शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
वर्ष २०७९ फर्केर हेर्दा

करिब चार दर्जन फिल्ममा ४० करोड स्वाहाः सफल फिल्म नौ, अरुलाई धौ

थियटर आर्टिस्टको दबदबाः अर्गानिक फिल्ममा दर्शकको विश्वास
आइतबार, २६ चैत २०७९, १३ : ३१
आइतबार, २६ चैत २०७९

काठमाडौँ । व्यापारिक दृष्टिकोणले वर्ष २०७९ नेपाली फिल्मका लागि लाभदायक सिद्ध हुन सकेन । यो वर्ष फिल्म ब्यवसायको हिसावले घाटामा रह्यो भने फिल्म निर्माण र प्रदर्शनको रुपमा भने गत वर्षको तुलनामा बढेको देखियो ।

कोरोनाको कारण फिल्म निर्माण, छायाँकनमा र रिलिजमा समेत असर गरेको गत वर्ष १३ फिल्म प्रदर्शनमा आएका थिए । ती १३ वटै फिल्म डुब्दा करिब १५ करोड लगानी बालुवामा पानी भएको थियो । गत वैशाखमा आएको ‘लक्का जवान’देखि २४ चैत्रमा आएको ‘बहाव’सम्म २०७९ सालमा करिब ४ दर्जन हाराहारीका फिल्म प्रदर्शनमा आए । 

शुक्रबार प्रदर्शनमा आउने ‘बहाव’ तथा केही साता अगाडि रिलिज भएको ‘छक्का पन्जा ४’ अहिले प्रदर्शनरत रहेको अवस्थामा यी दुई फिल्म छोडेर हेर्ने हो भने यो वर्ष फिल्मको ब्यवसायको हिसावले निराशाजनक वर्षको रुपमा लिन सकिन्छ ।

गत वैशाखको स्थानीय तहको निर्वाचन र मंसिरको प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनले समेत यो वर्ष फिल्म प्रदर्शनमा प्रभाव पर्‍यो। 

यद्यपि वैशाखदेखि चैतको अन्तिम सातासम्म ‘ए मेरो हजुर ४’, ‘मन्त्र’, ‘षट्कोण’, ‘लक्का जवान’, ‘कबड्डी ४ः द फाइनल म्याच’, ‘कौसीद’, ‘चिसो मान्छे’, ‘सिल्ली फो’, ‘कृष्ण–लीला’, ‘लाखे’, ‘झिँगे दाउ’, ‘बाबरी’, ‘प्रेमगञ्ज’, ‘द सिक्रेट अफ राधा’, ‘प्रकाश’, ‘२ नम्बरी’, ‘डेसान’, ‘सोल अफ द कमाण्डो’ रिलिज भए ।

त्यस्तै, ‘सरी मम’, ‘डिसेम्बर फल्स’, ‘चि मुसी चि’, ‘गुञ्जन’, ‘तिम्रो मेरो साथ’, ‘लुङ्गा’ ,‘मनसँग मन’ र ‘आँधी तुफान २’, ‘के घर के डेरा’, ‘फुलबारी’, ‘छक्का पन्जा ४’, ‘छड्के २’, ‘प्रेमा’ र ‘बहाव’ गरेर करिब ४ दर्जन फिल्म रिलिज भए । 

रिलिज भएका मध्ये लगानी सुरक्षित गर्न भने  ‘कबड्डी ४’, ‘ए मेरो हजुर ४’, ‘झिँगे दाउ’, ‘२ नम्बरी’, ‘प्रेम गीत ३’, ‘महापुरुष’, ‘के घर के डेरा’, ‘फुलबारी’ र ‘छक्का पन्जा ४’ गरेर ९ फिल्ममात्र सफल भएको देखिन्छ । 

सफल ९ फिल्ममध्ये पनि ‘कबड्डी ४’, ‘महापुरुष’ र ‘छक्का पन्जा ४’ ले भने बक्सअफिसमा राम्रै कमाउन सफल भए भने अन्य फिल्मले भने लगानी सुरक्षित गर्दै आफूलाई नाफामा उभ्याउन सफल रहे । 

‘छक्का पन्जा ४’ भने अहिले प्रदर्शनको ५१ औं दिन मनाउने रफ्तारका साथ यात्रामा छ ।

यो वर्ष अहिलेसम्म रिलिज भएका फिल्म हेर्दा लगानी करिब ४० करोड डुबेको अनुमान गर्न सकिने निर्माता÷वितरक सुनिल मानन्धर बताउँछन् ।

मौलिक र अर्गानिक फिल्म सफल

कथाका हिसावले पनि यो वर्ष फिल्ममा धेरै भेराइटी भेटियो । प्रेमकथा, एक्सन, विदेशी नक्कल, हररदेखि मौलिक र अर्गानिकसम्म फिल्ममा प्रयोग भए । तर दर्शकले भने मौलिक, अर्गानिक र आफ्नै परिवेशका कथा रुचाए ।

ब्यवसायिक सफल ९ फिल्म हेर्ने हो भने दर्शकले अर्गानिक र मौलिक कथा नै रुचाएकोे देखिन्छ ।

रामबाबु गुरुङ निर्देशित तथा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के अभिनित फिल्म ‘फुलबारी’ ले बुढेसकालमा माता–पिता प्रतिको जिम्मेवारीबाट सन्तान कसरी पन्छिन्छन् भनेर देखाएको छ । जुन कथा पछिल्लो समयको हाम्रो समाजको प्रतिबिम्ब पनि हो ।

त्यस्तै, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल अभिनित तथा हेमराज बिसी निर्देशित ‘छक्का पन्जा ४’ ले बिषयबस्तु राजनीति बनाएको छ । फिल्मको कथा अहिले हाम्रो समाजमा राजनीतिक नेताहरुले जनतालाई कसरी झ्क्याइरहेका छन् भन्ने छ ।

रामबाबु गुरुङ निर्देशित दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ लगायतको अभिनय रहेको फिल्म ‘कबड्डी ४’ पनि अर्गानिक कथामा निर्माण भएको हो । गुरुङ समुदायमा ब्याप्त फुपुको छोराछोरी, मामाको छोराछोरीको विवाहका लागि हक लाग्ने कथा उठाएको छ, जुन हाम्रो गाउँघरकै कथा हो ।

‘महापुरुष’ले श्रीमतीको निधनपछि एक्लो भएको पुरुषले जीवनसाथीको चाहना राखेको कथा उठान गरेको छ । यसले अष्टे«लिया डिपेन्डेन्टमा जाने युवाको कथा पनि उठाएको छ, जुन हाम्रो समाजको यथार्थ हो । प्रदीप भट्टराई निर्देशित फिल्ममा हरिवंश आचार्य, गौरी मल्ल र मदनकृष्ण श्रेष्ठ लगायतको अभिनय छ ।

फिल्म ‘के घर के डेरा’ ले पनि काठमाडौंका डेरावाल र घरबेटीको कथा उठाएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत लगायतको अभिनय रहेको छ ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्म ‘प्रेमगीत ३’ पनि नेपाली मौलिक कथामा बनेको अर्को फिल्म हो । पुरानो मनाङको कथा उठाएको फिल्ममा प्रदीप खड्का क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ लगायतको अभिनय छ ।

यस्तै दीपेन्द्र लामा निर्देशित ‘२ नम्बरी’ बन्यजन्तुको चोरी शिकारीमा आधारित कथामा निर्माण भएको फिल्म हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी लगायतको मुख्य भूमिका छ ।

फिल्म ‘झिँगे दाउ’ आमा र सन्तानबीचको भावनात्मक कथामा निर्माण भएको फिल्म हो । ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुषालको मुख्य अभिनय छ ।

अनमोल केसी र सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ पनि मौलिक कथामै निर्माण भएको मान्न सकिन्छ । फिल्मले हाम्रो समाजका युवायुवतीमा देखिने प्रेम कथालाई मुख्य विषयबस्तु बनाएको छ ।

मेकरमा विश्वास

यो वर्ष रिलिज भएका करिब ४ दर्जन फिल्ममार्फत् पुरानादेखि डेब्यु निर्देशकसम्म मैदानमा देखिए । केही पुराना र केही डेब्यु निर्देशकका फिल्मले राम्रो समीक्षा पाएपनि ब्यवसायिक सफलताको जश भने केही पुराना निर्देशकले मात्र लिन पाए । 

दर्शकले स्टार कलाकार भन्दा पहिले राम्रो फिल्म दिएर आफूलाई प्रमाणित गरेका मेकरलाई पत्याए । राम्रो ब्यवसाय गरेको फिल्मले पनि यो कुरो बताउँछ ।

ब्यवसायिक रुपमा सफल फिल्म ‘झिँगे दाउ’मा ज्ञानेन्द्र देउजा करिब ७ वर्षपछि यसै फिल्ममार्फत् निर्देशनमा कमब्याक गरेका हुन् । देउजाले यस अगाडि ‘रक्षक’, ‘गोर्खाली, ‘हामी ट्याक्सी ड्राइभर’, ‘देवरबाबु’, ‘मुनामदन’, ‘हिफाजत’, ‘छविलाल कन्जुस छैन’लगायत राम्रो फिल्म दिएको कारण दर्शकले ‘झिँगे दाउ’मा पनि उनलाई विश्वास गरे । आमा र सन्तान बीचको भावनात्मक कथामा बनेको यो फिल्मका निर्माता उनी आफै हुन् ।

यस्तै ‘ए मेरो हजुर ४’ झरना थापा निर्देशित फिल्म हो । अभिनयमा सफलतापछि ‘ए मेरो हजुर २’ बाट निर्देशनमा डेब्यु गरेकी झरनाले यसको अलावा ‘ए मेरो हजुर ३’ समेत सफल फिल्म दिएकी थिइन् । त्यसैले पनि दर्शकले ‘ए मेरो हजुर ४’मा उनलाई विश्वास गरेको देखिन्छ । फिल्म झरनाकै पति सुनिल कुमारले निर्माण गरेका हुन् ।

निर्देशक रामबाबु गुरुङले ‘कबड्डी’ तेस्रो सिक्वेलसम्म सफल फिल्म दिएका कारण पनि गुरुङको ‘फुलबारी’ र ‘कबड्डी ४’ लाई दर्शकले विश्वास गरेको पाइयो ।

‘छक्का पन्जा ४’ पनि सफल हुनुको पछाडिको कारण मेकरप्रति विश्वास मान्न सकिन्छ । सफल फिल्म दिदै आएका  दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको यो फिल्म हेमराज विसीले निर्देशन गरेका हुन् । हेमराजले यस अगाडि ‘होस्टल’ र ‘जेरी’ सफल फिल्म दिएका छन् ।

‘महापुरुष’ हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल अभिनित फिल्म हो । फिल्म सफल हुनुको पछाडि यसका निर्देशक प्रदीप भट्टराईप्रति दर्शकको विश्वास हो । प्रदीपले यस अगाडि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘शत्रु गते’ जस्ता हिट फिल्म जो दिइसकेका छन् ।

‘के घर के डेरा’ र ‘२ नम्बरी’ सफल हुनुको पछाडि पनि यसका निर्देशक क्रमशः दीपेन्द्र के खनाल र दीपेन्द्र लामा प्रतिको विश्वास बताइन्छ । ‘के घर के डेरा’ का निर्देशक दीपेन्द्र के खनालले ‘पशुपति प्रसाद’, ‘आमा’ जस्ता थुप्रै राम्रा फिल्म दिएका छन् भने ‘२ नम्बरी’ निर्देशक दीपेन्द्र लामाले ‘घाम पानी’, ‘गोपी’ र ‘छ माया छपक्कै’बाट दर्शकमा सफल निर्देशकको छाप छोडेका छन् ।

बलिउडमा समेत रिलिज भएको ‘प्रेम गीत ३’ चल्नु पनि यसका मेकर सन्तोष सेन प्रतिको दर्शकको विश्वासलाई लिइएको छ । उनले यस अगाडि हिट फिल्म ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ निर्माण गरेका थिए ।

थियटर र्आिर्टष्टको दबदबा

वर्ष ०७९ मा चकलेटी हिरोभन्दा थियटरबाट आएका कलाकारको दबदबा रह्यो । युवा स्टारको परिचय बनाएका अनमोल केसी, प्रदीप खड्का भन्दा थियटरबाट भित्रिएका दयाहाङ राई, सौगात मल्ल, बिपिन कार्की र अर्पण थापा बक्स अफिसमा हावी भए ।

अनमोलको यो वर्ष ‘ए मेरो हजुर ४’ र ‘छड्के २’ गरेर मात्र दुई फिल्म आयो । दुईमध्ये ‘ए मेरो हजुर ४’ सफल भयो । प्रदीपको पनि ‘प्रकाश’ र ‘प्रेम गीत ३’ गरेर दुई फिल्म रिलिज भए । प्रदीपको पनि ‘प्रेम गीत ३’ मात्र सफल भयो । नेपालमा मात्र नभएर बलिउडमा समेत रिलिज भएको यो फिल्मको अन्तराष्ट्रिय चर्चासमेत भयो ।

यो वर्ष धेरै फिल्म रिलिज हुने अभिनेतामा थियटरबाट भित्रिएका अभिनेता सौगात र दयाहाङ पर्छन् । सौगातको ‘मन्त्र’, ‘कबड्डी ४’, ‘लाखे’, ‘राधा’ र ‘२ नम्बरी’ गरेर ५ फिल्म रिलिज भए । जसमध्ये ‘कबड्डी ४’ र ‘२ नम्बरी’ ब्यवसायिक रुपमा सफल भए । 

दयाहाङ राईको ‘कबड्डी ४’, ‘राधा’, ‘२ नम्बरी’, ‘के घर के डेरा’ र ‘फुलबारी’ गरेर ५ फिल्म रिलिज भयो । उनको ‘राधा’बाहेक सबै फिल्म ब्यवसायिक रुपमा सफल भए । फिल्म सफलताको हिसावले भन्नु पर्दा यो वर्ष बक्स अफिसमा दयाहाङ नै छाएको देखियो ।

त्यस्तै अर्पण थापाको ‘चिसो मान्छे’ र ‘लाखे’ रिलिज हुँदा विपिनको   ‘के घर के डेरा’ र ‘फुलबारी’ रिलिज भयो । बिपिनका रिलिज भएका दुबै फिल्म बक्सअफिसमा सफल भए भने अर्पणका असफल ठहरिए । मुकुनको रिलिज भएको एक मात्र फिल्म ‘झिँगे दाउ’ ब्यवसायिक रुपमा सफल भयो ।

अभिनेत्रीका स्टारडमका कारण यो वर्ष बक्स अफिसमा फिल्म सफल भयो भन्ने अवस्था कसैको पनि रहेन । स्टारडम भएका अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, पूजा शर्मा, स्वस्तिमा खड्का लगायतका फिल्म कुनै पनि चलेनन् । 

फिल्म रिलिजका हिसावले केकी अधिकारी, आँचल शर्मा, बेनिशा हमाल, मिरुना मगर, उपासना सिंह ठकुरी, प्रियंका कार्की, सुरक्षा पन्त, ऋचा शर्मा देखिए । 

मिरुनाको ‘कबड्डी ४’, आँचल र केकीको ‘झिँगे दाउ’, उपासनाको ‘२ नम्बरी’, प्रियंकाको ‘फुलबारी’ चलेको देखियो । तर फिल्म चल्नुको जश भने अभिनेत्रीमा गएको देखिन्न ।

निर्माणमा बहार

प्रदर्शनबाट ब्यवसायिक लाभ नभएपनि निर्माताले फिल्म बनाउने हिम्मत भने हारेनन् । सस्तादेखि महँगो बजेटसम्मका फिल्म बन्ने क्रम भने रोकिएन । 

वैशाखदेखि असार मसान्तसम्म चलचित्र विकास बोर्डमा ४० फिल्मले निर्माण अनुमति लिएका छन् । जसमा गडबड, कोही किन बर्बाद होस्, हाड नाता, ग्रहण, आँखा, अन्जली, नुल, दुई किनारको जिन्दगी, गोर्खा बिनिथ बेभ्ररी, अन्तिम संस्कार, मधुरिमा, धुम्ली, दुस्साहस, बगान, लैबरी लै, भूत घर, मानिस ठूलो दिलले हुन्छ, बाटो, अन्योल नक्सा, अधुरो डायरी, काखे गंगटो, युगान्तर, दोख, मिरा, कृष्ण इन डेजर्स, हाम्रो कलेज लाइफ, काँडेतार, प्रसाद २, तीर्थ युगको गंगा, शिवानी, आँगन, मिसनलगायत रहेका छन् । यीमध्ये कतिपय छायांकनमा छन् भने कति निर्माण भइसके ।

त्यस्तै, साउनको पहिलो सातादेखि चैत्रको तेस्रो सातासम्म १०६ फिल्मले निर्माण अनुमति लिएका छन् । जसमा पिंक लिबिस्टिक, छड्के २, पानी फोटो, द रिसोर्ट, छक्का पन्जा ३, चङ्गा चेट २, पर्खि बसे तिमीलाई, मलिन, चि मुसी चि, हिजो आजका कुरा, डामाडोल, सायरा, प्रेम गीत ३, झिँगे दाउ, स्वामी, गोजिरित्तै, कुल देवता, बालपान, गुलाबी, दिलमाया २, मनसुन, भगवत गीता, जीवनसाथी, यो कस्तो माया, भूपति, नम्बरी सुन, पिरतीको गाउँ, महाजात्रा, हात्ती छाप, नाई नभन्नु ल ६, तिम्रो मेरो साथ, सतीदेवी, हरामी, अ‍ैचोपैचो, पशुपति प्रसाद २, जय हो, फाटेको जुत्ता खै लगायत रहेका छन् । 

यी मध्ये कतिपय फिल्म फ्लोर, कति पोष्ट प्रोडक्सनमा, कति रिलिजको तयारीमा छन् । केही फिल्म छायांकन हुने क्रममा छन् । 

विकार्स बोर्डको तत्थ्याङ्कअनुसार पनि यो वर्ष १४६ फिल्मले निर्माण अनुमति लिएका छन् । गत वर्ष भने निर्माण अनुमति लिने फिल्मको संख्या जम्मा ८६ मात्र थियो । गत वर्षको तुलनामा यो वर्ष ६० फिल्म बढी निर्माण हुने देखिन्छ । 

धेरै निर्मातालाई फिल्ममा लगानी, बालुवामा पानी भए पनि लगानी गर्न छाडेका छैनन् । आगामी वर्ष रिलिज हुने फिल्म कति डुब्ने हुन्, कति उत्रिने हुन्, समयले नै बताउला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप