शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

रास्वपाले समर्थन फिर्ता लिँदापनि प्रचण्डको पक्षमा १५८ सांसदको समर्थन कायमै

शुक्रबार, २२ वैशाख २०८०, २० : २६
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समर्थन फिर्ता लिएपनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै रहेको छ । 

शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । 

रास्वपाले समर्थन फिर्ता लिएपनि सरकारको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसदको समर्थन कायमै छ । 

२७५ सदस्यीय प्रतिनिधि सभामा सरकार बनाउन र टिकाउन बहुमत अर्थात १३८ सांसद भए पुग्छ । 

अहिलेपनि सरकारको पक्षमा कांग्रेसका ८७, माओवादी केन्द्रका ३२, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमतका ६ सांसद छन् । यो बाहेक प्रभु साहको आम जनता पार्टीको १, जनमोर्चा १ र स्वतन्त्र सांसद अमे्रशकुमार सिंहको पनि प्रचण्डलाई समर्थन कायमै रहेको छ । यो सबै संख्या जोड्दा १५८ सांसदको सरकारलाई समर्थन कायम रहने देखिन्छ ।

गत पुस १० गते नेकपा एमालेसहितको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले पहिलो पटक पुस २६ गते विश्वासको मत लिँदा २६८ सांसदको साथ पाएका थिए । तर पछिल्ला दिनहरुमा सत्ता समीकरणमा आएको फेरबदलसँगै एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि गत चैत ६ गते दोस्रो पटक संसदबाट विश्वासको मत लिँदा प्रचण्डको पक्षमा २६२ सांसदले समर्थन जनाएका थिए । 

पछिल्लो पटक रास्वपाले समर्थन फिर्ता लिएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ । रास्वपाको यो निर्णयसँगै अव प्रतिपक्षमा नेकपा एमाले, रास्वपा, राप्रपा र नेमपिका गरी चार दल हुने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप