सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गभर्नर अधिकारीले भने–मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न सकिँदैन

आइतबार, २४ वैशाख २०८०, १९ : ५८
आइतबार, २४ वैशाख २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् । 

आइतबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताए ।   

उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताए । उनले मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै राष्ट्र बैंक सीमाभन्दा बाहिर गएर मौद्रिक नीतिले केही गर्नसक्ने अवस्था नभएको बताए । 

गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने उल्लेख गरे । उनले राष्ट्र बैंकले व्यवसायी स्वार्थका विषय कसैको केही कुरा नसुने बताए । मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हितमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गर्ने पनि उनले बताए ।   

गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताए । उनले राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको हितमा आवश्यक नीतिगत निर्णय गरिरहेको दाबी गरे । 

गभर्नर अधिकारीले नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोका कयौं विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको बताए । उनले बैंक, व्यवसायी लगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउनका लागि राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको उल्लेख गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप