आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
रास्वपाको निर्णय

ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता र सांसद पद खारेज

बुधबार, २९ चैत २०७९, १९ : २७
बुधबार, २९ चैत २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले उनको साधारण सदस्यता खारेज गर्ने निर्णय गरेको हो ।

पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम उनको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए । 

पार्टीले उनको सांसद पद पनि खारेज गर्दै कानुन बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने पनि पार्टीले निर्णय गरेको सभापति लामिछानले जानकारी दिए ।

त्यस्तै अडियो रेकर्डको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अधिकारसम्पन्न सरोकारवाला निकायले थालेको अनुसन्धानमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहेको उनको भनाई छ ।

रास्वपाले कंशाकारलाई समानुपातिक सांसद बनाउने

यस्तै रास्वपाले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ । रास्वपाले श्रेष्ठलाई पार्टी र सांसद पदबाट निष्कासित गरी कंशाकारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो । 

श्रेष्ठको सांसद पद खारेज गर्दै कानुन बमोजिम निर्वाचन आयोगमा बुझाएको सूची अनुसार कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको सभापति लामिछानले जानकारी दिए ।

मकवानपुरकी कंसाकार एसिड आक्रमणकी पीडित हुन् । उनीमाथि २०७० वैशाखमा एक भारतीय नागरिकले एसिड आक्रमण गरेका थिए । कंसाकार केही अघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनीत भएकी थिइन् ।

ढाकाकुमारले प्रसाईँसँग कुराकानी गरेको रास्वपाको निष्कर्ष

यस्तै रास्वपा श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग कुराकानी गरेको निष्कर्षमा पुगेको छ । पार्टीले व्यवसायी प्रसाईँसँग श्रेष्ठले फोनमा कुराकानी गरेर दुई करोड रुपैयाँ मागेको निष्कर्ष निकालेको हो । 

केही दिन अघि श्रेष्ठले मन्त्री बन्नको लागि पार्टीलाई बुझाउन भन्दै व्यवसायी प्रसाईँसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएको थियो ।

म डुबेँ भनेर अरुलाई पनि डुबाउँछु भन्नुभएको छ : लामिछाने

सभापति लामिछानेले पार्टी र आफूसँगको कुराकानीमा बर्खास्त गरिएका समानुपातिक सांसद श्रेष्ठले आफैमा बाझिने कुरा गरेको बताएका छन् । लामिछानेका अनुसार श्रेष्ठले सो अडियो आफ्नो नभएको कुरा बारम्बार दोहोर्‍याए पनि आफू डुबे अरुलाई पनि डुबाउने धम्कीसमेत दिएको खुलाएका हुन् ।

बुधबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले केन्द्रीय समिति बैठकमा ‘मैले वा पार्टीबाट कसले पैसा मागेको हो ?’ भनेर प्रश्न गर्दा श्रेष्ठले प्रकाशित अडियो आफ्नो हुँदै नभएको र कसैले पनि पैसा नमागेको कुरा राखेको जानकारी दिए । तर, समितिको बयानमा भने श्रेष्ठले ‘अडियो प्रकरण मलाई फँसायो भने नाम लिइदिन्छु’ भनेर भनेको कुरा खुलाए । 

उनले भने,‘अर्को अडियोमा फेरि पुरानो अडियो वहाँकै भएको भन्ने भएको भन्ने यथेस्त प्रमाण देखिन्छ । अडियो होइन भने किन फोन गर्नुभयो भनेर भन्दा बचाई दिन्छ कि भनेर कुरा गरेँ भन्नुभयो । तर उहाँले म डुबेँ भने अरुलाई पनि डुबाउँछु भन्नुभएको छ ।’ 

'मैले त्यो शब्द प्रयोग नगरेको भए हुन्थ्यो...'

रास्वपा सभापति लामिछानेले गढीमाईमा बलि दिन तयार छु भनेर बोलेको शब्दबारे आफूलाई अहिले त्यो नबोलेको भए हुने महसुस भएको जवाफ दिएका छन् । 

उनले आफूले त्यो शब्द प्रयोग नगरेको भए हुने महसुस गरेको बताएका हुन् । तर गढीमाईको बलिबारेको प्रशंगमा आफूले जस्तोसुकै सजाय दिएपनि भोग्न तयार छु भनेर भन्न खोजिएको स्पष्टीकरण दिए । 

‘मलाई स्ट्मि सजाय दिएपनि भोग्न तयार छु । हामी मलाई मारे पनि हुन्छ भनेर कसम खान्छौं नि तर मार्न त पाइँदैन नि । तैपनि बोलीचालीमा भनिन्छ’, उनले भने, ‘गढीमाई भएकाले त्यहाँ वली हुने भएकाले त्यो प्रशंग जोडेर भनिएको हो ।’ 

'कोर टिम को हो भन्ने नै थाहा भएन'  

सभापति लामिछानेले बर्खास्त गरिएका समानुपातिक सांसद श्रेष्ठले कोर टिम भनेर को हो भन्ने खुलाएपछि मात्र पार्टीले त्यसबारे छानबिन गर्ने बताएका छन् । 

पार्टीको अनुशासन समितिमा ‘आफूलाई फसाए अरूको पनि नाम लिने’ भनेर धम्की दिए पनि कसले पैसा मागेको भनेर नखुलाएका कारण त्यसबारे पार्टीभित्र थप छानबिन आवश्यक नरहेको जिकिर गरेका हुन् ।

‘केन्द्रीय सदस्यका बीचमा उहाँले हैन हैन मात्र भन्नु भयो । मेरो आवाज नै होइन मात्र भन्नुभयो,’ उनले भने, ‘तर फेरि समितिमा डुबाइदिन्छु भन्नु भयो । ‘कोर टिम नै मैले बुझेको छैन । पार्टी स्थापनाको कोर टिम भनेको हो कि ?  मेरो सचिवालय भनेको हो कि ? पार्टीको तर्फबाट केलाई कोर टिम भन्ने ? कसलाई डुबाउनु हुन्छ त्यसपछि छानबिन गरौँला ।’

ढाकाकुमारबारे रास्वपाको विज्ञप्ति पनि हेर्नुहोस्:

337912100_197386926375608_85145411740089117_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप