बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

औरही र जलाद खोलामा अवैध उत्खनन्

दिलीप महतोको हत्या सम्झिँदै डराउँछन् स्थानीयवासी र अनुगमनकर्ता
शुक्रबार, ०१ वैशाख २०८०, १७ : ०५
शुक्रबार, ०१ वैशाख २०८०

जनकपुरधाम । धनुषामा अवैध रुपमा बालुवा, गिट्टी उत्खनन भइरहेको छ । जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकामा रहेको औरही तथा जलाद खोलाबाट धमाधम मापदण्ड विपरीत बालुवा, गिट्टी उत्खनन भइरहेको हो ।

क्षिरेश्वरनाथ नगरपालिकाको क्षेत्राधिकारमा पर्ने दुवै खोलाको ठेक्का लागेको छैन । नगरपालिकाको आन्तरिक विवादका कारण करिब अढाई करोड बराबर रकममा ठेक्का लाग्ने ती खोला अलपत्र छन् । नगरपालिकाले ठेक्का लगाउन प्रारम्भिक वातावरणीय परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था छ । तर, ती प्रतिवेदन तयार नहुँदा ठेक्का लाग्न सकेको छैन । खोलाको ठेक्का नलागे पनि खोलाबाट उत्खनन् भने रोकिएको छैन ।

खोलाबाट बालुवा, गिट्टी उत्खनन् गर्न प्रारम्भिक वातावरणीय परीक्षण नगरी उत्खनन् गर्न नपाइने कानुनी व्यवस्था रहेको जलस्रोत तथा वातावरण विज्ञ रत्नेश्वर लाल कायस्थ बताउँछन् । उनी भन्छन्, ‘जबसम्म प्रारम्भिक वातावरणीय परीक्षण गरिँदैन, तबसम्म नदीबाट उत्खनन गर्न पाइँदैन ।’

प्रारम्भिक वातावरणीय परीक्षण गरेर त्यसको प्रतिवेदन आइसकेपछि प्रतिवेदनमा उल्लेख भए बमोजिम कुन कुन क्षेत्रमा उत्खनन् गर्ने भनेर छुट्याएपछि मात्रै उत्खनन् गर्न पाइने उनको भनाइ छ ।

‘दिनमा त त्यति उत्खनन् गरेको देखिँदैन,’ क्षिरेश्वरनाथ नगरपालिका– ५ स्थित सखुवा बजारमा तरकारी बेच्न गइरहेका सोही नगरपालिका–८ का किसान रामनाथ महतोले भने, ‘तर राति जेसीबी प्रयोग गर्छन् कि जस्तो छ, ठेक्का नलागेको अवस्थामा नदीकै डिलमा रहेको क्रसरले कहाँबाट त्यत्रो बालुवा, गिट्टी थुपारेर राखेको छ ? त्यो सोचनीय विषय हो ।’

गाउँका नेतालाई यसबारे केही मतलब नै नदेखिएको उनको भनाइ छ । आफूहरु त्यहाँ गएर सोधखोज गर्दा धम्क्याएर पठाउने गरेको उनले सुनाए ।

जलाद नदीको डिलमा सञ्चालित क्षिरेश्वरनाथ बालुवा गिट्टी प्रशोधन उद्योग (क्रसर) ले पहाडजस्तो बालुवा र गिट्टी थुपारेर राखेको देख्न सकिन्छ । जबकि नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न नगरपालिकाले आदेश नै दिएको छैन । ती क्रसर उद्योगले सोही नदीबाट अवैध रुपमा दिनदहाडै बालुवा, गिट्टी उत्खनन् गरेको देखिन्छ । यद्यपि सम्बन्धित निकाय भने यस विषयमा मौन छ ।

प्रारम्भिक वातावरणीय परीक्षण नहुँदा स्वयं स्थानीय तहले पनि उत्खनन गर्न पाउँदैन । स्थानीय तहले आफ्नो विकास निर्माणका लागि अतिआवश्यक परेमा समेत जिल्ला समन्वय समितिको अनुमति बिना खोलाबाट एक टिप पनि बालुवा, गिट्टी लिन नपाउने व्यवस्था कानुनमा छ । तर, सम्बन्धित निकायको मिलेमतोमा क्रसर माफियाहरुले दिनरात नदी दोहन गरिरहेका छन् ।

करिब ४–५ दिनको अन्तरालमा जेसीबी नै प्रयोग गरी नदीमा उत्खनन् भइरहेको क्षिरेश्वरनाथ नगरपालिका–८ का वडाध्यक्ष अशेश्वर महतोले बताए । ‘सर्वप्रथम त प्रारम्भिक वातावरणीय परीक्षण नै भएको छैन । यदि भएको भए पनि कानुनमा भएको प्रावधान अनुरुप नदीबाट बालुवा, गिट्टी उत्खनन् गर्न जेसीबी प्रयोग गर्न पाइँदैन । तर, क्रसर माफिया लगायतका व्यक्तिहरुले करिब ४–५ दिनको अन्तरालमा प्रहरी प्रशासनकै मिलोमतोमा जेसीबी प्रयोग गरेरै उत्खनन गरिरहेका छन्,’ उनले भने ।

आफूले यसबारे नजिकको प्रहरी चौकीमा जानकारी गराएको तर आफूले प्रहरीलाई बोलाउँदा प्रहरीले नै उत्खनन् गर्ने टोलीलाई खबर गरेर त्यहाँबाट भगाउने र उनीहरु भागिसकेपछि मात्र प्रहरी आउने गरेको उनको भनाइ छ ।

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म मात्र खोलामा उत्खनन् गर्न पाउने व्यवस्था छ । तर, खोलामा दिनरात केही नभनी उत्खनन् भइरहेको स्थानीयवासी बताउँछन् ।

औरही र जलाद खोला ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र सशस्त्र प्रहरी बल नक्टाझिझको क्षेत्रमा पर्छ ।

अवैध रुपमा उत्खनन गर्नाले बाढीको समयमा नदी आसपासका क्षेत्रलाई निकै असर गर्छ । स्थानीयहरु अवैध रुपमा उत्खनन् नहोस् भनी चनाखो भएर बसेका हुन्छन् । तर, क्रसर माफियाहरुले स्थानीयवासीलाई धर धम्की देखाएर अनवरत उत्खनन् गर्दै आइरहेका छन् ।

केही वर्षअघि क्रसर माफियाविरुद्ध बोल्दा मिथिला नगरपालिका, श्रीपुरका दिलीप महतोको हत्या गरिएको थियो । सो घटनापछि क्रसर माफियाविरुद्ध आवाज उठाउन पनि स्थानीयवासी डराउने गरेका छन् ।

तरकारी खेती गर्न बाँस काटिरहेका क्षिरेश्वरनाथ–८ का सुरेन्द्र महतो भन्छन्, ‘उनीहरु विरुद्ध बोल्दा सामान्य कुटपिट होइन, सिधै मारिदिन्छन् । त्यसैले कोही बोल्दैनन् । सामान्य मान्छेले विरोध गरेर केही हुँदैन ।’ प्रभावशाली नेताको आडमा क्रसर माफियाहरुले अवैध उत्खनन् गरिरहेको उनको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डीएसपी) वेद प्रसाद गौतमले भने अवैध बालुवा, गिट्टी उत्खनन् कार्य रोक्न प्रहरी सक्रिय रहेको बताए । उनले भने, ‘अवैध रुपमा भइरहेको उत्खनन् कार्यलाई रोक्न हामीले पहल गरिरहेकै छौं, त्यस्ता कार्यमा संलग्न कयौंलाई पक्राउ गरेर कारबाही पनि गरिसकेका छौं ।’

उनले अवैध उत्खनन भइरहेको सूचना आउँदा अप्रेसन नै चलाएको बताए । ‘कतिपय कुरा स्थानीय निकायको पनि काम हो,’ उनले भने, ‘हामीले समन्वय गरिदिने हो । प्रहरीले कयौं चेनबाला जेसीबी, टिपर र ट्रयाक्टरलाई कारबाही गरिसकेको छ ।’

जिल्लाको क्षेत्राधिकारभित्र पर्ने खोलाहरुको उत्खनन कार्यको अनुगमन गर्ने जिम्मा जिल्ला समन्वय समितिलाई छ । समितिले अनुगमन गरी कारबाही समेत गर्न सक्ने अधिकार पनि पाएको छ ।

‘हामीले अनुगमन गरिरहेका छौं,’ जिल्ला समन्वय समितिका सभापति राजनन्दन प्रसाद मण्डलले भने, ‘अवैध उत्खनन् भइरहेको सूचना पाउँदा तत्कालै अनुगमन गर्न पुग्छौं तर, उत्खनन गर्नेहरुले कताबाट थाहा पाउँछन् कुन्नि, भागिहाल्छन् ।’

मध्यरातमा क्रसर माफियाहरुले खोलामा उत्खनन् गरिरहेको भन्ने सूचना आफूले पनि पाउने गरेको उनले बताए । ‘अब राति एक्लै जान पनि भएन,’ उनले भने, ‘त्यस्तोमा जाँदा सुरक्षा लिएर जानुपर्छ । उत्खनन्मा संलग्न माफियाहरु हामी आउने थाहा पाएर भागिसकेका हुन्छन् ।’

यस क्रममा नियन्त्रणमा लिएका ट्याक्टरलाई ५ हजार, टिपरलाई २० हजार र जेसीबीलाई २० हजार जरिवाना लिएर कारबाही गर्ने गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप