शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
टिकापुर घटना

रेशम चौधरीलाई जन्मकैद गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर, अझै १४ वर्ष जेलमा बस्नुपर्ने

लक्ष्मण थारुको सजाय घट्यो, सीताराम र गंगाराम चौधरीले पाए सफाई
मङ्गलबार, ०२ जेठ २०८०, १८ : ३८
मङ्गलबार, ०२ जेठ २०८०

काठमाडौँ । टिकापुर नरसंहारका प्रतिवादी रेशमलाल चौधरीको जन्मकैदको फैसला सर्वोच्च अदालतले समेत सदर गरेको छ । मंगलबार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जन्मकैद गर्ने उच्च अदालत दिपायलको फैसला सदर गरेको हो । 

सर्वोच्च अदालतको फैसलामा जन्मकैदको सजाय सुनाइएका लक्ष्मण थारु चौधरीको हकमा भने जन्मकैदको फैसला उल्टाएर ज्यान मार्ने उद्योगमा ३ वर्षको मात्रै कैद सजाय सुनाइएको छ । 

त्यसैगरी प्रतिवादीमध्येका सिताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्च अदालतले सफाई दिएको छ । उनीहरुलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो । 

मंगलबार सर्वोच्च अदालतबाट जारी गरिएको संक्षिप्त आदेशमा तीनजनाको हकमा केही उल्टी भएपनि अन्य प्रतिवादीहरुको हकमा उच्च अदालत दिपायलकै फैसला सदर गरिएको छ । 

सर्वोच्च अदालतको फैसलासँगै तत्कालीन कानुनको आधारमा प्रतिवादी रेशमलाल चौधरीलाई २० वर्ष कैद सजाय हुनेछ । चौधरी २०७४ फागुन १४ गतेबाट जेलमा बसेका उनी सामान्य अवस्थामा जेलमुक्त हुन अझै १४ वर्ष जेल सजाय काट्नुपर्ने हुन्छ । चौधरी २०९४ साल फागुन १३ गतेसम्म जेलमै बस्नुपर्ने भएको छ । 

प्रतिवादीमध्येका लक्ष्मण थारु चौधरी हालसम्म पनि फरार भएको कारण अब उनले तीन वर्ष जेलमा बसेपछि जेलमुक्त हुन पाउनेछन् । यसअघि उनको हकमा कैलाली जिल्ला अदालतले तीन वर्षको जेल सजाय गरेको थियो भने उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो । 

कैलालीको टिकापुरमा २०७२ सालमा भएको नरसंहारमा प्रतिवादी रेशमलाल चौधरी, लक्ष्मण थारु लगायतका ६ जनालाई जन्मकैदको फैसला भएको थियो । कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसलामा चित्त नबुझाएर उनीहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले लक्ष्मण थारुको सजाय घटाई तीन वर्ष कायम गर्ने र सीताराम चौधरी र गंगाराम चौधरीको हकमा सफाई दिने फैसला गर्नुबाहेक अन्य प्रतिवादीको हकमा उच्च अदालतकै फैसला सदर गरेको छ । 

कैलाली जिल्ला अदालतमा दायर रिटमा ५८ जनालाई दोषी बनाई मुद्दा दायर गरिएको थियो । ५८ जनामध्ये ३१ इञ्जिनियर धनीराम चौधरी लगायत ३१ जना प्रतिवादी फरार रहेका थिए भने २७ जना प्रतिवादीलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरिएको थियो । कैलाली जिल्ला अदालतले फैसला गर्ने क्रममा रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीर बहादुर चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । लक्ष्मण थारुको हकमा तीन वर्षको कैद सजाय सुनाएको कैलाली जिल्ला अदालतको फैसलालाई समेत उल्टाएर उनलाई पनि जन्मकैदकै फैसला हुने उच्च अदालत दिपायलले फैसला गरेको थियो । 

त्यसैगरी प्रतिवादीहरु संगम भन्ने सन्तोष चौधरी, दिल बहादुर चौधरी र जित बहादुर चौधरीलाई जनही तीन वर्ष कैद सजाय गर्ने जिल्ला अदालतको फैसला उल्टाएर मुलुकी ऐन ज्यान सम्बन्धी महल अनुसार जनही दश वर्ष कैद सजाय हुने ठहर गरेको थियो । त्यसैगरी उनलीहरुलाई ज्यान मार्ने उद्योगमा थप ५/५ वर्षको कैद हुने फैसला गरिएको थियो । 

त्यसैगरी कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएका प्रतिवादीहरु सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियाको हकमा उच्च अदालत दिपायलले केही उल्टी गरी जनही ५ वर्षको कैद सजाय हुने फैसला सुनाएको थियो । 

त्यस्तै कैलाली जिल्ला अदालतले जनही ३ वर्ष कैदको फैसला सुनाएका प्रतिवादीहरु रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रेम बहादुर चौधरीको हकमा उच्च अदालतले जनही ५ वर्ष कैद गर्ने फैसला सुनाएको थियो । 

कैलाली जिल्ला अदालतले ३ वर्ष कैद सजाय सुनाएका प्रतिवादी विश्राम चौधरीका हकमा भने उच्च अदालत दिपायलले उल्टी गरी सफाई दिएको थियो । सर्वोच्चले दुईजना प्रतिवादीलाई अभियोग दाबीबाट सफाई दिने र लक्ष्मण थारुको हकमा जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला केही उल्टी गरी तीन वर्षको जेल सजाय कायम गर्नेबाहेक अन्यको हकमा उच्च अदालतकै फैसला सदर गरेको छ । मुल्तवीमा रहेका अन्य मुद्दाहरुको हकमा भने सुरु अदालतबाट सुनुवाइ र कारबाही हुनेछ । 

टिकापुरमा भएको थरुहट आन्दोलनको क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप