बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

मङ्गलबार, २६ वैशाख २०८०, १५ : २४
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक व्यवस्था अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।  

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेपाल सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्माले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित हुने गरी सरकारले आम सञ्चारसँग सम्बन्धित नीति, कार्यक्रम, बजेट, नियमावली तर्जुमा गरी त्यसको व्यवहारिक कार्यान्वयनमा लैजान विशेष ध्यान दिएको पनि बताइन् ।  

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हर क्षण आवश्यक रहेकाले सरकारले त्यसको सुनिश्चित गरेर अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो । 

मन्त्री शर्माले मिडियाको प्रमोसनका लागि सरकारले केन्द्रित भएर काम गरिरहेको दाबी समेत गरिन् । पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि आम सञ्चार प्रशिक्षण प्रतिष्ठान बनाउने कुरालाई अघि बढाएको पनि उनले बताइन् ।  

मन्त्री शर्माले सञ्चार क्षेत्रसँग सम्बन्धित कानुन निर्माणका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुको सुझाव लिने गरी समितिनै बनाइएको स्मरण गराइन् । 

मन्त्री शर्माले सञ्चार क्षेत्रलाई पनि अन्य उद्योग सरह बैंकबाट लोन लिएर काम गर्न सक्ने व्यवस्था सरकारले गरेको पनि उल्लेख गरिन् । सरकारी सञ्चार माध्यामलाई सरकारको भजनमण्डली बनाउनु हुन्न भन्ने मान्यताको आधारमा प्रशारणसम्बन्धि विधेयक अघि बढाइएको उनले बताइन् । 

राजनीतिक स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अन्तरसम्बन्धित विषय भएकाले त्यसको हन्न हुन नदिन सम्बन्धित सबै पक्ष सचेत हुनुपर्ने आवश्यकता औँल्याइन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप