आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मन्त्री छनोट समावेशी नभएको भन्दै देउवामाथि खनिए परियार

बिहीबार, २१ वैशाख २०८०, १८ : २०
बिहीबार, २१ वैशाख २०८०

काठमाडौँ । मन्त्री सिफारिसका सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना भएको छ । बिहीबार देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा सहमहामन्त्री जीवन परियारले मन्त्री छनोट समावेशी नभएको भन्दै सभापति देउवामाथि प्रश्न उठाएका हुन् । 

सरकारमा कांग्रेसबाट दलित, मधेसी र पिछडिएका क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै उनले आक्रोश व्यक्त गरेका थिए । उनले भने, ‘हाम्रो पार्टीमा ८ वटा समावेशी कलस्टर बनाएका छौं । त्यसमा तीन वटा मात्र कलस्टर समेटिएको छ । भावनामा सबैको प्रतिनिधित्व गर्न हामी चुक्यौं ।’

जवाफमा देउवाले यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा सबैलाई समेट्ने बताएका थिए । ‘मन्त्रिपरिषद् अरू पटक पनि विस्तार हुन्छ । पछि सबैलाई समेटौला नि भन्नुभयो,’ परियारले भने ।

कांग्रेसबाट आठ जना मन्त्री सरकारमा सहभागी भएका छन् । उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस संघीय सरकारमा सामेल छ ।

यस्तै, कानुनमन्त्री धनराज गुरुङ, अर्थमन्त्रीमा प्रकाशशरण महत, परराष्ट्रमन्त्रीमा एनपी साउद, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल, स्वास्थ्यमन्त्री मोहन बस्नेत, सहरी विकास मन्त्रीमा सीता गुरुङ र खेलकुद मन्त्री डिगबहादुर लिम्बु नियुक्त भएका छन् । खड्का, महत, रिजाल, सीता गुरुङ चैत १७ गते र साउद वैशाख ३ गते मन्त्री नियुक्त भएका थिए । बुधबार धनराज गुरुङ, बस्नेत र लिम्बु मन्त्री नियुक्त भए ।

कांग्रेसबाट एक जना महिला र ३ जना आदिवासी जनजाति कलस्टरबाट मन्त्री बनेका छन् भने बाँकी ४ जना खसआर्यबाट मन्त्री बनेका हुन् । मधेसी, दलित, पिछडिएका क्षेत्र, थारु र मुस्लिम कलस्टरबाट कांग्रेसले एक जनालाई पनि मन्त्री बनाएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप