शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

‘एसपी खरेल’को इमेजले रमेश खरेललाई बारा–२ मा कति सहज ?

बिहीबार, २३ चैत २०७९, १४ : ५८
बिहीबार, २३ चैत २०७९

काठमाडौँ । ११ वर्ष अघि रमेश खरेल जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखका रूपमा वीरगञ्जमा कार्यरत थिए । करिब १० महिना त्यहाँ रहेर काम गरेका उनले छोटो समयमै निकै ख्याति कमाएका थिए ।

खासगरी युवा वर्गमा उनी निकै लोकप्रिय थिए । उनको लोकप्रियता यतिसम्म थियो कि, तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई वीरगञ्जको आदर्शनगरस्थित रंगशालामा आयोजित अन्तर्राष्ट्रिय महोत्सव उद्घाटन गर्न पुग्दासमेत स्थानीयवासी प्रधानमन्त्रीतिर नभई रमेश खरेलको अभिव्यक्ति सुन्न र उनीसँग तस्बिर खिचाउन झुम्मिएका देखिन्थे ।

बढ्दो ‘क्रेज’ कै बिच उनको सरुवा भयो । उनको सम्मानमा बिदाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो । माईस्थान चोकमा आयोजित अभिनन्दन कार्यक्रममा हजारौँको सङ्ख्यामा पर्सा तथा बाराका जनताको उपस्थिति थियो ।

पर्सामा रमेश खरेलभन्दा अघि र पछि थुप्रै एसपी आए, गए तर त्यसखालको अभिनन्दन कसैको भएन । उनै रमेश खरेल अहिले वैशाख १० मा हुन गइरहेको उपनिर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् । प्रहरी सेवामा रहँदा बारा–पर्सामा देखिएको त्यो ‘क्रेज’ उनको राजनीतिक इनिङमा कायम रहला त ? स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ ।

रमेश खरेलको नाम र ‘क्यारेक्टर’ समेटेर जब बन्यो फिल्म

पर्सामा रहँदा तत्कालीन एसपी रमेश खरेलको कार्यशैली यति लोकप्रिय थियो कि, एउटा भोजपुरी फिल्ममा उनको नाम र ‘क्यारेक्टर’ नै समेटियो । त्यतिबेला उनको चर्चा ‘रियल हिरो’को रूपमा हुने गर्दथ्यो ।

उनको कामबाट प्रभावित भएर ‘एसपी खरेल द रियल हिरो’ भोजपुरी फिल्म नै बन्यो । रमेश खरेल पर्सामा जसरी ‘सुपरहिट’ थिए, त्यसरी नै ‘एसपी खरेल’ फिल्म पनि सुपरहिट भयो ।

पर्सामा द रियल हिरोको सम्मान पाइसकेका रमेश खरेलले बारा–२ मा हुन गइरहेको उपनिर्वाचनमा कस्तो प्रभाव पार्लान् भन्नेबारे चासो बढेको छ ।

‘एसपी खरेल द रियल हिरो’मा नायकको भूमिकामा रहेका प्रदेश साह भन्छन्, ‘मैले त पर्दामा एसपी खरेलको अभिनय गरेँ तर रमेश खरेल वास्तविक हिरो हुनुहुन्थ्यो, उहाँको कामबाट प्रभावित भएरै एसपी खरेल फिल्म बनाएको हुँ ।’

पर्सामा रहँदा रमेश खरेलले जुन किसिमले काम गरे, बारा–२ मा अहिले उनी उम्मेदवार बन्दै गर्दा त्यसको फाइदा अवश्य हुने उनको दाबी छ । पर्सा–बारामा परिचित भएकै कारण रमेश खरेलले उपनिर्वाचनमा बारा–२ बाट उम्मेदवारी दिएको उनको बुझाइ छ ।

प्रहरीबाट राजीनामा दिएपछि रमेश खरेलले नेपाल सुशासन पार्टी गठन गरे । त्यस यता उनी संगठन विस्तारका क्रममा पटकपटक बारा–पर्सा पुगेका छन् । त्यसैको परिणामस्वरूप स्थानीय तहमा पर्साको एउटा वडामा उनी आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन सफल भए ।

बारा–२ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतका कारण चर्चा छ । उपेन्द्र यादव आफै त्यहाँ उम्मेदवार बनेका छन् भने सीके राउतले आफ्नो पार्टीबाट शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बारा–२ मा उम्मेदवार बनेका रमेश खरेल पनि आफूले कुनैबेला निकै लोकप्रियता बटुलेको क्षेत्रमा उम्मेदवार बनेका कारण चर्चामा छन् ।

वीरगञ्जमा रहेर लामो समयदेखि पत्रकारिता गरिरहेका राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘पर्सामा रमेश खरेल एसपीका रूपमा निकै चर्चित व्यक्ति हुनुहुन्थ्यो । अपहरण, चोरी, डाकाजस्ता आपराधिक कामलाई रोक्ने काम उहाँले गर्नुभएको थियो ।’

शान्ति सुव्यवस्थामा उनले निर्वाह गरेको सोही भूमिकाका कारण त्यतिबेला पर्सा र आसपासका क्षेत्रमा ठुलो चर्चा रहेको र धेरैले उनलाई ‘रियल हिरो’ मान्ने गरेको चन्द्रकिशोर बताउँछन् । तर त्यो कुरा एक दशकभन्दा अघिको भएकाले अहिलेको पुस्ताले उनलाई कसरी हेर्छ भनेर किटान गर्न नसकिने उनको भनाइ छ ।

रमेश खरेलको छवि विवादरहित भने नरहेको चन्द्रकिशोर बताउँछन् । ‘पर्सामा रहेर उहाँले जति राम्रो छवि बनाउनुभयो, सिरहामा रहँदा उहाँको छवि निकै बिग्रिएको थियो,’ उनले भने, ‘सिरहामा एसपी रहँदा उहाँले थुप्रै मधेसी युवालाई इन्काउन्टर गरेको र थुप्रै पटक मानव अधिकारको उल्लंघन गरेको आरोप छ ।’

पर्सामा रहँदाको रमेश खरेललाई बारा–२ मा सम्झिने हो भने सिरहामा रहँदाको खरेललाई पनि सम्झिन सकिने उनको भनाइ छ ।

मधेसका युवा नागरिकता नपाएका कारण राज्यबाट पीडित छन् । रमेश खरेल जुन पार्टीबाट चुनाव लडेका छन्, त्यो पार्टी नागरिकताको विवादमा मुछिएका कारण मधेसका युवाले सो पार्टीको बारेमा सोच्न बाध्य हुने उनी बताउँछन् ।

पर्साबाट करिब २२ किलोमिटर टाढा पर्छ बाराको निर्वाचन क्षेत्र नम्बर २ । त्यो पूरै ग्रामीण क्षेत्र हो । त्यहाँको जनताको ‘कनेक्सन’ वीरगञ्जसँग खासै नरहेको देखिन्छ । बाराका रमेश सर्राफ भन्छन्, ‘वीरगञ्जभन्दा बारा–२ अलि टाढा भएका कारण त्यसको खासै प्रभाव पर्लाजस्तो मलाई लाग्दैन ।’

रमेश खरेल पर्सामा रहँदा जति राम्रो काम गरे पनि बारा–२ का बासिन्दाका लागि के फाइदा भयो त भन्दै उनले प्रश्नसमेत गरे । १० वर्ष अगाडि पर्सामा एसपी भएर बसेका खरेलले बारा–२ मा कुनै जादु चलाउलान् भन्नेमा आफूलाई विश्वास नलागेको उनको भनाइ छ ।

पर्साका नागरिक अभियन्ता ओमप्रकाश सर्राफको बुझाई पनि त्यस्तै छ । उनले पर्सामा रमेश खरेलले राम्रो काम गरेकोमा दुई मत नभए पनि त्यसको प्रभाव बारा–२ मा पर्लाजस्तो आफूलाई नलागेको बताए ।

पर्साका अधिवक्ता वीरेन्द्र यादवले रमेश खरेललाई पर्साले परिचय दिएको जिकिर गर्दै त्यसको फाइदा बारा–२ मा सामान्य रूपमा लिन सके पनि भोटिङमा खास फाइदा नहुने तर्क गरे ।

‘प्रशासनिक र राजनीति फरक हो, प्रशासनिक कामले रमेश खरेललाई परिचित बनाएको हो, तर उनी अहिले भोटको राजनीतिमा आएका हुन् । भोटरले पर्साका त्यही एसपी खरेल भनेर भोट हाल्दैनन् जस्तो मलाई लाग्छ ।’

रमेश खरेललाई बारा–२ मा हुने मुख्य फाइदा भनेकै आफ्नो परिचय दिन गाह्रो नहुने, उनी आफ्नै नामले परिचित हुन सक्ने यादव बताउँछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि मङ्सिर ४ मा सम्पन्न चुनावमा त्यहाँ उम्मेदवारी दिएको थिएन । रमेश खरेलको नेपाल सुशासन पार्टीबाट उमेशप्रसाद जयसवालले उम्मेदवारी दिएका थिए । तर उनले १५० मतमात्र प्राप्त गरेका थिए । रमेश खरेलसँगै बारा–२ मा रहेका नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीले ‘एसपी खरेल’को छवि र चुनाव चिह्न ‘घण्टी’ले रमेश खरेललाई झन् बलियो बनाएको दाबी गरे ।

उनले रातोपाटीसँग भने, ‘रमेश खरेल बारा–२ मा एसपी खरेलको नामबाट परिचित हुनुहुन्छ, बुढापाकादेखि लिएर सबै उमेरकाले उहाँलाई त्यही नामबाट चिनिरहेका छन् र सबैको परिचित घण्टी छाप पनि उहाँको साथमा रहेका कारण बलियो उम्मेदवारको रूपमा आउनु भएको छ ।’

उनका अनुसार प्रहरी सेवामा रहँदा रमेश खरेलको परिचय र उचाइ मधेसमै काम गरेका कारण बढेको थियो । त्यसैले पनि खरेलले बारालाई रोजेको महासचिव गिरीले बताए ।

रमेश खरेलको खास घर काभ्रे हो । उनको घर काठमाडौँमा पनि छ तर पुर्ख्यौली घर बारामा पनि रहेको उनी निकट नेताहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप