बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

वैदेशिक रोजगारीको नाममा ३ महिनामा १० करोडभन्दा धेरै ठगी

एसएसपी भन्छन्– ठगीको उजुरी आएको २४ घण्टामा पक्राउ गर्छौं
आइतबार, १० वैशाख २०८०, १६ : ५७
आइतबार, १० वैशाख २०८०

काठमाडौं । दोलखा घर भएका देवराज थामी आफ्ना साथीहरुसँग वैदेशिक रोजगारीमा जान चाहन्थे । दोलखाको भिमेश्वर नगरपालिकास्थित दोक्थली गाउँका उनीसहित ८ जना रातोपुलस्थित ‘एनबी इन्टरनेशल मेनपावर प्रा.लि’ मा पुग्छन् ।

मेनपावरमा रणेन्द्र बहादुर रसुवाललाई उनीहरुले भेटेर कुराकानी गरे । रसुवालले कुवेत जान प्रतिव्यक्ति १ लाख ६५ हजार र दुबई जान १ लाख ४५ हजार रुपैयाँ लाग्ने बताए । मेडिकल गर्न र प्रोसेसिङका लागि भनेर रसुवालले रकम मागेपछि देवराजको समूहले गाउँबाट ऋण काढेर ल्याएको पैसा रसुवाललाई बुझाए ।

उनीहरुले २५ हजार हाराहारीको दरमा पैसा बुझाए । तर, पैसा लिएपछि रसुवाल सम्पर्कबिहीन भए । पीडितहरु मेनपवारमा गए । एनबी इन्टरनेशल मेनपावरका आधिकारिक व्यक्तिले भने, ‘रणेन्द्र हाम्रो कर्मचारी नै होइन, हामीलाई कुनै मतलव छैन ।’

फागुन २३ मा उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालयमा रणेन्द्रविरुद्ध उजुरी दिए । रणेन्द्रलाई पक्राउ गरेर दोलखा भिमेश्वरका ८ जना पीडितको पैसा प्रहरीले फिर्ता गराइदिएको छ ।

वैशाख ८ मा सप्तरीको कञ्चनपुर गाउँपालिका–४ घर भएर टोखा बस्ने पुर्णकुमार दाहाललाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । दाहालले ‘कतार पुलिसमा भर्ना गराइदिन्छु’ भनेर चन्द्र बहादुर खत्रीसमेत १८ जनालाई ठगेको आरोप छ । प्रतिव्यक्ति ७ लाख मागेका दाहालले ६४ लाख ठगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागको आग्रहमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई पक्राउ गरेर जिम्मा लगाएको छ । दाहाल पीडितहरुलाई भन्थे– कतार प्रहरीमा मासिक १ लाख कमाई हुन्छ ।

मासिक १ लाख कमाउने सपना देखेर उनीहरुले ६३ लाख गुमाएका हुन् । वैदेशिक रोजगारको नाममा यसरी ठगिनेको संख्या बढेको छ । २०७९ माघपछि १० करोड ६२ लाख १५ हजार ठगी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको तथ्यांकले देखाउँछ । पछिल्लो ३ महिनामा २ सय ८९ जना पीडितको समस्या समाधान गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले रातोपाटीलाई बताए ।

वैदेशिक ठगीको तथ्यांक :

Capture

२०७५/०७६ को तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जानेहरुमध्ये मलेसिया, कुवेत, कतार, साउदी अरब र युनाइटेड अरब इमिरेट्समा ९४ प्रतिशत जान्छन् । ती मुलुकमा पठाउने नाममा ठगी गर्नेहरुलाई प्रहरीले प्राथमिकतामा राखेर अनुसन्धान र कारवाही गर्ने गरेको छ । आरोपितहरुले नक्कली भिसा बनाएर र आकर्षक कमाई हुन्छ भनेर ठग्ने गरेका छन् । मलेसिया, कतार र साउदी अरब जाने आशामा ठगिनेहरु अधिकांश ग्रामीण भेगका सर्वसाधारण हुने गरेका छन् ।

 

एसएसपी भन्छन्– गरिब ठगिएको प्रमाण हामी नै खोज्छौं

गाउँबाट विदेशमा कमाउन जाने आशामा आउनेहरु छिनभरमै ठगिन्छन् । पैसा बुझाएको प्रमाण राख्नुपर्छ भन्ने उनीहरुलाई थाहै हुँदैन । उपत्यका अपराध अनुसन्धान कार्यालयले खाडीमा पठाउँछु भनेर ठग्नेहरु विरुद्धको अनुसन्धान र कारवाहीलाई तीब्रता दिएको छ ।

Dr. Manoj SSP (2080)

‘खाडी मुलुकमा पठाउँछु’ भनेर प्रतिव्यक्ति ५० हजारदेखि १ लाखसम्म ठगी हुने गरेको भन्दै उपत्यका अपराध अनुुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसीले त्यस्तालाई तत्कालै पक्राउ गरिने बताए । उनले भने, ‘पीडितले निवेदन दिएको २४ घण्टाभित्र पक्राउ गरेर कानुनी दायरामा ल्याउँछौं ।’

धेरैजना पीडित भएका र आरोपित उपत्यका बाहिर भएको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं बाहिर पनि समन्वय गरेर पक्राउ गर्ने गरेको छ । मलेसिया, कतार र युएई जस्ता मुलुकमा जान खोज्दा ठगको सिकार हुनेहरुलाई प्रमाण खोज्न नलगाउने एसएसपी डा. केसीले बताए । उनी भन्छन्, ‘उनीहरुलाई प्रमाण खोज्न लगाउँदैनौं, हामी नै प्रमाण खोज्छौं ।’

दुबई, कतार जान खोज्दा ५० हजार र १ लाख ठगिनेहरुले निवेदन दिएपछि प्रहरीले आरोपितलाई ल्याएर छलफल गराउने गरेको छ । अधिकांश विवाद छलफल गरेर पीडितले पैसा फिर्ता पाएपछि मिलापत्रमा टुंगिन्छन् ।

आर्थिक वर्ष २०७९/२०८० मा वैदेशिक रोजगार विभागले १५० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारी भएकामध्ये ४४ जनालाई पक्रेर विभागमा पठाएको प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीले बताए । उपत्यका बाहिरका प्रहरी कार्यालयसँग समन्वय गरेर अपराध अनुसन्धान कार्यालयले चालु आर्थिक वर्षमा ५ जनालाई पक्राउ गरेको छ ।

७३ जना पक्राउ

collage

मलेसिया पठाउँछु भनेर ठगेको आरोपमा वैशाख ४ मा नयाँ बानेश्वर घर भएकी विमला थापा पक्राउ परिन् । ५१ वर्षीय विमलाले कमल चौधरीलाई मलेसिया पठाउँछु भनेर रकम लिएपछि सम्पर्कबिहीन भएको आरोप छ ।

वैशाख ५ मा पर्सा घर भएका हिरालाल महतो नुनिया पक्राउ परे । जय बहादुर तेलीसहित ६ जनालाई मलेसिया पठाउँछु भनेर हिरालालले ३ लाख ३ लाख ५० हजार ठगेको आरोप छ ।

पोर्चुगल पठाउँछु भनेर ठगेको आरोपमा सिन्धुपाल्चोक लिसंखुपाखर घर भएका टिकाबहादुर भण्डारीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । वैशाख ६ मा पक्राउ परेका भण्डारीले मिलन तामाङसहित १० जनालाई ठगेको आरोप छ । उनले १५ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । एसएसपी डा. केसीका अनुसार २०७९ माघपछि अहिलेसम्म ७३ जनालाई पक्राउ गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप