आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

अडियो प्रकरण : पत्रकार सम्मेलनमै चिप्लिए ढाकाकुमार (भिडियोसहित)

जनवरी/फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हालियो
बुधबार, २९ चैत २०७९, १८ : २४
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको बर्खास्तीमा परेका ढाकाकुमार श्रेष्ठले पत्रकार सम्मेलनकै क्रममा दुईथरी कुरा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकारमाझ प्रस्तुत भएका उनले सुरुमा आफ्नो अडियो नक्कली भएको बताए । तर, बोल्दै जाँदा उनले जनावरी/फेब्रुअरीमा भएको अडियो कुराकानी अहिले ल्याएर हालिएको भन्दै चिप्लिन पुगे ।  

‘यो अडियो खासगरी अहिले जसले पनि जहाँपनि र जसरी पनि बनाउन सकिने एउटा मिडिया हो । इडिटिङ गर्न सकिन्छ । मेरो अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर पनि, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ । यो अडियो खास अथेन्टिक होइन । ह्वाट्स एपमा कुरा गरेको भनिएको छ । मेरा कुराहरु कहाँकहाँबाट जोडिएर अहिले यसरी मिडयामा आएको छ । यो प्रति म खेद प्रकट गर्न चाहन्छु’, पत्रकार सम्मेलनमा आफूलाई निर्दोष देखाउने प्रयास गर्दै उनले भने ।

तर, उनले बोल्दैजाँदा चिप्लिएर जनावरी/फेब्रुअरीको अडियो चुनावको मुखमा ल्याइएको भन्दै आफ्नै प्रष्टीकरणलाई खण्डन गर्ने काम गरे । उनले भने, ‘ यो अडियो केही पनि होइन ।  यो फसाइएको हो । सुनियोजित हो । जनवरी फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो । ’

पत्रकार सम्मेलनमा उनको भनाइको सम्पादित सारः

सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरु तथा मेरा शुभचिन्तकहरुमा  नमन र नमस्कार !

मसँग जोडिएको अडियो अहिले भाइरल भइरहेको छ । त्यसले गर्दा पार्टी, उपनिर्वाचन र म आफ्नै मान प्रतिष्ठा र सबैलाई घात परेको हुनाले त्यसप्रति क्षमाप्रार्थी छु ।

यो अडियो खासगरी अहिले जसले पनि जहाँपनि र जसरी पनि बनाउन सकिने एउटा मिडिया हो । इडिटिङ गर्न सकिन्छ । मेरो अहिले बोलेको भ्वाइस फेरि अर्को तरिकाले मोडेर, इडिटिङ गराएर पनि बाहिर ल्याउन सकिन्छ । यो अडियो खास अथेन्टिक होइन । ह्वाट्स एपमा कुरा गरेको भनिएको छ । मेरा कुराहरु कहाँकहाँबाट जोडिएर अहिले यसरी मिडयामा आएको छ । योप्रति म खेद प्रकट गर्न चाहन्छु ।

म निलम्बित भएको पार्टीको एउटा सदस्य पनि हो । पार्टीले मलाई अनुसन्धान गर्नका लागि थालेको निलम्बनको प्रक्रियालाई मैले स्वागतयोग्य ठानेको छु । म हिजोबाट नै न्यायालय गइसकेको छु । मेरा शुभचिन्तक महानुभावहरु, तपाईँहरु निश्चिन्न हुनुहोला– म केही समयमा न्यायालयमा मेरा सम्पूर्ण कुराहरु प्रष्ट पारेर क्लिन चिट ल्याएर तपाईँहरुमाझ फेरि यसैगरी एउटा प्रेस मिट गर्नेछु । त्यतिन्जेलका लागि धैर्यधारण गर्नुहोला ।

मेरो कारणले पार्टीलाई उपनिर्वाचनमा जुन अफ्ठ्यारो स्थिति परेको छ । त्यसप्रति म क्षमाप्रार्थी छु । र, सम्पूर्ण आमाबुबा, दाजुभाइ दिदीबहिनीहरुले उपनिर्वाचनमा हाम्रा तीन क्षेत्रका उम्मेदवारलाई यो अडियोलाई ध्यानमा नराखिकन... यो अडियो केही पनि होइन । यो फसाइएको हो । सुनियोजित हो । जनवरी/फेब्रुअरीमा भएको अडियो अहिले ल्याएर हाल्नु भनेको एउटा सुनियोजित किसिमले हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गरेको हो ।

यो चाहिँ पार्टीको तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारलाई हराउन खोजिएको सुनियोजित योजना हो । त्यसले गर्दाखेरी सम्पूर्ण महानुभाव, दाजुभाइ, दिदीबहिनीहरु र शुभचिन्तकहरु जसले पार्टीलाई राम्रो मान्नु भएको छ–सम्पूर्ण महानुभावले भोट दिएर तीन वटै निर्वाचन क्षेत्रका हाम्रा लिडरहरुलाई जिताइदिनु होला । अब क्लिन चिट पाएपछि म फेरि यसरी नै भेट्ने छु, नमस्कार !  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप