आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रास्वपाले समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने

शुक्रबार, २२ वैशाख २०८०, २० : ३२
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । संसदमा २१ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले फेरि विश्वासको मत लिनुपर्ने भएको छ । प्रचण्डले यसअघि नै दोहोर्‍याएर विश्वासको मत लिएकामा तेस्रो पटक पनि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । 

संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र  प्रधानमन्त्रीले विश्वास मत लिनुपर्ने व्यवस्था छ । 

जसअनुसार प्रधानमन्त्री प्रचण्डले अब फेरि ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने देखिएको हो । 

‘सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र  प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने छ’, संविधानको धारा १०० को उपधारा २ मा भनिएको छ ।   

यद्यपि रास्वपाको समर्थन फिर्ताका बीच प्रचण्ड नेतृत्वको सरकारसँग बहुमत कायमै रहेको छ । 

रास्वपाबाहेक नै हाल सरकारको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र स्वतन्त्र सांसद छन् । 

जसअनुसार प्रचण्डको पक्षमा १५८ सांसद पुग्ने देखिन्छ । जबकि प्रतिनिधिसभामा विश्वासको मत पाउन १३८ सांसद भए पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप