शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

विपिन र अर्पण मेरा लागि ‘इन्स्टिच्युट’

बिहीबार, १४ वैशाख २०८०, ०९ : ०९
बिहीबार, १४ वैशाख २०८०

काठमाडौँ । नयाँ फिल्म रिलिजको समय कलाकार मानसिक रूपमा दबाबमा देखिन्छन् । फिल्मले आगामी करियरमा समेत प्रभाव पर्ने भन्दै सफलताका लागि सहयोग र साथका लागि सबैसँग अनुरोध गर्छन् । यो मामलामा फरक छिन् अभिनेत्री केकी अधिकारी ।

केकीको नयाँ फिल्म ‘प्रसाद २’ आगामी शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म रिलिजको विषयलाई लिएर मानसिक दबाब र डर केही पनि छैन उनमा । उनी कलाकारको करियर उसको नयाँ फिल्मको प्रदर्शनले भन्दा अभिनयमा निरन्तरता र लगावले निर्धारण गर्ने बताउँछिन् ।

‘कुनै पनि कलाकारलाई एउटा फिल्मले करियर निर्धारण गर्दैन,’ केकीले भनिन्, ‘त्यो त अभिनय यात्राले निर्धारण गर्ने विषय हो ।’

सन् २०१० मा ‘स्वर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी केकीको यो ३२औँ फिल्म हो । यसअगाडिका कति हिट छन्, कति फ्लप । उनको अभिनय करियरमा भने फिल्मको व्यवसायले केही फरक पारेको छैन । उनको यात्रा एकनासको छ ।

नेपाली कलाकारको हकमा बक्स अफिसले खासै फरक पारेको अनुभव आफूले नगरेको बताउने केकी आफ्नो करियरको अनुभव पनि त्यस्तै रहेको सुनाइन् । ‘मेरा लागि फिल्म चल्नु र नचल्नुले केही फरक पर्दैन । ३२ वटा फिल्मसँग आइपुग्दा धेरै फिल्म व्यावसायिक दृष्टिले हिट नहोला । कमै फिल्म हिट भएको छ । त्यो हिसाबले हेर्ने हो भने मेरो करियर ग्राफमा अपडाउन देखिन्थ्यो होला । तर, एकनासको छ,’ उनले थपिन्, ‘निर्माता, निर्देशक तथा अडियन्सको मप्रति विश्वास छ । बक्स अफिसको सफलता, असफलताले केही फरक पर्दैन ।’

Prasad-2-Movie-Poster

त्यो सिकाइ

‘प्रसाद २’ मा केकी शीर्ष भूमिकामा छिन् । हिट फिल्म ‘प्रसाद’ सिक्वेलका रूपमा निर्माण भएको यो फिल्ममा उनले नारायणी नामक महिला चरित्र निर्वाह गरेकी छन् । उनको जोडी पति बाबुराम दलित समुदायको पात्रको भूमिकामा विपिन कार्की छन् । दुवैले ‘प्रसाद’ भागेर अन्तर्जातीय प्रेम विवाह गरेका थिए ।

‘प्रसाद’ नारायणीको भूमिका नम्रता श्रेष्ठले निर्वाह गरेकी थिइन् । अहिले केकीको भागमा परेको छ ।

अर्को कलाकार स्थापित भएको भूमिकामा अभिनय गर्दा कति जोखिम देख्छिन् त ? 'फिल्ममा नारायणीको पात्रको अनुहार मात्र फेरिएको हो, आन्तरिक विशेषता उस्तै रहेको छ' उनी भन्छिन्, ‘जतिसक्दो नारायणी पात्रमा भिजेर न्याय दिने प्रयास गरेको छु । मेरो अभिनयले पनि पहिलेको नारायणी पात्रलाई मर्न दिएको छैन ।’ 

नम्रताले छाडेपछि यो फिल्म केकीको हातमा परेको हो । कतिपय कलाकार अरूले छाडेको फिल्म खेल्न मान्दैनन् । उनी कला क्षेत्रमा फिल्म छाड्ने र भित्रिने प्रक्रिया सामान्य मान्छिन् । यस्तो प्रक्रिया विश्वका सबै फिल्म क्षेत्रमा हुने उनले बुझेकी छन् ।

'कहिलेकाहीँ सबै तयारी गरेर सुटिङमा जान लागेको फिल्म मैले गर्न नपाएको छ । त्यो फिल्म जसको भागमा लेखेको हुन्छ, त्यसले गर्न पाउँछ,’ केकीले थपिन्, ‘हरेक फिल्मले आफ्नो भाग्य आफैँ लिएर आउँछ । त्यसैले त पहिले अरू छानिए पनि सुटिङ मैले गर्नुपर्‍यो ।’ यो फिल्मको छायाङ्कन समयमा पनि विभिन्न उतारचढाव आएको थियो । यसलाई सिकाइ मान्छिन् उनी ।

Prasad movie (1)-001

मेरा लागि इन्स्टिच्युट

‘प्रसाद’ जहाँबाट सकिएको थियो, निर्माण युनिटले ‘प्रसाद २’ को कथा त्यहीँबाट भएको बताएको छ । उनी भने फिल्ममा नारायणीको पहिलेको भन्दा विद्रोही आवाज देख्न मिल्ने खुलाउँछिन्, समाज जुन प्रकारले मूकदर्शक बन्ने गर्छ ।

समाज झकझक्याउने त्यो काम नारायणीले गर्ने उनको भनाइ रहेको छ । ‘नारायणी र बाबुराम 'प्रसाद'का रूपमा छोरो मिलेपछि कसरी अगाडि बढ्छन् ? फिल्मको कथा र सर्प्राइज नै यही हो,’ केकीले फिल्मको विषयमा थपिन्, ‘कुन चिजलाई ग्रहण गर्नुपर्ने हो । केलाई प्रसाद मान्नुपर्ने हो । जीवनको मोरल भ्यालु के हो ? नैतिकताले मानिसलाई कहाँ लान्छ ?’

अभिनयका हिसाबले केकीका लागि यो ‘प्रसाद २’ खास छ । किनभने निर्देशक सुदर्शन थापादेखि कलाकार विपिन कार्की, अर्पण थापासँग उनले पहिलो पटक काम गर्ने अवसर जो मिलेको छ ।

‘प्रसाद २’ अभिनय रोज्नुको पहिलो कारण फिल्मको टीम रहेको प्रष्ट पार्दै केकी भन्छिन्, 'विपिन र अर्पणको अभिनयबाट म प्रभावित छु । उहाँहरूले प्रत्येक फिल्ममा फरक फरक चरित्र राम्रोसँग निर्माण गर्नुहुन्छ,’ उनले भनिन्, ‘प्रत्येक पटक उहाँहरू कसरी नयाँ देखिनुहुन्छ भन्ने जान्न र नजिकबाट नियालेर बुझ्न मन थियो ।’

साथै निर्देशक थापासँग काम गर्ने इच्छा रहेको उनले सुनाइन् ।

यो फिल्म अभिनय केकीका लागि अवसर मात्र नभएर चुनौती पनि थियो । पहिलो चुनौती सिक्वेल भएकाले नम्रताको अभिनय आफूलाई म्याच गर्नुपर्थ्यो । त्यसलाई उनले सहज रूपमा लिएकी थिइन् । उनका लागि ठुलो चुनौती भने विपिन र अर्पणसँग एउटै फ्रेममा उभिएर अभिनय गर्नु थियो ।

यो फिल्मको सुटिङ स्थल र वातावरण आफ्ना लागि अभिनय सिक्ने एउटा इन्स्टिच्युटजस्तो भएको केकीले सुनाइन् ।

Prasad movie (13)-001

‘विपिन र अर्पणजस्तो उम्दा कलाकारसँग एउटै स्क्रिनमा काम गर्दै थिए । उहाँहरू जसरी चरित्रमा फिट हुनुहुन्छ । म सकुँला नसकुँला भन्ने ठुलो डर थियो,’ उनले अनुभव राखिन्, ‘दर्शक जसरी पूरै चलचित्रको सेटमा बसेर उहाँहरूको चरित्र निर्माण र अभिनय हेरे ।’ 

‘प्रसाद २’ रिलिज हुने अगामी शुक्रबार अन्य तीन फिल्म पनि लाग्दैछन् । एकसाथै धेरै फिल्म रिलिज हुँदा दर्शकले कुन हेर्छन्, त्यो भन्न सकिन्नँ । सिङ्गल रिलिजको प्रयास तपाईंबाट भयो भएन ?

केकीले जवाफ फर्काइन्, ‘अहिले चाहेर पनि सिङ्गल फिल्म रिलिज गर्न सकिन्न । किनभने अहिले धेरै फिल्म निर्माण भएको छ । नचाहेर पनि दुई वा सोभन्दा बढी रिलिज हुने गरेका छन् ।’ समय कुर्दा फिल्म पुरानो हुने डरले निर्माताले फिल्म जुधाउने गरेको उनको बुझाइ छ । ‘नेपाली नेपाली फिल्म जुध्दा पनि राम्रै हुन्छ, आखिर जुन फिल्मले कमाए पनि नेपालीले कमाउने हो,’ उनी भन्छिन् ।

दर्शकबाट आफ्नो अभिनयको तारिफ पाउनेमा उनी ढुक्क छिन् । किनभने सोमबार भएको फिल्मको पहिलो प्रिमियरमा अभिनयको तारिफ जो मिलेको छ उनलाई । आफ्नो भूमिकाभन्दा पनि समग्र फिल्मले तारिफ पाउनुपर्ने उनको सोच छ ।

‘पूरै फिल्म स्वीकार्नुभयो भने सबै स्वीकार्य भएको बुझ्नुपर्छ,’ उनले थपिन्, ‘फिल्मको कन्टेन्टमा हामी चुकेका छौँ भने कुनै पात्रलाई मात्र रुचाउनुहुन्छ ।’ राम्रो फिल्म बनेकाले दर्शकले पूरै फिल्म स्वीकार्ने उनको विश्वास हो ।

फिल्म ‘प्रसाद २’ सुवास थापाले निर्माण गरेका हुन् । यसको पहिलो भाग ‘प्रसाद’ पनि थापाले नै निर्माण गरेका थिए भने निर्देशन दिनेश राउतले गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप