शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
समाचार

पीएसओले बोक्ने पेस्तोलको ह्याण्डलिङमा ‘लापरबाही’

पीएसओको पेस्तोलबाट गोली चलेको घटना यो पहिलो होइन
सोमबार, ०४ वैशाख २०८०, ०९ : १०
सोमबार, ०४ वैशाख २०८०

काठमाडौँ । नयाँ वर्षको खुसीयाली साट्दै गर्दा आफ्नै नातिले बोकेको पेस्तोल पड्केर तीर्थमाली पुन घाइते भइन् । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमाली ७४ वर्षकी छिन् । बालुवाटारस्थित घरमा शुक्रबार राति ११ बजेतिर तीर्थमाली पुनलाई गोली लागेको प्रहरीले गरेको अनुसन्धानबाट थाहा भएको छ । घटनामा संलग्न नाति प्रहरीको सहायक हवल्दार प्रकाश पुन मगर हुन् । प्रकाशलाई अहिले प्रहरी प्रधान कार्यालय स्थित नम्बर–१ गणमा राखिएको छ । आरोपीबारे आन्तरिक अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए ।

प्रहरीमा सामान्यतया वरिष्ठ हवल्दारसम्मले साना हतियार बोक्न पाउँदैनन् । तर, प्रकाश भीआईपीको सुरक्षामा खटिएको हुनाले उनले चाइनिज पेस्तोल ‘टाइप–५४’ बोकेका थिए । सहायक हवल्दार प्रकाश प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत थिए । अति विशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षामा खटिनेलाई प्रहरी प्रधान कार्यालयले हतियार उपलब्ध गराउँछ ।

 पीएसओ (व्यक्तिगत सुरक्षा अधिकृत)ले बोकेको पेस्तोलबाट गोली चलेको घटना यो पहिलो होइन । यसअघि पनि यस्ता घटना भएका थिए । 

२०७८ कार्तिक ११ मा राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दाहालकी पिएसओ अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चल्यो । संसद् सचिवालयको दुई नम्बर भवनमा अनुपमाको पेस्तोल भुईँमा खस्दा फायर भएको थियो । त्यस बेला ठुलो क्षति भने भएन ।

बालुवाटार घटनामा सहायक हवल्दार पुन मगरले ‘पेस्तोल आफैँ पड्केको’ बयान दिएका छन् । प्रारम्भिक अनुसन्धानबाट ‘दुर्घटना’ भएको देखिएको उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । उनले भने–‘प्रारम्भिक अनुसन्धानबाट पेस्तोल आफैँ पड्केको देखिन्छ, थप अनुसन्धान भइरहेको छ ।’

तीर्थमालीका नाति हुन प्रकाश । राति अबेरसम्म बसेर मदिरा सेवन गरेपछि हजुरआमाले उनलाई चाँडो डेरामा फर्किन भनेकी थिइन् । प्रकाशले ‘अबेर भएर केही हुँदैन मसँग हतियार छ’ भन्दै पेस्तोल निकालेका थिए । झोलाबाट निकाल्ने क्रममा उनको पेस्तोलबाट आफैँ गोली पड्किएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

उच्च प्रहरी अधिकारीको असावधानी र पिएसओको लापरबाहीले यस्ता घटना दोहोरिने गरेका छन् ।

पूर्व एआईजी पुष्कर कार्की हेलचेक्र्याइँ गर्दा हतियार आफैँ पड्किने बताउँछन् । उनी भन्छन्–‘हतियार देखाउने कुरा होइन, लापरबाही गर्दा आफैँ पड्किन्छ ।’ 

पिएसओ (व्यक्तिगत सुरक्षा अधिकृत) बारम्बार परिवर्तन गरिरहनुपर्ने बताउँछन् पूर्व एआईजी कार्की । उनी भन्छन्–‘पिएसओहरू आफन्त र नजिकको खोज्दा यस्तो समस्या आउँछ ।’ 

भिआईपीको सुरक्षामा खटिनेहरूलाई फायरिङ तालिम निरन्तर गराउनुपर्ने बताउँछन् पूर्व एआईजी कार्की । कार्कीले रातोपाटीसँग भने–‘बन्दुकको प्रोटोकल अनुसार अभ्यास गराइरहनुपर्छ ।’  

प्रहरीको बन्दुकबाट फायर हुने अधिकांश घटना लापरबाहीका कारण भएका छन् । कतिपय सुरक्षा अधिकारीहरूले जानाजान पेस्तोलको दुरुपयोग गर्छन् । 

२०७९ साउनमा न्यायाधीशहरुको पिएसओ खटिएका ३७ वर्षीय कर्णबहादुर गुरुङ र प्रहरी वृत्त बालाजुका घुमुवा शिव सुनार पक्राउ परे । उनीहरूले चिनियाँ नागरिकलाई पेस्तोल देखाएर दरबारमार्गबाट लगेर गोङ्गबुमा बन्धक बनाएका थिए । चिनियाँबाट उनीहरूले ८ लाख नगद र २७ थान मोबाइल लुटेर १ करोड फिरौती मागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पिएसओ र घुमुवाले आफूसँग भएको पेस्तोल चिनियाँको कञ्चटमा राखेरै अपहरण गरे । 

हतियारको तालिम गर्दा आकाश वा भुइँतिर फर्काएर बोक्न र सावधानीपूर्वक ह्याण्डल गर्न सिकाइएको हुन्छ । तर, पिएसओहरुले लापरबाही पूर्वक बोक्ने र सफा नगर्ने गर्दा यस्ता घटना हुन्छन् ।

पूर्व एआईजी सुरेन्द्र बहादुर शाह एसपी हुँदा घरमा पेस्तोल छाडेर घुम्न निस्केका थिए । बाँसबारीस्थित उनको घरमा छोरा र छोराका साथीहरूको भेटघाट हुँदा घरमा राखेको पेस्तोल चलाउँदा एकजनाको मृत्यु भयो । २०६३ मा भएको सो घटनामा भारतबाट आएका शाहको छोराको साथीले ज्यान गुमाएका थिए । सो घटनामा प्रहरीले फौजदारी मुद्दा चलाएको थियो । 

उच्च प्रहरी अधिकारीको असावधानी र पिएसओको लापरबाहीले यस्ता घटना दोहोरिने गरेका छन् । हतियारको तालिम पर्याप्त नगर्दा र समयमा हतियार सफा नगर्ने कारण पनि हतियार आफैँ पड्किने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रहरी तालिम केन्द्र र गणमा नियमित हतियारको सफाइ हुन्छ । तर,  भीआईपीको सुरक्षामा खटिनेहरूको हतियार सफाइबारे प्रहरी प्रधान कार्यालयले ध्यान दिने गरेको छैन । ‘हतियार मिस ह्याण्डलिङ गर्दा पड्किन्छ’ पूर्व एआईजी हरि बहादुर पाल भन्छन्–‘पिएसओले बोक्ने हतियार आफैँ फायर हुनुमा लापरबाही मुख्य कारण देखिन्छ ।’ 

हतियारको तालिम गर्दा आकाश वा भुइँतिर फर्काएर बोक्न र सावधानीपूर्वक ह्याण्डल गर्न सिकाइएको हुन्छ । तर, पिएसओहरुले लापरबाही पूर्वक बोक्ने र सफा नगर्ने गर्दा यस्ता घटना हुन्छन् । प्रहरी प्रधान कार्यालयले भीआईपी सुरक्षामा खटिनेहरूका लागी २१ दिनको ‘विशिष्ट व्यक्ति सुरक्षा तालिम’ प्रदान गर्दै आएको छ । 

आधारभूत तालिम गर्ने प्रहरी जवानहरूले पनि हतियार तालिम लिन्छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्की भन्छन्–‘हतियार तालिम लिए पनि लापरबाहीका कारण यस्ता घटना हुन्छन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप