आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राप्रपा केन्द्रीय समिति बैठक

राप्रपाको गम्भीर आरोप– बाह्य दबाबबाट भ्रष्टाचारको छानबिन हुन थाल्यो

सोमबार, ०१ जेठ २०८०, २३ : ०५
सोमबार, ०१ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाहिरी दबाबबाट भ्रष्टाचारको छानबिन हुन थालेको गम्भीर आरोप लगाएको छ । 

आइतबारदेखि सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्खै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय भएको टिप्पणी गरेका हुन् । 

सरकारले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन गरिरहेको बेलामा राप्रपाको यस्तो धारणा आएको हो । ‘प्रचण्डको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा छ । सरकार निर्माण र विघटनमा बाह्य प्रभावका प्रसङ्ग चले जस्तै बाह्य दबाबबाट मात्र भ्रष्टाचारको छानबिन हुन थालेको प्रसङ्ग चल्नु राष्ट्रिय लज्जाको विषय हो’, लिङ्देनको प्रतिवेदनमा शरणार्थी प्रकरणमा भएको छानबिनलाई संकेत गर्दै भनिएको छ । 

कानुन हातमा लिने, अख्तियार दुरुपयोग गर्ने र आफूलाई विधिभन्दा माथि राख्ने लोकतन्त्रविपरीत मान्यता फस्टाएको राप्रपाको भनाइ छ । ‘सत्य, निष्ठा, इमान्दारीता, जवाफदेहीता दुर्लभ बस्तु बनेको छ । सानालाई ऐन, ठूलालाई चैन भन्ने अवस्था वर्तमान शासनको विशेषता बनेको छ’, राप्रपाको प्रतिवेदनमा भनिएको छ, ‘यो यथार्थ अवस्था दण्डहीनताको श्रृखलाहरूले आफैं प्रमाणित गरेको छ । धेरै पर जानै पर्दैन, वाइड बडीदेखि ललिता निवास जग्गा काण्ड, एनसेलदेखि क्यान्टोनमेन्ट घोटाला ध्यानमा लिने हो भने सत्यतथ्य सबै छर्लङ्ग हुन्छ ।’

विगतका ठूलठूला भ्रष्टाचार काण्डहरू सेलाएर जाने र ठूला माछाहरुलाई उन्मुक्ति दिने नजीरले गर्दा नक्कली शरणार्थी काण्डमा न्याय निसाफ हुन्छ भनेर नागरिक समाज अझैं आश्वस्त हुन नसकेको राप्रपाको जिकिर छ । 

राप्रपाले पार्टी सदैव भ्रष्टाचारका विरुद्धमा रहेको पनि उल्लेख गरेको छ । ‘‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ यो हाम्रो विश्वास र प्रतिबद्धता हो । हामी सदैव भ्रष्टाचारका विरुद्धमा छौं र रहन्छौं । भ्रष्टाचार देशको मुख्य शत्रु हो भन्ने कुरामा हामी स्पष्ट छौं । सबै कालखण्डमा भएका उच्चपदस्थ राजनीतिक पदाधिकारी र कर्मचारीहरूको सम्पत्ति छानबिन गरेर अवैध सम्पत्ति जफत हुनुपर्छ, राजनीतिक तथा नीतिगत तहमा हुने निर्णयबाट हुने नियोजित भ्रष्टाचार अख्तियार र कानुनको दायराभित्र आउनुपर्छ भन्ने मान्यतामा निरन्तर छौं’, राप्रपाको भनाइ छ । 

सबैखाले भ्रष्टाचारको विरुद्ध राप्रपा दृढ रहेको भन्दै राप्रपाले सडक र सदन दुबै मोर्चामा सशक्त भएर उभिने पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप