बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटी उपाधिबाट एक जित टाढा

सोमबार, ०१ जेठ २०८०, ०६ : ४८
सोमबार, ०१ जेठ २०८०

लण्डन । इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनमाथि ३—० गोलको सजिलो जित हात पारेको छ । जितसँगै म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावना अझ बलियो बनाएको छ ।

म्यानचेस्टर सिटी अब प्रिमियर लिग उपाधिभन्दा केवल १ जित टाढा छ । यसअघि म्यानचेस्टर सिटीले ८ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साबिक विजेतासमेत रहेको म्यानचेस्टर सिटी ३५ खेलबाट ८५ अङ्क जोड्दै तालिकाको पहिलो स्थानमा छ ।

म्यानचेस्टर सिटीको निकटतम प्रतिद्वन्द्वी आर्सनलले भने  ३६ खेलबाट ८१ अङ्क बटुलेको छ । हारसँगै एभर्टन भने रेलिगेसनको खतरामा परेको छ । यद्यपि, अहिले एभर्टन रेलिगेसन क्षेत्रभन्दा बाहिर छ । एभर्टन ३६ खेलबाट ३२ अङ्क जोड्दै तालिकाको १७औँ स्थानमा आसीन छ ।

एभर्टनविरुद्धको खेलमा म्यानचेस्टर सिटीका लागि इल्की गुन्डोगानले २ गोलको योगदान गरे । ३२ वर्षीय जमर्न खेलाडी गुन्डोगानले खेलको दुवै हाफमा १/१ गोल गरेका थिए । उनले खेल सुरु भएको ३७औँ मिनेटमा टोलीका लागि पहिलो गोल गरे ।

निर्धारित समयको ३९औँ मिनेटमा २२ वर्षीय नर्वेजियन खेलाडी अर्लिङ हल्यान्डले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि निर्धारित समयको ५१औँ मिनेटमा गुन्डोगनले व्यक्तिगत रूपमा दोस्रो गोल थप्दै म्यानचेस्टर सिटीलाई सजिलो जित दिलाए ।

प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा रहेको म्यानचेस्टर सिटीले सन् २०२१ देखि लगातार उपाधि चुम्दै आएको छ । त्यसैले म्यानचेस्टर सिटी यतिबेला लगातार तेस्रो प्रिमियर लिग उपाधि जित्न आतुर देखिएको छ ।

म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आफ्नो अर्को खेल आगामी आइतबार चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ । त्यसअघि म्यानचेस्टर सिटीले आगामी बुधबार घरेलु मैदानमा स्पेनिस क्लब रियल मड्रिडसँग च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेग खेल खेल्नेछ । सेमिफाइनलको पहिलो लेग खेल १—१ गोलको बराबरीमा सकिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप