शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वन अतिक्रमण गरी बनाइएका टहरा हटाउन अल्टिमेटम

बुधबार, १३ वैशाख २०८०, २१ : ०८
बुधबार, १३ वैशाख २०८०

धनगढी । कैलालीमा वन अतिक्रमण गरी बनाइएका १ सय बढी घर टहरा हटाउन अल्टिमेटम जारी गरिएको छ । 

जिल्लाको कैलारी गाउँपालिकाको वडा नं.५ र ७ अन्तरगत वसन्ता वन कोरिडोर अतिक्रमण गरी बनाइएको भौतिक संरचना हटाउन ७ दिने अल्टिमेटम जारी गरिएको हो ।

सब डिभिजन वन कार्यालय बसन्ताले एक सूचना जारी गर्दै पवेरा सामुदायिक वन उपभोक्ता समूहको पूर्वमा बुट्किहुवा ताल, पश्चिममा बन्दरगौरी गाउँ, उत्तरमा लाल बालु भुस्किहुवा सामुदायिक वन उपभोक्ता समूह र दक्षिणमा मनकामना प्राथामिक विद्यालय) को ४ किल्लाभित्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन निर्देशन दिएको छ ।

साथै बैजपुरको प्रतीक्षालयको उत्तर पट्टी कटैनी नदीको पुलको दक्षिण पट्टी र हुलाकी सडकखण्डको छेउ छाउमा व्यापार गर्ने प्रयोजनले बनाइएका पसल तथा खोकाहरु हटाउने भएको छ ।

कैलारी गाउँपालिकाको वडा नम्बर ७ अन्तर्गत पर्ने बसन्ती सामुदायिक वन उपभोक्ता समूह वनको पूर्वमा बसन्ता सामुदायिक वन उपभोक्ता समूह, पश्चिममा कटैनी नदी, उत्तरमा बैजपुर गाउँ र दक्षिणमा रतनपुर प्राथामिक स्वास्थ्य चौकी केन्द्रको सीमानाभित्र अतिक्रमण गरी बनाइएका घर टहरा र हुलाकी सडक खण्डको छेउछाउमा व्यापार गर्ने प्रयोजनले राखिएका पसल खोकाहरु पनि हटाउने भएको छ ।

तोकिएको समयमा घर टहरा नहटाएमा स्थानीय प्रशासनको सहयोगमा अतिक्रमित क्षेत्र खाली गराइने बताइएको छ ।

सब डिभिजन वन कार्यालय बसन्ताका प्रमुख श्याम सुन्दर माझीले साउन यता अतिक्रमण बनाइएका करिब सयौं नयाँ संरचना हटाउन सार्वजनिक सूचना जारी गरेको बताए । अटेर गरिए वन ऐनको दफा ४९ (ग) बमोजिम कसुर ठहरिने भएको हुँदा सोही अनुसार कारबाही गर्ने प्रमुख माझीले जनाए । 

वन ऐन अनुसार एक लाख जरिवाना वा ५ वर्ष कैद सजाय हुने व्यवस्था रहेको बताइएको छ । सो क्षेत्रमा बाढी प्रभावितहरू बस्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप