मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ दलप्रतिको ‘क्रेज’, आशङ्का र परिवर्तनको अपेक्षा

आइतबार, १७ वैशाख २०८०, १३ : ५८
आइतबार, १७ वैशाख २०८०

अहिले राजनीति क्षेत्रमा सबै कुरा नयाँ नै राम्रो र असल हो, पुरानो सबै खराब र कमसल भन्ने विचार विकास हुँदै गएको छ । खराबी नयाँ र पुराना सबैमा हुन्छन् । तर पुराना दलको खराबीलाई नयाँ दलले पहिचान गर्न सक्नुपर्छ । नयाँ दलका जोशलाई पुराना दलले सार्थक परिणतिमा पुर्याउन मद्दत गर्छ । 

आजको राजनीतिले अनुहार, उमेर र स्वरमा नयाँ नभएर शैली, चिन्तन, व्यवहार र संस्कारमा नयाँपन खोजेको छ । यसर्थ विकल्प हो तर पुरानाको विकल्प नयाँ होइन । नयाँ नयाँ हुनुपर्छ । तर त्यसले समाजलाई हेर्ने, सामाजिक समस्या निराकरण गर्ने, असन्तोष र विद्रोहलाई सम्बोधन गर्ने दार्शनिक धरातल सुस्पष्ट हुनुपर्छ । फरक तरिकाले ‘डेलिभरी’ गर्ने नीति तथा कार्यक्रम बन्नुपर्छ । पुरानाले गरेनन् अब नयाँ भन्ने कुरा गर्दा अनुहारमा पुस्ता फरक होला तर तरिकामा फरक नहुन सक्छ । 

आजको समय गहन दर्शन र वैचारिकीको मात्रै होइन, डेलिभरीको पनि हो । पब्लिकलाई दिने सेवा र सुविधा चुस्त, दुरुस्त र शीघ्र डेलिभरीको हो । दर्शन र वैचारिकीले मात्र केही हुँदैन । नाङ्गो आङमा कपडा, भोको शरीरमा खाद्यान्न र चुहिने छानोमा जस्तापातासहित दिगो लक्ष्य र सरल मार्ग अनि व्यवस्थित प्लानिङसहितको विकास निर्माण सभ्यता र संस्कार आजको राजनीतिको मूल प्रस्थानविन्दु हो ।

नैतिक रूपमा आदर्श र उच्च चारित्र निर्माण गर्ने रोजगारमूलक शिक्षाको व्यवस्था हुनुपर्छ । परिवारको कुनै सदस्य बिरामी हुँदा घरखेत गुमाउनुपर्ने अवस्था छ । स्वास्थ्य क्षेत्रको यस्तो अवस्थालाई परिवर्तन गर्नु जनताको आजको माग हो । समयलाई सम्बोधन गर्न सक्ने नूतन वैचारिकी समाजले खोजेको छ । कर्मशील, निष्ठावान् र इमानदार राजनीतिक व्यक्तिमार्फत सुशासन चाहिएको छ । विधिको पक्षमा काम गर्ने नेता खोजेको छ । 

सार्वजनिक सेवा दिने संस्थाहरू किन निकम्मा भए ? सार्वजनिक सेवा प्रवाह चुस्त रूपमा दिन नसक्नुको प्रयाप्त कारण खोजेर शीघ्र उपचारात्मक प्रबन्ध देशलाई चाहिएको छ । यो वाद, दर्शन र सिद्धान्तको युग नभएर डेलिभरीको युग हो । स्थानीय आवश्यकता र अवस्थितिलाई सम्बोधन गर्ने स्वायत्त अधिकार उपयोगको समय हो । पुराना दलले विगतको व्यवस्था परिवर्तन, योगदान र सक्रियताको ब्याज जीवनपर्यन्त भोग्ने लोभलाई त्याग्नु अत्यावश्यक छ । 

जेल, नेल, निर्वासन र भूमिगत जीवनको बायोग्राफीकै आधारमा एउटा पुस्ता योग्य हुने तर अर्काे पुस्तालाई नजानिँदो तरिकाले निषेध गरेका कारण पुराना दलप्रति नयाँ पुस्ताको आकर्षण कम देखिएको हो । नयाँलाई हामी नयाँ हौँ, जे पनि गर्न मिल्छ र सक्छौँ भन्ने ईष्र्या पलाएको छ । नयाँको सबै स्वीकार्य र पुरानाको सबै अस्वीकार्य भन्ने सोच सर्वथा गलत छ । पुरानाबाट सिक्ने र नयाँलाई सिकाउँदै स्पेस दिने बानी बुढा र पुराना पुस्ताका नेताले गर्नुपर्छ ।

राजनीतिमा नयाँ जोशसहित आएकालाई कतिपय प्रक्रिया, विधि र सामाजिक अनि राजनीतिक मूल्यबारे कम ज्ञान छ । यसर्थ राजनीतिक ज्ञानको मार्ग फराकिलो गर्नुपर्ने आवश्यकता नयाँका लागि चुनौती हो । ज्ञान, सीप र अनुभव बेगर रुचि र साहसले मात्रै कोही पनि सगरमाथा आरोहण गर्न सफल हुँदैन । आरोहणका पनि आफ्नै प्राकृतिक नियम हुन्छन् । आरोहण सफल भनेको शिखर पुग्नु मात्रै होइन, सहज अवतरण पनि हो । सगरमाथा शिखरमा पुगेर खुर्मुरिएकाहरू, खर्पसमा भासिएकाहरू  सफल आरोही होइनन् । आधार शिविर हुँदै सगरमाथा आरोहण गरिन्छ र अवतरणको सुरक्षित मार्ग पनि यही हो । 

सत्ताको विद्रूप खेलबाट सत्ताको तालचाबी खोस्नु छ । यसमा कुनै शङ्का छैन । तर चाबी खोल्न सक्नेले खोस्नुपर्छ । खोस्नेले खोल्न नसक्न पनि सक्छ । यस कुरामा हेक्का जरुरी छ । 

हाम्रो समस्या चाबी खोस्नेले ताला खोल्छ भनेर शतप्रतिशत विश्वास गर्नु पनि हो । कसैलाई शङ्का नै नगरी विश्वास गरिहाल्ने बानीले हामीलाई धोका भएको छ । हामी ईश्वरीय अवतारका रूपमा कसैलाई विश्वास गर्छाैं, कसैको उदयलाई सम्झन्छौँ । यो प्रवृत्ति आजको समयमा धोकाको सिकार बन्ने बाटो हो । अतः आलोचनात्मक चेतसहित समर्थन र विरोध गरौँ । नयाँ पार्टी सबैका लागि चुनौती हो । यसमा दुई मत छैन तर सबै समस्याको जादुगरी समाधान ऊ एक्लै होइन । नयाँ पार्टी अरूका लागि मात्र नभएर आफ्नै लागि पनि चुनौती हो । नयाँका लागि आफ्नै व्यवस्थापन प्राथमिक चुनौती हो भने अन्य चुनौती द्वितीय । 

नयाँले व्यक्तिलाई भन्दा प्रणालीलाई जोड दिनुपर्छ । पोलिसी र प्रयोगलाई प्राथमिकीकरण गर्नुपर्छ । यद्यपि प्रणाली निर्माण गर्ने काम नेतृत्वदायी व्यक्तिका कदम कदममा निहित हुन्छन् । 

२०७४ को चुनावपछिको ओली क्रेज र नेकपाको शक्तिले धेरै विपक्षीलाई अत्याएको थियो । सामान्य मान्छे चुचे रेल र पानी जहाजको सपनामा पुलकित थिए । ओलीले जनतालाई नदेखाएको कुनै सपना थिएन । दुई तिहाइको सरकारको सामथ्र्यले अरू तीन चार आवधिक निर्वाचन नेकपाबाट कसैले खोस्न सक्दैन भन्ने जनजनको बुझाइ थियो । 

हाम्रो पुस्ताले २०६४ मा माओवादीको सफलता र मधेशवादीको बहार देखेर राजनीतिको विश्लेषण मूल्याङ्कन गर्ने क्षमता राख्छ । हेमबहादुर मल्ल र शारदा मल्लले अत्यधिक मतसहितको २०४३ को राष्ट्रिय पञ्चायतको चुनावी जितेका देखेको छ । यसलगत्तै २०४८ सालको संसदीय चुनावमा उनीहरूको जमानतजफत भएको पनि हाम्रो पुस्ताले देखेको छ । २०६४ सालको संविधान सभाको चुनावमा डाक्टर बाबुराम भट्टराईले ४० हजारभन्दा बढी मत अन्तरले चुनाव जितेको पनि बिर्सिएको छैन । मदन भण्डारी र विद्या भण्डारीले २०४८ र २०५० मा कृष्णप्रसाद भट्टराईलाई पालैपालो चुनाव हराएका थिए । २०६४ मा केपी ओली र माधव नेपाल दुई ठाउँबाट नेकपा माओवादी केन्द्रका साधारण कार्यकर्ताद्वारा पराजित भएको दृश्य पनि देखेको हो । राजनीतिक क्षेत्रका यस्ता अनेक घटना हाम्रो पुस्ताले पढेको, सुनेको र देखेको छ । 

जो जसरी नेता भए पनि ऊ सामाजिक चेतना र व्यवहारको उपज हो, उत्पादन हो । विशेष धातु निर्मिति वस्तु होइन । हुङ्कार गर्नेको नैतिक धरातल बलियो हुनुपर्छ । अनैतिक व्यक्तिले धेरै ठूलो हुङ्कार प्रदर्शन गर्छ । 

नागरिकतालाई कागजको विषय र भावनाको विषय मात्रै बनाउने दुवै अतिवादी हुन् । नागरिकता भावना र कागज मात्रै होइन, जनजनको आफ्नो ममता र माटोप्रतिको माया देशप्रतिको कर्तव्य र अविश्रान्त लगाव हो । त्यसैले कागज प्राविधिक कुरा मात्र होइन, प्रक्रियाको प्राविधिक त्रुटि अक्षम्य अपराध बन्दैन । तथापि वस्तुनिष्ठ बन्न जानिएन भने फन्दामा परिन्छ । कानुनले भावना र व्यावहारिकता हेर्दैन, प्रमाण र कानुनी प्रबन्ध हेर्छ । त्यसैले बहकिन छोडेर यथार्थ धरातलमा बस्न जान्नुपर्छ । 

माओवादी जनयुद्धमा हजारौँले बलिदान दिए । त्यस क्रममा हजारौँ व्यक्तिका अङ्गभङ्ग भए, घाइते भए, सयौँ बेपत्ता पारिएर । हजारौँ व्यक्तिले जेलनेल र भूमिगत जीवन विताएर माओवादीले सत्ता प्रवेश गर्दा नगर्दै आफ्नो आधारभूत चरित्र गुमाए । सुख भोग, सत्ता भोग र अवसरवादको भुलभुलैयामा हजारौँ नेताकार्यकर्ता भसिए । विसं २०६४ ताका माओवादी को थिएन ? माओवादीको बाख्रो देख्दा पनि मान्छेको सातो जान्थ्यो, मुटु काँप्थ्यो । माओवादीले गर्न नसक्ने कुरा केही थिएन । माओवादीले देखाउन बाँकी सपना केही थिएन । प्रचण्ड, बाबुरामको देवत्वकरण गर्दा कुनै विम्ब, प्रतीक र मानकहरू छुटेका थिएनन् । चमत्कारको भाष्य सिर्जना गर्न कुनै कसर छोडिएको थिएन । 

तर त्यसको ‘रिजल्ट’ कस्तो आउँदै गयो भन्ने कुरा सबैलाई जग जाहेर छ । २०७४ को चुनावपछिको ओली क्रेज र नेकपाको शक्तिले धेरै विपक्षीलाई अत्याएको थियो । सामान्य मान्छे चुचे रेल र पानी जहाजको सपनामा पुलकित थिए । ओलीले जनतालाई नदेखाएको कुनै सपना थिएन । दुई तिहाइको सरकारको सामथ्र्यले अरू तीन चार आवधिक निर्वाचन नेकपाबाट कसैले खोस्न सक्दैन भन्ने जनजनको बुझाइ थियो । समय कसरी फेरियो भन्ने कुरा सबै राजनीतिक घटना क्रमबाट थाहा हुन्छ ।  

नयाँ दल पुरानोको विकल्प भनेको सुनिन्छ । यो भाष्यमा पनि परिवर्तनको खाँचो देखिन्छ । पुरानोको ठाउँमा नयाँ होइन । पुरानोको स्थानमा फरक सोच, दीर्घकालीन योजना, नयाँ शैली र स्वभाव पनि हो । 

लहड, लहर, वेग र आक्रोशको मत थाम्न नयाँ पार्टीले थुप्रै ढुङ्गा चपाउने र पचाउने क्षमतासहित राजनीतिको रथ हाँक्नुपर्छ । पार्टी नेताकार्यकर्तालाई बेस्सरी प्रशिक्षण दिएर फलामे अनुशासनमा राख्नुपर्छ । सबैको घर, व्यवहार र अनुहारमा पारदर्शी ऐना राख्नुपर्छ । अन्यथा ऋतुहरू परिवर्तन भइरहन्छन् । राप र तापलाई इनर्जी बनाएर राजनीतिको फ्रेममा हाल्न सकिएन, वैचारिक पाइन लाउन सकिएन भने दुर्घटना कसैको बसमा रहन्न । 

अरूले गर्न नसकेको उसले गर्न सक्दैन भन्ने होइन तर जादुको छडी कसैसँग छैन । राज्यको पनि सामथ्र्यको कुरा आउँछ । व्यक्तिभन्दा प्रणाली बलियो बनाएर जानु सबैभन्दा उत्तम विकल्प हो । एउटा व्यक्तिलाई अतृप्त सपनाका सबै भारी उठाउन लगाइयो भने सही निष्कर्ष ननिस्कने सम्भावना धेरै हुन्छ । त्यस्ता व्यक्ति दुर्घटनामा परे, पलायन रोजे भने उसको मुद्दा र अभियान असमयमा समाप्त हुने स्थिति बन्नुहुन्न । राजनीति भेलबाडी होइन, गड्गडाएर सुकी जाने खहरे पनि होइन । अविरल बगिरहने नदी हो । राजनीतिको नदी सङ्लो र धमिलो भइरहन्छ, यो एउटा प्रक्रिया हो । नदी सङ्लो बनाउने प्रयत्न हुनुपर्छ । 

विस्थापन पुराना दलको विकल्प होइन । नयाँ मान्यता, शैली, नीति, नेता र नियत विस्थापित हुनुहुन्न । पुरानाहरू भिरमा पुगेर पनि फर्कन नजान्दा दुर्घटनामा परे । चुनाव मात्रै जित्ने, जसरी पनि जित्नुपर्ने खालको नयाँ दल राजनीति सचेत मान्छेले खोजेको होइन । उच्चतम आदर्श चाहिँदैन, न्यूनतम नैतिकता ख्याल गरिदिए हुन्छ । अनुपस्थितिमा उपस्थितिको ग्यारेन्टी खोजेको  हो । व्यक्तिलाई सम्बोधन नभएर मुद्दा र विषयलाई सम्बोधन भएन आजसम्म भन्ने सरोकार हो । व्यक्तिको प्रतिनिधित्व एउटा आवाज हो, मुद्दाको प्रतिनिधित्व सामूहिक र बृहत्तर आवाज हो । 

नयाँ दल पुरानोको विकल्प भनेको सुनिन्छ । यो भाष्यमा पनि परिवर्तनको खाँचो देखिन्छ । पुरानोको ठाउँमा नयाँ होइन । पुरानोको स्थानमा फरक सोच, दीर्घकालीन योजना, नयाँ शैली र स्वभाव पनि हो । दृष्टिकोण नै नयाँ हो । पुरानो बदलेर नयाँ नभएर पुरानै पनि नयाँ हुनु हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप