शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीका सांसदहरूले गगन थापालाई भने–उत्तेजनामा होइन, सोचेर बोल्नुहोस्

आइतबार, ०३ वैशाख २०८०, २३ : ०१
आइतबार, ०३ वैशाख २०८०

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाको पनि भएको बताएका छन् । उनले सरकारलाई सहयोग गर्न थापासँग आग्रह गरे । 

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए । उनले थापाले सार्वजनिक मञ्चहरूबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने बताए । 

‘गगन थापा हाम्रो गठबन्धनको मूल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । आलोचना गरेर मात्रै सफल हुन्न । सहयोग गरेर पनि सफल हुन्छ’, उनले भने, ‘त्यस कारणले यो गठबन्धनलाई जोगाउने र गठबन्धनबाट जनताका डेलिभरीका कामहरू गर्नको निम्ति टेबलमा बसेर उठेका विषयहरू सुझाव दिएर सफल बनाउने होला नि सरकारलाई गठबन्धनले । विरोध गरेर सरकार सफल हुन्न । सहयोग गरेर सफल हुन्छ । मेरो सुझाव के छ भने त्यस प्रकारका कमी कमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो हुन्छ ।’

यसैगरी नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले पनि थापाले सरकारको आलोचना गर्नु राम्रो नभएको बताए । महामन्त्री थापालाई उत्तेजनामा नभई सोच, विचार गरेर बोल्न उनले आग्रह गरे ।

‘अहिले पनि सरकारमा जाने मामिलामा, बोल्दा त उहाँहरू आवश्यकता चाहिँ हो अहिलेको भन्ने कुरा नै बोल्नुहुन्छ । तर सरकारलाई नजिक बसेर सहयोग गर्ने भन्दा पनि आलोचना बढी गरिराख्नुभएको छ । यो राम्रो कुरा होइन । सामान्य सांसदले बोल्ने कुरा एउटा कुरा हो, उहाँ त महामन्त्री नि हो । उहाँले बोल्ने कुरा अलिकति ध्यान दिएर, धेरै कुरा सोच विचार गरेर बोल्नुप¥यो । उत्तेजनामा आएर जे मनलाग्यो त्यही बोलिहाल्ने भन्दा पनि सोच विचार गरेर बोल्नुपर्छ,’ उनले भने ।

सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसदमा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीप्रति अमर्यादित र अशिष्ट टिप्पणी गरेको भन्दै खेद प्रकट गरे  । उनले पन्तले प्रतिनिधि सभा नियमावली विपरित प्रधानमन्त्रीप्रति टिप्पणी गरेको भन्दै बिरोध जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप