बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

पर्सा निकुञ्जभित्र लागेको डढेलोले सेनाको खानेपानी पाइपमा क्षति

आइतबार, ०३ वैशाख २०८०, २२ : ३७
आइतबार, ०३ वैशाख २०८०

बारा । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्र लागेको डढेलोका कारण खानेपानीको पाइपमा क्षति पुगेको छ । आगोले पाइप डढेर नष्ट हुँदा अम्लेखगञ्जस्थित नेपाली सेनाको तालिमकेन्द्र र स्थानीयहरूलाई पिउने पानीको समस्या भएको छ ।

निकुञ्जभित्र स्थलगत अनुगमनका क्रममा ठाउँ ठाउँमा पानीको पाइपमा आगोले क्षति पुगेको पाइएको थियो । केही ठाउँमा सेनाको टोलीले क्षति भएको पाइपमा मर्मतसम्भारको काम सुरु गरिसकेको छ । अम्लेखगञ्जस्थित शिक्षालयका एक अधिकारीले डढेलो समयमै नियन्त्रण नभए  पानीको हाहाकार हुनसक्ने बताए ।

जीतपुरसिमरा उपमहानगर वडा नं २१ का वडाध्यक्ष सुभाष श्रेष्ठले निकुञ्जभित्र सेनाको शिक्षालय क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि नगरपालिकाको दमकल प्रयोग गरेर निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेको बताएका छन् । 

यता पर्सा राष्ट्रिय निकुञ्जकी रेञ्जर लक्ष्मी धितालले मध्यवर्ती क्षेत्रमा व्यक्तिहरूले नै निकुञ्जभित्र नियोजित ढङ्गले डढेलो लगाएको टिप्पणी गरेकी छिन् । ‘डढेलो लागेको ठाउँमा पानी परेपछि घाँस राम्रो पलाउछ भनेर मध्यवर्ती क्षेत्रका मान्छेले नै नियोजित ढङ्गले जंगलमा आगो लगाउँछन्,’ रेञ्जर धितालले भनिन् ‘मध्यवर्ती क्षेत्रका मानिसहरु नै सचेत नहुँदा हामीलाई समस्या भएको छ । डढेलोले साना जीवजन्तु र सुकेका काठहरूमा सबैभन्दा धेरै नोक्सान भएका छन्’ ।

parsa-national-park-fire2 
यसपटक झण्डै एक महिनादेखि बाराको राष्ट्रिय वन क्षेत्र र पर्सा राष्ट्रिय निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रका सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।  डिभिजन वन कार्यालय बाराका प्रमुख बिनोद सिंहले पूर्व–पश्चिम राजमार्गमा सडक आसपासका झाडी सफाइ गर्न खटिएका कर्मचारीहरूले पनि नियोजित ढङ्गले आगो लगाएको बताएका छन् । ‘सडकको दायाँबायाँका झाडीहरू सफाइ गर्न सजिलो बनाउन सडक सफाइ गर्ने कर्मचारीले नै आगो लगाइदिन्छन् र त्यो आगो नियन्त्रणमा नहुँदा वन क्षेत्रभित्र पसेर जताततै फैलिएको छ,’ डिभिजन वन अधिकृत सिंहले भने ।

लामो समय वर्षा नहुनु र बढ्दै गएको सुख्खायामका कारण वन डढेलोलाई झनै मद्दत पुग्दै गएको छ । ‘वन डढेलो नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ । तर पनि जङ्गलमा हतियार लिएर पस्ने र जङ्गलमा आगो लगाउने शिकारीहरुलाई नियन्त्रणमा लिन सकिरहेका छैनौँ,’ सिंहले भने।  बारामा पर्सा राष्ट्रिय निकुञ्ज सहित कुल भूभागको करिब ४७ हजार हेक्टर वन क्षेत्र रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप