बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदलाई विद्युतीय हाजिरीको व्यवस्था गर्न सभामुखको निर्देशन

प्रधानमन्त्री र मन्त्री संसद् बैठकमा नियमित आउनुपर्ने
आइतबार, २४ वैशाख २०८०, १५ : ४९
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक बसेका बेला सांसदहरूलाई विद्युतीय हाजिरी गराउन निर्देशन दिएका छन् । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विभिन्न दलका प्रतिनिधिसँगको छलफलपछि सांसदहरूको उपस्थिति बढाउन विद्युतीय हाजिरीको व्यवस्था गर्न निर्देशन दिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । 

बैठकमा ई–हाजिरी सुरु गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने बारेमा छलफल भएको थियो । सो अवसरमा सभामुख घिमिरे भने–‘संसद्मा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद् सचिवालयलाई ई–हाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’ 

यस्तै सभामुख घिमिरेले नियमावली अनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु गर्ने बताएका छन् । कानुन मन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गर्ने र सरकार सदनप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा उपस्थिति बढाउन कानुन मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 

यस्तै सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति गठन प्रक्रिया तीन दिनभित्र टुङ्ग्याउने बताउँदै ती समितिका लागि दलहरूसँग सदस्यहरूको नाम समेत मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप