बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्षका युवकले ४८ वर्षकी पूर्व शिक्षिकासँग गरे विवाह

शुक्रबार, २९ वैशाख २०८०, १५ : ४१
शुक्रबार, २९ वैशाख २०८०

२२ वर्षका एक मलेसियाली युवक र ४८ वर्षकी उनकी पूर्व शिक्षिकाबीचको विवाह पछिल्लो समय चर्चाको विषय बनेको छ । 

मुहम्मद दानियल अहमद अलिले आफ्नी श्रीमती जामिला मोहदलाई पहिलो पटक सन् २०१६ मा भेटेका थिए । त्यति बेला जामिला उनको जुनियर हाई स्कुलमा मले भाषाकी शिक्षिका थिइन् । 

सुरुमा यी दुईबीच कुनै रोमान्टिक सम्बन्ध थिएन । यद्यपि, २२ वर्षका मुहम्मदले जामिलाको सबैलाई माया गर्ने स्वभावबारे भने आफूलाई सुरुवाती समयदेखि नै याद गरेको बताए ।

मोहम्मद फर्म–४ कक्षामा पढिरहेका बेला यी दुईबीचको सम्पर्क तोडियो ।  तर प्रधानाध्यापकको कार्यालयमा एक दिन अचानक जानुपर्दा उनले आफ्नी पूर्व शिक्षिकालाई याद गरेको बताए । त्यति बेला उनीहरूको ‘हाई, हेल्लो’ मात्रै भयो । तर फर्म–५ मा पुगेपछि भने मुहम्मदले जामिलालाई धेरै याद गर्न थाले । त्यही वर्ष उनले मुहम्मदलाई जन्मदिनको शुभकामना दिन मेसेज गरिन् । त्यसपछि यी दुईबीच च्याटिङ हुन थाल्यो । अन्ततः मुहम्मदले जामिलालाई आफ्नो भावना व्यक्त गरे । तर जामिलाले उनको प्रस्ताव अस्वीकार गरिन् । मुहम्मदको उमेर र आफूहरुबीच २६ वर्षको अन्तरका कारण जामिलाले मुहम्मदको प्रस्ताव अस्वीकार गरेकी थिइन् । 

‘मलाई उनी बस्ने ठाउँ थाहा थिएन, उनलाई हेर्न कता–कता पुगेँ तर भाग्यले मलाई डोहोर्‌यायो । उनको घर पत्ता लगाएँ,’ मुहम्मदले न्यु स्ट्रेट्स टाइम्सलाई भने । ‘त्यसपछि मैले उनलाई भेटेँ । हामीबीच निकै राम्रो कुराकानी हुन थाल्यो ।’

जामिलाले प्रस्ताव निरन्तर अस्वीकार गरे पनि मुहम्मदको मायामा कहिल्यै कमी आएन । अन्ततः उनको मायाको अगाडि जामिला नतमस्तक भइन् । आफ्नो परिवारको सहमतिमा यी दुईले सन् २०१९ मा विवाह गर्ने योजना बनाए । तर कोभिड–१९ को महामारीका कारण उनीहरुले आफ्नो विवाह सन् २०२१ का लागि सारे । यी दुईले जामेक बन्दार कोटा टिङ्गी मस्जिदमा नजिकका परिवार र साथीभाइको उपस्थितिमा विवाह गरे ।

‘उमेरलाई ठुलो कुरा मान्नु हुँदैन । श्रीमानको रूपमा आफ्नो जिम्मेवारी वहन गर्न म सधैँ अग्रसर हुनेछु,’ २२ वर्षका मुहम्मदले भने ।

जामिला मोहदको सन् २००७ मा पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद भएको थियो । त्यसयता उनी रोमान्टिक सम्बन्धभन्दा आफ्नो करियरमा केन्द्रित छिन् ।

‘कुराकानी गरौँ, एक–अर्कालाई चिनौँ भनेर धेरैले भने, तर मैले मानिनँ,’ मलेसियाकी ती महिलाले भनिन् । 

‘मेरो श्रीमान् आत्मविश्वासका साथ म भए ठाउँ आउँछन् । उनी गम्भीर छन् र आफ्नो परिवारसँग हाम्रो सम्बन्ध कहिल्यै लुकाउँदैनन् । मैले उनको प्रस्ताव स्वीकार गर्नुको एउटा कारण यो पनि हो,’ ४८ वर्षकी ती महिलाले भनिन् ।

पानीको प्लान्टमा काम गर्ने मुहम्मदले आफूले असाध्यै मन पराएकी महिलासँग विवाह गर्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छन् । आफूहरू बीचको २६ वर्षको अन्तरलाई वास्ता नगर्ने बताउँछन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप