शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा साढे २ करोडभन्दा बढी मूल्यको अवैध सामान बरामद

मङ्गलबार, २६ वैशाख २०८०, २० : ०३
मङ्गलबार, २६ वैशाख २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने चोरीपैठारी नियन्त्रण गर्ने कार्यलाई तीव्रता दिएको छ । सो क्रममा सशस्त्र प्रहरीले करिब २४ घण्टाको बीचमा साढे २ करोडभन्दा बढी मूल्यको अवैध सामान तथा गाडी बरामद गरेको छ ।

सोमबार बिहान १० देखि मंगलबार बिहान ८ बजेसम्म देशभरिको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीका विभिन्न युनिटले २ करोड ५६ लाख ८४ हजार ४ सय २ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिएको हो ।

जसमा कोशी प्रदेशका इलाम, झापा, मोरङ र सुनसरी जिल्लास्थित युनिटले ४ लाख ८६ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

यसैगरी मधेस प्रदेश अन्तर्गत सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लास्थित युनिटले २४ घण्टाको बीचमा २ करोड ३६ लाख २८ हजार ८ सय १२ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही, कपिलवस्तु र बर्दिया जिल्लास्थित युनिटले १० लाख ७६ हजार ५५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली र कञ्चनपुरले सोही अवधिमा ४ लाख ९२ हजार ९ सय ३५ रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

बरामद सामानमा भन्सार छली र शंकास्पद कागजपत्र भएका ट्रक, हार्डवेयरका सामान लत्ताकपडा कस्मेटिक सामान लगायत रहेका छन् । बरामद सामान आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय तथा सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप