शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

सधैँ सत्ताको केन्द्रमा रहने टोपबहादुर यसरी पुगे प्रहरी हिरासतमा

सोमबार, ०१ जेठ २०८०, १६ : १५
सोमबार, ०१ जेठ २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पछिल्लो समय एमालेका प्रभावशाली नेताका रुपमा गनिन्थे । यद्यपि उनको ऐतिहासिक विरासत र योगदान भने एमालेको तुलनामा माओवादीमै बढी थियो ।

उनले आफ्नो राजनीतिक जीवनमा एमालेको तुलनामा माओवादीमा धेरै लगानी गरेका थिए । यद्यपि सत्ता र शक्तिकै सेरोफेरोमा बस्न रुचाउने उनी त्यही स्वभावका कारण तत्कालीन नेकपा खारेज भएपछि माओवादीमा नफर्किएर एमालेमै बस्न पुगे ।

तत्कालीन माओवादीमा हुँदा टोपबहादुर पार्टीका शीर्ष नेता डा. बाबुराम भट्टराईका विश्वासपात्र थिए । जब माओवादी छोडेर बाबुरामले नयाँ शक्ति पार्टी गठन गरी वैकल्पिक शक्ति निर्माणमा लागे, टोपबहादुरले शक्ति र सत्ताको लालचकै कारण भट्टराईको साथ छाडे ।

सत्ता र शक्तिमा रहने चाहनाका कारण नै त्यतिबेला उनले भट्टराईको साथ छाडेर प्रचण्डलाई रोजेको कतिपयको आकलन छ । ‘बाबुरामले नयाँ शक्ति गठन गर्ने भएपछि प्रचण्ड कमरेडले उहाँलाई रोक्न तत्कालीन केपी ओली नेतृत्वको सरकारमा उपप्रधान सहित ऊर्जा मन्त्री बनाउनुभयो । त्यसपछि उहाँले बाबुरामलाई छोड्नुभयो,’ माओवादीमा हुँदा टोपबहादुरसँग निकट भई काम गरेका एक नेताले भने, ‘२०७४ सालको चुनावपछि एमाले र माओवादीको संयुक्त सरकारमा उहाँ मन्त्री हुन खोज्नु भयो तर सक्नु भएन ।’

टोपबहादुर एमालेमा पुग्नुमा अर्घखाँचीको निर्वाचन क्षेत्रसमेत एउटा कारण भएको ती नेताको दाबी छ । उनका अनुसार अर्घखाँचीमा एमालेको जनमत राम्रो भए पनि प्रभाशाली नेता नभएकाले टोपबहादुरका लागि एमाले प्रवेश गरेर राजनीतिक रुपमा शक्तिकै वरिपरि रहने अवसर मिल्ने करिबकरिब निश्चित थियो । त्यतिबेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेको र माओवादीको एउटा प्रभावशाली नेताले माओवादी पार्टी छाडेर एमाले रोज्दा राम्रै प्रतिफल पनि पाउने देखेर नै टोपबहादुरले मौकाको फाइदा उठाएको ती नेता बताउँछन् ।

तर, माओवादी केन्द्रका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले टोपबहादुर सधैँ शक्तिमै हुन खोज्ने नेता भए पनि जनतासँग राम्रो सम्बन्धसमेत राख्ने गरेको बताए ।  सत्ता र शक्ति खोज्दै जाँदा टोपबहादुरलाई अहिले भुटानी शरणार्थी प्रकरणले जेलको यात्रासम्म पुर्‍याएको उपाध्यायले बताए ।

विद्यार्थी राजनीतिदेखि माओवादी शान्ति प्रक्रियासम्म आउँदासम्म टोपबहादुर सधैँ शक्तिमै बसेको उनको भनाइ छ । उपाध्यायले भने, ‘पार्टी राजनीतिमा लागेपछि सधैँ शक्तिमै हुनुभयो । कमजोर कहिल्यै देखिनु भएन ।’

जनयुद्धको कमारण्डरदेखि प्रहरी हिरासतसम्म 

तत्कालीन माओवादीका १९ जना केन्द्रीय सदस्यमा टोपबहादुरसमेत एक हुन् । २०४४ सालमा अनेरास्ववियु विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष भएका उनी २०४७ सालमा मोहनविक्रम सिंहसँग विद्रोह गरी हरिबोल गजुरेलको नेतृत्वमा प्रचण्डसँग एकतामा आएका थिए । मोहनविक्रमको साथ छोडेपछि बाबुरामसँग निकट हुन आएका उनले ओली नेतृत्वको सरकारमा उपप्रधानसहित ऊर्जा मन्त्री बनाएपछि बाबुरामसँगको साथ छाडेका थिए ।

तत्कालीन एकता केन्द्र बनेपछि संयुक्त जनमोर्चाबाट २०४८ सालमा अर्घाखाँचीबाट उम्मेदवार बनेका उनी पराजित भए । संयुक्त जनमोर्चाले ९ सिट ल्याउँदा टोपबहादुर फराकिलो मतान्तरले पराजित भएका थिए । तत्कालीन माओवादीले दीर्घकालीन जनयुद्धमा जाने तयारी गरेपछि टोपबहादुरले एक ढंगले मन मारिसकेको माओवादी नेता उपाध्यायले स्मरण गरे । ‘उहाँ जनयुद्धमा लाग्नु हुन्न कि भन्ने आशंका थियो । एमाले जाने चर्चा पनि उतिबेलै खुब चल्यो’ उपाध्यायले भने, ‘२०५१ सालमा जनयुद्धमा नजाने कि भनेर उहाँ अर्घा खानेपानी आयोजनाको अध्यक्ष हुनुहुन्थ्यो । प्रचण्डले सिधै सम्पर्क गरेर सक्रिय बनाएपछि जनयुद्धमा लाग्नुभयो ।’

माओवादी दीर्घकालीन जनयुद्धमा जाने निर्णयपछि टोपबहादुर सक्रिय भई भूमिका निभाएको उपाध्यायले बताए । लामो समय प्रवासमा बसे पनि २०५८ सालपछि   रोल्पा, रुकुम लगायत आधार इलाकामा नेतृत्व गर्न उनी आइपुगेका थिए । जनयुद्धमा कमिसारको भूमिकामा भए पनि सन्धिखर्क र म्याग्दीको बेनी आक्रमणमा उनी प्रत्यक्ष सहभागी भएका थिए । तत्कालीन सरकार र माओवादीबीच पटकपटक वार्ता हुँदा उनी वार्ता टोलीको सदस्यको भूमिकामा पनि रहे ।

माओवादी शान्ति प्रक्रियामा आएपछि टोपबहादुर अन्तरिम विधायक भई संसदमा प्रवेश गरे । संसद छिरेका टोपबहादुर त्यसपछि कहिल्यै संसद र सत्ता बाहिर बस्नु परेन । अन्तरिम विधायकसहित पाँच पटक सांसद र उपप्रधान सहित पाँच पटक मन्त्री हुन सफल भएका उनले २०७० सालको चुनावमा माओवादी तेस्रो शक्तिमा खुम्चिएपछि संसदीय दलको उपनेताको भूमिका निभाउने अवसरसमेत पाए ।  

माओवादी हुँदा प्रभावशाली भूमिकामा रहेका टोपबहादुर तत्कालीन नेकपा विभाजनपछि एमालेमा लागेका हुन् । नेकपा नेतृत्वको सरकार हुँदा नै नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका उनले सोही ‘मिसन’का खातिर एमाले रोजेर अन्ततः प्रहरी हिरासतमा पुगेको उनका निकट सहयोगीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप