको खुलेको छ । यसबारे अपराध अनुसन्धान कार्यालयमा उजुरी परेपछि विशेष अनुसन्धान टोलीले उनीहरूको खोजतलास थालेको थियो ।

पक्राउ परेकाहरूको साथबाट विभिन्न मृतक व्यक्तिहरूको नागरिकता, राहदानी, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, वडा कार्यालयको सिफारिस, बीमा कम्पनीको लेटर प्याड लगायतका महत्त्वपूर्ण कागजात समेत बरामद गरेको छ । उनीहरूलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको केसीले बताए ।

वैदेशिक रोजगारीमा गई कार्यस्थलमा मृत्यु भएकाको परिवारले १४ लाख र नेपालमा छुट्टीमा आउँदा मृत्यु भएमा १३ लाख बीमा बापतको क्षतिपूर्ति पाउने व्यवस्था छ । यस्तै वैदेशिक रोजगार बोर्डबाट अतिरिक्त ७ लाख पनि पाउने व्यवस्था रहेको छ।  उनीहरुले परिवारले स्वतः पाउने रकममा पनि प्रलोभनमा पारेर ठगी गर्ने गरेको पाइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप