शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई बचाऊ गर्ने अवस्था छैन : सञ्चारमन्त्री शर्मा

शनिबार, ०६ जेठ २०८०, १४ : ५८
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कसैलाई पनि बचाऊ गर्न सक्ने अवस्था नरहेको बताएकी छन् । प्रेस सेन्टर नेपाल, प्रतिष्ठान प्रदेश समितिले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । नेपाल सरकारका प्रवक्ता समेत रहेकी उनले सरकारले आफैंभित्र त्यो देखिएपनि त्यसलाई कारबाही गरेर अघि बढने संकल्प लिएको पनि स्पष्ट पारिन् । सरकारले राम्रो कामको सुरुवात गरिरहेको दावी समेत गरिन् ।

मन्त्री शर्माले माओवादी मन्त्रीहरुले विगत र अहिले पनि अरु दलका मन्त्रीहरुले भन्दा रामो काम गरिरहेको जिकीर गरिन् । माओवादी पार्टीबाट मन्त्री बनेकाहरुले पनि बदमासी गरेको हुन सक्ने स्वीकार गर्दै उनले अरु दलका मन्त्रीहरुको तुलनामा भने कम गल्ती गरेको दावी गरिन् । उनले भनिन्, ‘अहिले सरकारले राम्रो सुरुवात गरेको छ । अस्ती हाम्रो प्रधानमन्त्रीले प्रश्नोत्तरको बेलामा बोल्नुभयो । त्यो बोलिरहँदा एउटा कन्डिशन के देखियो भने हिजोदेखि अहिलेसम्मका सरकार हेरौं । हिजो केपी ओलीले नेतृत्व गर्दाहोस्, शेरबहादुर देउवाले नेतृत्व गर्दाहोस् । जसले नेतृत्व गर्दा होस्–माओवादी मन्त्रीहरु त्यतिधेरै बदनाम छैनन् । राम्रो परिणाम हामीले कति निकाल्न सक्यौं, त्यो एउटा कुरा होला । तर बदमासी गरेको भन्ने कुरा अरुका तुलनामा छैनन् ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल बढी सुझबुझपूर्ण ढंगले अघि बढाएको भन्दै उनको प्रशंसा समेत गरिन् ।  ‘पछिल्लो समयमा नक्कली भुटानी शरणार्थीको विषय उठिराखेको छ । र, अस्ति प्रधानमन्त्री जसरी बोल्नुभयो संसदमा । त्यो देख्दा हामीलाई के आत्मविश्वास पैदा भएको छ भने हामी पनि बदमास रहेछौं भने पर्छौ भन्ने कुरा ग्यारेन्टी छ’ उनले भनिन्, ‘यसमा कसैले कसैलाई रक्षा गर्ने भन्ने कुरा आउँदैन । जनयुद्धका बेला अध्यक्ष प्रचण्डले भन्नुहुन्थ्यो– आफ्नो टाउकामा आफैं आगो लगाउने भन्नुहुन्थ्यो । हामी आफैंले आफैंलाई आगो लगाउन तयार भएनौं भने अरु विकृतिमाथि हामी आगो लगाउन सक्दैनौं । अहिले सरकारले राम्रो पहलकदमी लिएको छ ।  तर ती कामहरुको प्रचारप्रसार व्यवस्थित ढंगले हुन सकेको छैन । ’

मन्त्री शर्माले सरकारले राम्रो काम गरिरहेको उल्लेख गर्दै त्यसको प्रचारप्रसारको काम गरिदिन पनि सञ्चार माध्यामहरुलाई आग्रह गरिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप