बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

सेवाग्राहीको खाताबाट ९ लाख रुपैयाँ गायब

सोमबार, ०८ जेठ २०८०, १२ : १३
सोमबार, ०८ जेठ २०८०

रौतहट । माछापुच्छ्रे बैक चन्द्रनिगापुर शाखाबाट एक जना सेवाग्राहीको खाताबाट ९ लाख रकम गायब भएको घटना सार्वजनिक भएको  छ । वृन्दावन नगरपालिका–३ घर भएका  रामेश्वर राय यादव आइतबार चेक साट्न जाँदा खाताबाट रकम गायब भएको पत्ता लागेको हो । 

३ दिन अघि मात्र उनको खातामा १२ लाख २० हजार रकम जम्मा गरिएको थियो । बिहीबार बिहान यादव आफै १२ लाख २० हजार रकम माछापुच्छ्रे बैंकमा जम्मा गर्न चेक दिएका थिए । उनको खातामा पैसा जम्मा भएको म्यासेज मोबाइलमा शुक्रबार अपराह्न ३ बजे आएको यादवको भनाई छ। 

आइतबार कार्यालय समयमा ८ लाखको चेक लिएर बैंकमा साट्न जाँदा खाताबाट ९ लाख पैसा गायब भएको बैंकका कर्मचारीले बताएपछि आफू चकित भएको यादवको भनाई छ। यादवका अनुसार बैंकको शाखा प्रमुख रामजी दाससँग खाताबाट कसरी पैसा गायब भयो भनेर सोध्दा उनले ह्याकरले पैसा लगेको हुनसक्ने जवाफ दिएका थिए । पैसा हराउँदासमेत बैंकले बेवास्ता गरेको भन्दै स्थानीय तथा आफन्तले बैंकमा जम्मा भएर होहल्ला समेत गरेका थिए । 

लगत्तै इलाका प्रहरी चन्द्रनिगाहपुरबाट बैंकमा गएको प्रहरीको टोलीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । सेवाग्राही रामेश्वर यादवको खाताबाट तीनवटा नम्बरको मोबाइल प्रयोग गरी रकम निकालेको देखिन्छ। उनको खाताको रकम सिटिजन्स र सानिमा बैंकमा ट्रान्सफर भएको माछापुच्छ्रे बैंक चन्द्रनिगाहपुरका  प्रमुख दासले बताए । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी एकनारायण कोइरालाले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप