शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस प्रदेशमा करोडौंका ल्याब सामग्री प्रयोगविहीन

५ हजार ८९६ किलो पौष्टिक आहारको म्याद गुज्रियो
शुक्रबार, ०१ वैशाख २०८०, २० : ५४
शुक्रबार, ०१ वैशाख २०८०

जनकपुरधाम । मधेस प्रदेशमा करोडौंका ल्याब सामग्री प्रयोगविहीन बनेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनुषाले खरिद गरेका २४ करोड ४८ लाख ३ हजार मूल्य बराबरको ल्याब सामग्री प्रयोगविहीन बनेका हुन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रदेशको ६४ स्थानीय तहमा प्रयोगशाला स्थापना गर्न विशेष परिस्थितिजन्य कारण उल्लेख गरी आर्थिक वर्ष २०७८÷७९ को अन्त्यमा २४ करोड ४८ लाख ३ हजारको ल्याब सामग्री खरिद गरेको थियो ।

तर, ती ल्याब सामग्रीहरू जिल्ला सदरमुकाममै मौज्दात रहँदा स्थानीय तहमा अहिलेसम्म ल्याब सञ्चालन हुन सकेको छैन । लेखापरीक्षणको अवधिसम्म उक्त सामग्रीहरू प्रयोगशालामै मौज्दात रहेको महालेखापरीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६०औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६६ मा विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था छ । खरिद गरिएका करोडौं मूल्यका ती सामान प्रयोगमा ल्याइएको प्रमाणसमेत पेस नभएको प्रतिवेदनमा उल्लेख छ ।

ल्याब सामग्रीको प्रयोग नहुँदा थाइराइडको जाँच, सोडियम, पोटासियमलगायत सामान्य जाँच गर्न पनि बिरामीहरू ठुला सहरमा जान बाध्य छन् ।

यता, प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरधामले खरिद गरेका पौष्टिक आहार पनि प्रयोगविहीन भएर म्याद गुज्रिएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले १६ लाख ४३ हजार रुपैयाँमा खरिद गरेको विभिन्न ४ प्रकारका पौष्टिक आहार प्रयोगमै ल्याइएको छैन ।

उत्पादन भएको मितिबाट ६ महिनासम्ममा प्रयोग गर्न उत्तम हुने उल्लेख भएकोमा केन्द्रबाट हस्तान्तरण भई २०७९ वैशाख ८ गते प्रादेशिक अस्पताल लहानमा हस्तान्तरण भएका १६ लाख ४३ हजार मूल्यका ५ हजार ८९६ किलोग्राम पौष्टिक आहार प्रयोग नभई म्याद गुज्रेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप