शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
शक्ति संघर्ष

उपेन्द्र यादवमाथि किन खनिन्छन् सीके राउत ?

यस्तो छ उपेन्द्र यादव र सीके राउतबीचको प्रतिस्पर्धा
शुक्रबार, २४ चैत २०७९, २१ : २५
शुक्रबार, २४ चैत २०७९

काठमाडौं । ‘अरिङ्गालले पानी मुनि गए पनि छोड्दैन’ भन्ने उक्ति गाउँघरमा निकै प्रचलित छ । यो उक्ति जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका लागि उपयुक्त हुन्छ । डा. सीके राउत अहिले अरिङ्गालकै शैलीमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध खडा भएका छन् ।

जसपा नेपालका अध्यक्ष अरिङ्गालले लखेटेको त्यो मानिसजस्तो छन्, जो पानीमुनि गएर बच्ने प्रयास गरिरहेका छन् । सोही अनुसार उनले आफ्नो निर्वाचन क्षेत्रमा सीके राउतसँग पराजित भएपछि बारा–२ मा उपनिर्वाचन लड्न आइपुगे तर त्यहाँ पनि सीके राउतले उनलाई नछाड्ने संकेत देखिएको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव २०७४ को चुनावमा सप्तरी–२ बाट चुनाव जितेका थिए । पुनः सोही क्षेत्रबाट चुनाव लड्छु भनि उपेन्द्र यादव तयारीमा लागे । शिक्षा, स्वास्थ्य, सडकलगायतको क्षेत्रमा थुप्रै पूर्वाधार तयार गरे । २०७९ मंसिर ४ मा चुनाव हुने भएपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि त्यही क्षेत्रमा आइपुगे ।

उपेन्द्र र सीकेमध्ये कोही एक जना सो क्षेत्रमा उम्मेदवार बन्नुपर्छ भनेर दुवै जनामा छलफल पनि भयो । तर कोही पनि टसमस भएन । जनमत पार्टीका अध्यक्ष सीके राउतले सार्वजनिक रुपमै भन्दै आएका छन्, ‘मैले उपेन्द्रजीलाई भेटेरै त्यो मेरो क्षेत्र हो, म त्यहाँबाट चुनाव लड्छु, तपाई अर्को क्षेत्रको व्यवस्था गर्नु भनेको हुँ तर उहाँले मान्नु भएन ।’

तर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्ना निकटका नेताहरुसँग भन्दै आएका छन्, ‘सीके राउतले सो क्षेत्रबाट चुनाव लड्ने भनेर मलाई भन्न आउनु भएको थिएन, उहाँले चुनावमा गठबन्धन गरौं भन्न आउनु भएको थियो, मैले छलफल गर्दै जाउँ, कहाँकहाँ कसरी तालमेल गर्न सकिन्छ भनेको थिएँ ।’

तर पछि थप छलफल नै नगरी सिधै सप्तरी–२ का लागि सीके राउतले उम्मेदवारी घोषणा गरेको उपेन्द्र यादवको भनाइ छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले कुनै पनि दलसँग तालमेल नगर्ने घोषणा गर्दै २०७९ मंसिर ४ को चुनावमा होमिए । तालमेलका लागि कसैसँग छलफल गर्न पनि तयार भएनन् उनी ।

सप्तरी–२ मा चुनाव भयो । उपेन्द्र यादव जसपा–एमालेका साझा उम्मेदवार थिए भने जनमत पार्टीका अध्यक्ष सीके राउत एक्लै चुनाव लडेका थिए । सो क्षेत्रमा कांग्रेस, माओवादी, लोसपासहित पाँच दलीय गठबन्धनबाट जेपी ठाकुर उम्मेदवार बनेका थिए ।

तर सीके राउत आफ्ना निकटतम प्रतिस्पर्धी उपेन्द्र यादवभन्दा दोब्बर मतले विजयी भए । सीके राउतले ३५ हजार ४२ मत ल्याएका थिए भने जसपाका अध्यक्ष उपेन्द्र यादव १६ हजार ९७९ मतमा सीमित भए । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका नेता जेपी ठाकुरले सात हजार ३४७ मत ल्याएका थिए ।

एकातिर दुई दलको शक्तिशाली उम्मेदवार र अर्कोतिर पाँच दलीय गठबन्धनका उम्मेदवारलाई हराउने सीके राउत चानचुने व्यक्ति पक्कै होइन भन्ने चर्चा सुरु भयो । सीके राउतको अगाडि उपेन्द्र यादव ‘हेभीवेट’ नेता थिए । तर दोब्बर मतले उनलाई हराए ।

जसपाका अधिकांश नेताहरु अन्तर्राष्ट्रिय शक्तिले सप्तरी–२ मा मत खरिदविक्री गरेर उपेन्द्र यादवलाई हराएको दाबी गरिरहेका छन् । जसपाको चुनावी समीक्षा बैठकमा पनि त्यही निष्कर्ष निकालियो । अन्तर्राष्ट्रिय शक्तिको हातमा पार्टीकै नेताहरु विक्री भएर उपेन्द्र यादवलाई हराएको पार्टीले रिपोर्ट बनाएको छ ।

तर डा. सीके राउतलाई त्यतिले मात्र पुगेन । सप्तरी–२ मा चुनाव हारेका उपेन्द्र यादव बारा–२ मा वैशाख १० गते हुन गइरहेको उपचुनावमा उम्मेदवार छन् । तर सीके राउत उनलाई पछ्याउँदै बारा–२ मै पुगे ।

जबकि सीके राउतले नेतृत्व गरेको पार्टी सत्ता गठबन्धनमै छ । उपेन्द्र यादवको पार्टी पनि सोही गठबन्धनमा छ । यद्यपि बारा–२ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका यी दुई दल विपरीत ध्रुवमा छन् । उपराष्ट्रपति निर्वाचनमा पनि यी दुई दल विपरीत ध्रुवमै थिए ।

सप्तरी–२ बाट हारेपछि पुनः संसदमा आउन उपेन्द्र यादवले धेरै अघिदेखि तयारी थालिसकेका थिए । ठूला दलका शीर्ष नेताहरुसँग उनले छलफल चलाइसकेका थिए । बाराबाट मुख्यमन्त्री बनाउनु, त्यहीँबाट उपराष्ट्रपति बनाउनु त्यसैको तयारी थियो । त्यो कुराको जानकारी सीके राउतलाई पनि पहिलादेखि नै थियो ।

बारा–२ खाली गराउनका लागि उपेन्द्र यादवले रामसहाय यादवलाई उपराष्ट्रपति बनाए । उनले आफ्नोलागि नै सो क्षेत्र खाली गराएको स्पष्ट थियो । यो कुरा गठबन्धनको बैठकमा पटकपटक उठेको थियो । जुन बैठकमा स्वयं सीके राउत पनि उपस्थित हुन्थे तर उनले उपेन्द्र यादव पुनः संसदमा आउनुपर्छ भन्ने चाहेका थिएनन् ।

यहाँसम्म कि जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा जितेका रामसहाय यादवलाई उपराष्ट्रपतिको लागि उम्मेदवार बनाउँदा नै सीके राउतले उपेन्द्र यादवमाथि आशंकाको नजरले हेरेर उनलाई घेर्ने रणनीति बनाइसकेका थिए ।

त्यसैको परिणामस्वरुप जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो । उपराष्ट्रपतिमा रामसहाय यादवलाई पराजित गर्न सके उपेन्द्र यादवका लागि उपनिर्वाचनमा उम्मेदवार बन्ने बाटो बन्द गर्न सकिन्छ भन्ने आकलन गरेरै जनमत पार्टीले आफ्नो उम्मेदवार खडा गरेको थियो ।

महन्थ ठाकुर नेतृत्वको लोसपा र रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीबाट उपराष्ट्रपतिमा खडा गरेको उम्मेदवारलाई सघाउने तयारी थालेका थिए । तर गठबन्धनले निर्णय गरेपछि पछाडि हटेर रामसहाय यादवलाई उनीहरुले सघाए । जनमत पार्टीका अध्यक्ष सीके राउत भने पछाडि हटेनन् ।

बारा–२ मा उम्मेदवार बनेका उपेन्द्र यादवलाई हराउन सीके राउतले पुरा शक्ति लगाइरहेका छन् । आफ्नो पार्टीमा बलियो उम्मेदवार नपाएपछि उनले माओवादीका शिवचन्द्र कुशवाहालाई आफ्नो पार्टीमा प्रवेश गराइ उम्मेदवार बनाएका छन् । सत्ता गठबन्धनमा रहेका सबै दलले उपेन्द्र यादवलाई सघाएका छन् भने गठबन्धनको निर्णय विपरीत सीके राउतले त्यहाँ उम्मेदवार खडा गरेका छन् ।

द्वन्द्वको शृङ्खला

मधेस आन्दोलनबाट जन्मेका जसपाका अध्यक्ष यादव मधेसका हस्ती थिए तर जनमत पार्टीका अध्यक्ष राउत भने उनको त्यो पहिचानलाई ध्वस्त बनाउन लागिपरेका छन् । सीके राउतलाई थाहा छ– उपेन्द्र यादवलाई ध्वस्त नगरेसम्म आफू मधेसमा बलियो हुन सकिँदैन ।

त्यही भएर उनले बारामा पनि उपेन्द्र यादवलाई हराउन ‘अरिङ्गल’ जस्तो लागिपरेको टिप्पणी भइरहेको छ । यसले पुष्टि हुन्छ, ‘उपेन्द्र यादव जहाँ गए पनि सीके राउतले छाड्ने छैनन् ।’

उपेन्द्र यादव र सीके राउतबिचको यो टक्कर आजदेखिको होइन । मधेस आन्दोलनताका अमेरिका छाडेर मधेस राजनीतिमा सीके राउतको आगमन भएको थियो । तर त्यो आगमनलाई उपेन्द्र यादवले मन पराएका थिएनन् । मधेसी मोर्चाबाट २०६४ मा टुँडिखेलमा भएको आमसभामा सीके राउतले पहिलो इन्ट्री लिएका थिए ।

सीके राउत आन्दोलनमा हुँदा सबैभन्दा बढी टार्गेट उपेन्द्र यादवको पार्टीलाई नै गर्थे । यहाँसम्म कि सीके राउतले उपेन्द्र यादवलाई सम्बोन्धन गर्दा ‘कालानाग’ नै भन्थे । अर्थात् मधेसमा सीके राउत र उपेन्द्र यादव बिचको द्वन्द्व धेरै पुरानो हो ।

सीके राउतले तराई मधेसमा आफ्नो प्रतिस्पर्धी उपेन्द्र यादवको पार्टीलाई नै माने । त्यही भएर जहिले पनि उसलाई नै टार्गेट गरिरहे । उपेन्द्र यादव नेतृत्वको जसपाले पनि मधेस प्रदेशमा सबैभन्दा बलियो आफू भए पनि आफ्नो प्रतिस्पर्धी जनमत पार्टीलाई देखेको थियो ।

उता, मधेसमा खुट्टा टेकेको जनमत पार्टीले जसपालाई कमजोर नगरेसम्म मधेसमा बलियो हुन नसक्ने विश्लेषण गरेर सोही अनुसार तयारी गर्दै आएको थियो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएको बेला २०७५ फागुन २४ गते सीके राउतसँग वार्ता गरेर मुलधारमा ल्याएका थिए । त्यतिबेला उपेन्द्र यादवले पनि सीके राउतलाई सघाएका थिए । तर मुलधारमा आइसकेपछि उपेन्द्र यादवकै प्रतिस्पर्धी भए सीके राउत । तत्कालीन प्रधानमन्त्री ओलीले सीके राउतलाई यसरी महत्त्व दिएर मुलधारमा ल्याएको कुरा उपेन्द्र यादवलाई त्यति मन परेको भने थिएन ।

आफ्ना पार्टीका कार्यकर्ताको मृत्युमा जनमतले देखायो उपेन्द्रको दोष

२०७५ भदौ ७ गते उपेन्द्र यादव बर्दिया जाँदा सीके राउतका कार्यकर्ताले उनलाई कालो झण्डा देखाएका थिए । सोही क्रममा पक्राउ गरेका राममनोहर यादवको थुनामै निधन भएको थियो ।

त्यो घटनाले उपेन्द्र यादव र सीके राउतको बिचमा झन् दुरी बढायो । त्यहीबेला तत्कालीन प्रधानमन्त्री ओलीले सीके राउतलाई ‘क्लिन चिट’ दिएर महत्त्वका साथ मधेसमा पठाएको कतिपयको बुझाइ छ । यो कुरा उपेन्द्र यादवले पनि थाहा पाइसकेका थिए ।

त्यसपछि जनमत पार्टीका कार्यकर्ताले जहिले पनि उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाइ रहे । जसपा मधेस आन्दोलनबाट जन्मेको पार्टी हो, मधेसमा आन्दोलन गरेर शक्तिशाली पार्टी बनेको हो । मधेसमा जसपालाई कमजोर नगरेसम्म आफूहरुले ठाउँ पाउने सम्भावना हुँदैन भनि जनमत पार्टीले सारा शक्ति जसपाको विरोधमा लगाएको थियो ।

गत माघ ५ गते जसपाका नेतृ एवं तत्कालीन भौतिक पूर्वाधार मन्त्री रेणु यादव कार्यक्रमका लागि रौतहट जाँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले रोक्ने प्रयास गरे । कालो झण्डा देखाए । भाठा लिएर मन्त्रीलाई कार्यक्रममा जानबाट रोक्ने प्रयास गरे । मन्त्री यादव बाध्य भएर अर्को बाटो हुँदै कार्यक्रममा सहभागी भइन् ।

त्यसरी नै जसपाका तत्कालीन नेता तथा तत्कालीन कृषि मन्त्री महेन्द्र राय यादव बाँके जाँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । त्यहाँ पनि बिचमै कार्यक्रम छाडेर मन्त्री यादव फर्किएका थिए । त्यतिबेला अन्य पार्टीका मन्त्री तथा नेताहरु मधेस जाँदा सीके राउतका कार्यकर्ताले कसैलाई निशाना बनाएनन् । जसपाका नेता तथा मन्त्रीलाई भने खोजीखोजी निशाना बनाए ।

सीके राउतको मुद्दा

तराई मधेसमा उपेन्द्र यादवले जुन स्पेश लिएका छन्, त्यो स्पेश सीके राउतले लिन चाहेका थिए । त्यसैले उपेन्द्र यादवलाई ‘ड्यामेज’ गर्नु नै सीके राउतको उद्देश्य थियो । उनी आफ्नो उद्देश्यमा एक हदसम्म सफल पनि भएका छन् ।

सीके राउतलाई मधेसको मुद्दासँग कुनै मतलब छैन । सीके राउतले तेस्रो मधेस आन्दोलनको विरोधमा थिए । उनी स्वायत्त मधेस प्रदेशको विरोध गर्दै स्वतन्त्र मधेसको कुरा गरिरहेका थिए । अहिले मुलधारमा आएपछि संघीयता, समानुपातिक समावेशी, लोकतन्त्रको कुरा उनको प्राथमिकतामा नरहेको धेरैको टिप्पणी छ । उनले संघीयता, समावेशी, समानुपातिक लोकतन्त्रको लागि कहिल्यै आन्दोलन गरेनन् ।

उनले भ्रष्टाचार, किसान, नागरिकता लगायतका विषयमा आन्दोलन गरिरहे । संविधान संशोधनको मुद्दा उनको प्राथमिकतामा कहिल्यै परेन । कसरी हुन्छ, मधेसमा उनले आन्दोलन गरिरहे, मधेसलाई जगाइरहे र त्यस आन्दोलनमा उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाइरहे ।

२०६९ मा स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दादेखि नै सीके राउतको टार्गेट उपेन्द्र यादव नै थिए । उपेन्द्र यादवले स्वायत मधेस एक प्रदेश माग राख्दै आन्दोलन गर्दा सीके राउतले त्यसको विरोध गर्दै हिँडेका थिए ।

स्वायत्त मधेस होइन, स्वतन्त्र मधेसको नारा उनले लगाएका थिए । मधेसवादी दललाई कमजोर गर्नका लागि सीके राउतले ‘कोठली बाहर मोहर’ (कोठा बाहिर मतदान) को अभियानसमेत चलाएका थिए ।

त्यही सीके राउत मुलधारमा आएपछि उपेन्द्र यादवको प्रतिस्पर्धामा सबै शक्ति खर्च गरिरहेका छन् । बारामा जनमतको तर्फबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बनेका छन् । तर त्यहाँ शिवचन्द्र कुशवाहाभन्दा बढी चर्चा सीके राउतको सुनिन्छ । बारा–२ मा उपेन्द्र–सीकेबिच मात्र प्रतिस्पर्धा भइरहेको जस्तो देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप