बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मन्त्री र सचिव नभएको बहानामा सहसचिवलाई बनाइयो जिम्मेवारीविहीन

मङ्गलबार, १२ वैशाख २०८०, १२ : २५
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अहिले सात जना सहसचिवहरू जिम्मेवारीविहीन छन् । उनीहरूको दैनिकी मन्त्रालय आउने र हाजिर गरेर घर फर्किनेबाहेक अरू छैन ।

सहसचिवहरू क्रमशः कमल कुमार अधिकारी, सुरेश राउत, अर्जुन भण्डारी, कमल न्यौपाने, कुमानसिंह गुरुङ, भरत खनाल र कृष्ण धिताललाई मन्त्रालयले कुनै जिम्मेवारी दिएको छैन । भण्डारी खुला र गुरुङ समावेशी कोटामा उपसचिवबाट सहसचिवमा गत चैत २० गते बढुवा भएका थिए । मन्त्रालयले सातै जना सहसचिवहरूलाई केही दिनअघिमात्रै तालिमका लागि भन्दै कर्मचारी प्रशिक्षण प्रतिष्ठानमा पठाएको थियो । तालिम सकाएर उनीहरू मन्त्रालय फर्किए पनि केही जिम्मेवारी दिइएको छैन । 

मन्त्रालयले भने विभागीय मन्त्री अमनलाल मोदी विदेशमा र सचिव कृष्णहरि पुष्कर बिदामा रहेकाले सरुवा गर्न नसकिएको जवाफ उनीहरूलाई दिएको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराईले मन्त्री र सचिव नभएकाले सरुवा गर्न नसकिएको बताए । उनले रातोपाटीसँग भने, ‘उहाँहरू भर्खरै तालिम सकाएर आउनुभयो । अहिले मन्त्रीज्यू र सचिव दुवै विदेशमा हुनुहुन्छ । उहाँहरू आएपछि कता पठाउने भन्ने टुङ्गोमा पुग्छौँ ।’ 

aman-krishnahari

सहसचिवहरूलाई जिम्मेवारीविहीन भएर राख्दा त्यसले सेवा प्रवाहमा पार्ने असरका बारेमा भट्टराईले भने, ‘उहाँहरूमध्ये केही भर्खरै बढुवा भएर आउनुभएको हो । जिम्मेवारी दिन ढिलाइ भएको भन्दा पनि आन्तरिक व्यवस्थापन मिलाउने कार्य हुँदैछ ।’ 

स्वास्थ्य मन्त्रालयमा सहसचिवद्वय डा. राधिका ढकाल र नारायण ढकाल विगत १५ महिनादेखि जिम्मेवारीविहीन छन् । स्वास्थ्यकै अर्का सहसचिव अनुज भट्टचनले पनि दुई सातादेखि कुनै जिम्मेवारी पाएका छैनन् । खाली रहेका ठाउँमा नपठाएर मन्त्रालयमा उनीहरूलाई जगेडामा राखिएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समिर कुमार अधिकारीले यसबारे सचिवलाई थाहा हुने बताए। उनले भने,‘ उहाँहरूलाई जिम्मेवारी नदिएको साँचो हो । तर, किन दिइएन भन्नेबारे सचिवज्यूलाई थाहा होला ।’ स्वास्थ्य मन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले सम्हालेका छन् । 

स्वास्थ्य मन्त्रालयअन्तर्गत सचिवस्तरको नेतृत्व हुने सार्क क्षयरोग केन्द्र, एड्स तथा यौनरोग केन्द्र, क्षयरोग केन्द्र र राष्ट्रिय औषधि प्रयोगशालामा विभागीय नेतृत्व खाली छ । 

परराष्ट्र मन्त्रालयमा सहसचिवहरू डा. सुरेन्द्र थापा, शरदराज आरण, लक्ष्मण खनाल र कृष्णप्रसाद ढकाललाई कुनै जिम्मेवारी दिइएको छैन । 

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मन्त्रालयमा कुनै पनि महाशाखा खाली नभएकाले सहसचिवहरूलाई जिम्मेवारी दिन नसकिएको बताइन् । उनले केही दिन मात्रै परराष्ट्रमन्त्रीले कार्यभार सम्हालेकाले राजदूत र नियोगमा नियुक्तिले पूर्णता पाउने बित्तिकै सहसचिवहरूको जिम्मेवारीले पूर्णता पाउने बताइन् । उनले भनिन्, ‘भर्खरै मन्त्रीज्यू आउनु भएको छ। अब राजदूत नियुक्तिको प्रक्रिया सुरु हुन्छ । नियोगको नियुक्ति सचिवज्यू विदेशबाट फर्किए लगत्तै सुरु हुन्छ । त्यसपछि क्रमशः सहसचिवहरूको जिम्मेवारी बाँडफाँड हुन्छ ।’

अर्थ मन्त्रालयमा जनकराज शर्मा, बाबुराम सुवेदी, धनीराम शर्मा र रघुराम विष्ट, जिम्मेवारीविहीन छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कुवेर नेपाली र शिवराज न्यौपानेलाई कुनै जिम्मेवारी दिइएको छैन । त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवद्वय दीपक घिमिरे र मदन भुजेलले सरुवा भएको साढे दुई महिना पुग्न लाग्दा कुनै जिम्मेवारी दिइएको छैन। 

वन तथा वातावरण मन्त्रालयमा दीपक ज्ञवाली, मोहन वाग्ले र बद्री ढुंगाना, गृह मन्त्रालयका सुमन घिमिरे र वासुदेव घिमिरेलाई पनि कुनै जिम्मेवारी दिइएको छैन । 

निजामती सेवा ऐन विपरीत मन्त्रालयहरूले सहसचिवहरूलाई जिम्मेवारबिहीन बनाएको छ। ऐनको दफा १८ (ख) मा भनिएको छ,‘ लामो बिदामा रहेको, निलम्बन भएको र अन्यत्र काजमा खटिएको कारण पदाधिकार रहेको पदमा कायम राख्नुपर्ने भएमा बाहेकको अवस्थाबाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई दुई महिनाभन्दा बढी अवधिसम्म राख्न पाइँदैन ।’ तर, ऐनकानुनको धज्जी उडाएर सरकारले दुई दर्जन बढी सहसचिवलाई जिम्मेवारविहीन बनाएको छ। 

प्रशासन विज्ञ काशीराज दाहालले कर्मचारीलाई विनाकारण जिम्मेवारीविहीन बनाउन नमिल्ने बताउँछन् । उनले कारबाही भोगेका कर्मचारीको हकमा बाहेक अन्य सामान्य अवस्थामा कर्मचारीलाई जिम्मेवारीविहीन बनाउन नमिल्ने बताए । उनले भने,‘ यसमा मेरो दुई वटा राय छ । पहिलो कर्मचारीले कारबाही भोगको छ भने उसलाई केही समय जिम्मेवारीविहीन बनाउनुपर्छ तर, कुनै कारबाही भोगको छैन भने जिम्मेवारी दिनुपर्छ । अर्को कुरा राजनीतिक दलको आडमा कर्मचारीले खटाए ठाउँमा जान्न भन्न पाउँदैन । जानुपर्छ ।’ उनले कर्मचारीको हकमा पुरस्कार र दण्डको सिद्धान्त लागू हुनुपर्ने बताए । 

सरकारको प्रवक्ता रेखा शर्माले सहसचिवहरूलाई जिम्मेवारी नदिएको सम्बन्धमा बुझ्ने काम भइरहेको बताइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री समेत रहेकी शर्माले भनिन्,‘ सहसचिवहरूलाई जिम्मेवारीविहीन बनाउने विषयमा बुझ्ने काम भइरहेको छ। ठाउँ भएर पनि जिम्मेवारी नदिएको हो वा उहाँहरू आफैँ सरुवा भएको ठाउँमा जान नचाहनु भएको हो , त्यसमा थप सोधपुछ भइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप