शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्मला हत्या प्रकरण : डीएनए परीक्षण गर्न थप ३ जनाको नमुना संकलन

शुक्रबार, २२ वैशाख २०८०, २० : ५७
शुक्रबार, २२ वैशाख २०८०

काठमाडौँ । रवि लामिछानेले उप–प्रधान एवं गृहमन्त्री नियुक्त भएसँगै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । 

लामिछानेको निर्णय अनुसार हत्या अनुसन्धानलाई प्रभावकारी बनाउन २०७९ पुस १५ मा डीआईजी दुर्गा सिंहको नेतृत्वमा नयाँ समिति बन्यो । समितिले डीएनए परीक्षण गर्न ५ जना शंकितको नमुना संकलन गरेर विधि विज्ञान प्रयोगशालामा पठाएको थियो । तर, ती सबैको डीएनए परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिक सहित ५ जनाको रगतको स्याम्पल संकलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो । गृह मन्त्रालयबाट रविको बहिर्गमनसँगै सो समिति निष्क्रिय भएको छ ।

समिति सक्रिय नभएपनि केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्या अनुसन्धान जारी राखेका छन् । निर्मला हत्याको अनुसन्धान पुरा गर्न प्रहरी प्रधान कार्यालयले २०७९ माघमा प्रहरी उपरीक्षक कमल थापालाई कञ्चनपुरमा सरुवा गरेको थियो । कञ्चनपुर इन्चार्ज थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोले सघाइरहेको छ ।

पछिल्लो समय प्रहरीले निर्मलाको हत्यामा संलग्न आशंकामा थप ३ जनाको रगतको नमुना संकलन गरेको छ । कञ्चनपुरका एसपी कमल थापा भन्छन्,‘विधिविज्ञान प्रयोगशालाबाट संकलित नमुनाको रिपोर्ट आएको छैन ।’

अनुसन्धान अधिकृतहरु पछिल्लो रिपोर्ट कुरिरहेका छन् । निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ वर्षिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म  १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।

आरोपी पहिचान नहुँदासम्म अनुसन्धान जारी राख्ने एसपी थापाले बताए । उनी भन्छन्–‘भजाइनल स्वाबसँग डीएनए मिल्नुको विकल्प छैन ।’

६ समिति

निर्मला पन्तको हत्याबारे यसअघि ६ वटा समितिले छानबिन र अनुसन्धान गरेका छन् । डीआईजी दुर्गा सिंहको नेतृत्वमा समिति छैटौं हो ।

२०७५ भदौ ६ मा सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वमा समिति बनेको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरु बस्न्यातको नेतृत्वमा ०७५ भदौ १४ मा छानबिन समिति बन्यो ।

२०७५ कार्तिक २७ मा राष्ट्रिय मानव अधिकार आयोगले समिति गठन गरेको थियो । ०७६ भदौ २६ मा डिएनए विज्ञ जीवन प्रसाद रिजालको नेतृत्वमा गठन भएको समितिले पनि घटनाबारे छानबिन गरेर सुझाव दिएको थियो ।

२०७६ माघ ११ मा तत्कालीन डिआईजी सुरज केसीको नेतृत्वमा बनेको पुनरावलोकन समितिले पनि प्रतिवेदन दिएको थियो ।

निर्मलाको हत्याबारे हालसम्म ८ वटा प्रहरी कार्यालयबाट ७८ जनाले अनुसन्धान गरेका छन् । केन्द्रीय अनुसन्धान ब्युरोबाट मात्रै ४४ जनाले घटनाबारे अनुसन्धान गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप