बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
डाक्टरको जाँच

चिकित्सकको लाइसेन्स परीक्षामा किन हुन्छन् ५० प्रतिशतमा भन्दा कम पास ?

लाइसेन्स परीक्षामा सोधिने प्रश्नको मानक तयार गर्दै मेडिकल काउन्सिल
बुधबार, ०६ वैशाख २०८०, १४ : ३३
बुधबार, ०६ वैशाख २०८०

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकको लागि लिने लाइसेन्स परीक्षामा ५० प्रतिशतमा भन्दा कम पास हुने गरेको आकडाले देखाउँछ । चिकित्साशास्त्र अध्ययन सकाएर अभ्यास गरी उत्तीर्ण भएपछि मात्रै चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षण दिन पाइन्छ । 

वर्षमा तीन पटक लिइने लाइसेन्स परीक्षाको नतिजा केलाउँदा निराशाजनक छ । काउन्सिलले लिएको ६४औँ परीक्षासम्ममा स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षामा सन् २०२२ मा ४२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । ५ हजार ६ सय ८७ जना लाइसेन्स परीक्षामा सहभागी भएकोमा २ हजार ३ सय ८६ मात्रै उत्तीर्ण भएका थिए । 

स्वदेश, विदेश जहाँ चिकित्सा शिक्षा अध्ययन गरे पनि मापदण्ड पुरा नगरी चिकित्सक बन्न पाइँदैन । लाइसेन्स परीक्षामा ५० प्रतिशत भन्दा कम उत्तीर्ण हुँदा चिकित्साशास्त्र अध्यापन गराउने कलेजको शैक्षिक प्रणालीमा प्रश्न उठाउन आवश्यक रहेको काउन्सिलका एक अधिकारीले बताए ।   

उनी भन्छन्, ‘चिकित्सक लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुने मुख्य कारण कलेजहरूमा गुणस्तरीय शिक्षा बनाउन मापदण्ड पालना गरे नगरेको बारे चासो नराख्दा यस्तो समस्या सिर्जना भएको हो ।’

लाइसेन्स परीक्षामा सहभागी भई फेल भइसकेपछि काउन्सिलले कडा खालको प्रश्न सोध्यो भनेर आलोचना गर्ने प्रवृत्ति रहेको काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारी सुनाउँछन् । उनका अनुसार काउन्सिलले सोध्ने नसोध्ने प्रश्न सोध्यो भनेर चर्को आलोचना गरेको पाइन्छ ।

लाइसेन्स परीक्षासम्बन्धी आलोचनालाई निमिट्यान्न पार्न काउन्सिलले दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा सोधिने प्रश्नको मानक अर्थात् स्ट्यान्डरवाइज कम्प्युटरमार्फत गरिने तयारी गरेको छ । आइटम एनालाइसिल अर्थात् विषयको विश्लेषण गरिने काउन्सिलका रजिष्ट्रार डा अधिकारीले बताए । 

नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकका लागि लाइसेन्स परीक्षामा १८० वटा प्रश्न सोधिन्छ । जसमा ५० प्रतिशत अर्थात् ९० वटा प्रश्नको सही उत्तर मिलाएमा लाइसेन्स परीक्षा पास भइन्छ ।

‘यो परीक्षा पास गर्न सयमा/सय मिलाउनुपर्छ भन्ने हुँदैन । तर, डाक्टरले सकेसम्म मिलाउनुपर्छ ।’ उनले भने, ‘बिरामीको शल्यक्रिया गरी निको बनाउने अति गम्भीर अनि संवेदनशील कार्य भएकाले लाइसेन्स परीक्षामा ५० प्रतिशत प्रश्नको जवाफ सही दिन सक्ने हुनैपर्छ ।’  

सोधिएका १८० प्रश्नमा झण्डै ५ वटा कडा खालका प्रश्न सोध्दा पनि केही फरक नपर्ने रजिष्ट्रार डा अधिकारीको भनाई छ । यही ५ वटा प्रश्नले कडा खालको प्रश्न गरेका कारण लाइसेन्स परीक्षा पास हुन नसकिएको गुनासो आउने गरेकाले यसलाई सम्बोधन गर्न काउन्सिलले प्रश्नको मानक अर्थात् स्ट्यान्डरवाइज कम्प्युटरमार्फत गरिने बताए । 

मेडिकल काउन्सिलले गएको दुई वर्षदेखि कम्प्युटरमार्फत परीक्षा लिँदै आएको छ । 

कहिलेदेखि हुन्छ मानक प्रश्न ?

मेडिकल काउन्सिलले २०८० सालमा स्नातक तहको लाइसेन्स परीक्षा र स्नातकोत्तर तहको विशेष परीक्षा गरी ६ पटकसम्म लिनेछ । स्नातक तहको लाइसेन्स परीक्षा आगामी साउन ११ र १२ गते लिनेछ भने अर्को परीक्षा असोज १०, ११ र १२ गते लिइने काउन्सिलका रजिष्ट्रार डा अधिकारीले बताए । र, माघ १७, १८ र १९ गते पनि स्नातक तहको परीक्षा लिइने वार्षिक तालिका काउन्सिलले सार्वजनिक गरेको छ । 

स्नातक तहको परीक्षा मात्रै नभएर स्नातकोत्तर तहको विशेष परीक्षा पनि २०८० सालमै ३ पटक गरिने भएको छ । आगामी साउन ११ र १२ गते स्नातकोत्तर तहको लाइसेन्स परीक्षा लिइनेछ भने मंसिर १४ र १५ गते अर्को परीक्षा सञ्चालन गरिने छ । २०८० चैत्र २२ र २३ गते पनि स्नातकोत्तर तहको विशेष परीक्षा सञ्चालन गरिनेछ । 

यद्यपि मेडिकल काउन्सिलले २०८० सालमा लाइसेन्स परीक्षामा सोधिने प्रश्नको मानक अर्थात् स्ट्यान्डरवाइज कम्प्युटरमार्फत लागू गरिने छैन  ।  

लाइसेन्स परीक्षामा सोधिने प्रश्नको मानक र विश्लेषण कम्प्युटर सिस्टमबारे काम भइरहेको र अबको दुई वर्षपछिका परीक्षामा लागू गरिने रजिष्ट्रार डा. अधिकारीले बताए । 

यस्तै, यस परीक्षामा सहभागी हुन विदेशी कलेजमा भर्ना भई कोभिडका कारण नेपालमा इन्टर्नसिप गरिरहेका विद्यार्थीले परीक्षामा सामेल हुन इन्टर्नसिप पूरा गरेका र आफू भर्ना भएको विश्वविद्यालयबाट इन्टर्नसिपसहित अन्तिम प्रमाणपत्र प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । 

लाइसेन्स परीक्षामा कति पास ?

नेपाल मेडिकल काउन्सिलको ६४ औँ परीक्षासम्मको आकडाअनुसार स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षामा सन् २०२२ मा  ५ हजार ६ सय ८७ जना लाइसेन्स परीक्षामा सहभागी भएका थिए । जसमा २ हजार ३ सय ८६ अर्थात् ४२ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए । 

सन् २०१८ स्नातक तहको दर्ता प्रमाणपत्र परीक्षामा ४ हजार ३ सय ४२ जना सहभागी भएका थिए, जसमा २ हजार ४ सय ८ अर्थात् ५५.५ प्रतिशत मात्रै उत्तीर्ण भएका थिए ।

सन् २०१९ मा ५ हजार २०७ जना लाइसेन्स परीक्षामा सहभागी भएकोमा  ५१.३ प्रतिशत अर्थात्  हजार  सय ७२ जना  मात्रै पास भएका थिए ।

सन् २०२० मा  अघिल्लो साल भन्दा १० प्रतिशत बढीले उत्तीर्ण भए । २ हजार ९ सय ३७ जना लाइसेन्स परीक्षामा सहभागी भएकोमा १ हजार ८ सय १३ जना अर्थात् ६१.७ प्रतिशत पास भएका छन् ।

सन् २०२१ मा २ हजार ५ सय ४१ जना सहभागी भएका थिए, जसमध्ये १ हजार ३ सय ५४ जना अर्थात् ४२ प्रतिशत पास भएका थिए । 

यस्तै, स्नातकोत्तर तहको विशेष लाइसेन्स २४ औँ परीक्षासम्म सन् २०२२ मा पाँच वर्षयता सबैभन्दा धेरै पास भएका छन् । २०२२ मा १ हजार ६ सय ७३ जना लाइसेन्स परीक्षामा सहभागी हुँदा १ हजार २ सय ३४ जना अर्थात् ७३.८ प्रतिशत पास भएका थिए । 

सन् २०१८ र २०१९ मा लाइसेन्स परीक्षामा सहभागी भएकामध्ये ६३ प्रतिशतले पास गरेका छन् । सन् २०१८ मा ११ सय ८२ जना लाइसेन्स परीक्षामा सहभागी भएका थिए, जसमा ७ सय ४५ जना अर्थात् ६३.० प्रतिशत पासमा भएका छन् । यस्तै, सन् २०१९ मा १ हजार ३ सय ७४ लाइसेन्स परीक्षामा सहभागी भएका ८ सय ७२ जना  अर्थात् ६३.५  प्रतिशत पास भएका छन् ।

स्नातकोत्तर तहको विशेष परीक्षा सन् २०२० मा १ हजार १ सय ६३ जना सहभागी भएका थिए । त्यसमध्ये ७ सय ५५जना अर्थात् ६४.९ प्रतिशत पास भएका छन् । 

२०२१ मा ८०८ जना सहभागी भएकोमा ४ सय ९४ जना अर्थात् ६१.१ प्रतिशत पास भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप