मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
खोप

पाठेघरको क्यान्सरविरुद्धको एचपीभी खोप राष्ट्रिय खोप अभियानमै समावेश गर्न माग

महँगो भएकाले एचपीभी खोप किन्न सक्दैन सरकार
मङ्गलबार, ०९ जेठ २०८०, १२ : १७
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले पाठेघरको क्यान्सर विरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप राष्ट्रिय खोप अभियानमा समावेश गर्न माग गरेकी छिन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद कार्कीले पाठेघरको क्यान्सरबाट महिलाहरू पीडित भई र ज्यान गुमाउने दर बढेकाले सरकारले एचपीभी खोपको व्यवस्था गर्न माग गरेकी हुन् । 

नेपालमा प्रत्येक वर्ष करिब २३ सय महिलामा पाठेघरको क्यान्सर हुने गरेको छ । जसबाट १५ सय महिलाले ज्यान गुमाइरहेको विभिन्न आँकडाले देखाउँछ । उता, विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्य राखेको छ ।

सरकारले  आर्थिक वर्ष २०७६/०७७ देखि हरेक वर्षको नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपीभी कार्यक्रम सञ्चालन गर्ने भनेपनि लागू गरेको छैन ।

विश्वमा सन् २००६ देखि एचपीभी खोप लगाउन सुरु गरिएपनि नेपालमा भने केही गैरसरकारी संस्थाबाट एकाध स्थानमा लगाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार सरकारले सन् २०१६/१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका बालिकामा पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप परीक्षण गरेको थियो ।

एचपीभी खोप ल्याउन सरकारी कठिनाइ

क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरेले सरकारले एचपीभी खोप प्राप्तिका लागि जतिसक्दो चाँडो गाभीसँग लबिङ गर्नुपर्ने बताउँछिन् । ‘गाभी एचपीभी खोप दिन तयार छ । सरकारी तवरबाट लबिङ गर्नुपर्छ ।’ उनले भनिन् ।

यस्तै, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका एक पूर्व प्रमुखले सरकारले एचपीभी खोप महँगो हुने भएकाले सबैले यो खोप लगाउन नसक्ने भएकाले लबिङ गर्नुपर्ने बताए ।

उनले भने, ‘सरकारले नियमित रूपमा १० देखि १५ वर्षसम्मका बालिकाकालाई नियमित खोप दिन सक्नुपर्छ । एचपीभी खोपका लागि बजेटमा २०/२२ करोड मात्रै छुट्याएर केही क्षेत्रका किशोरीलाई दिएर हुँदैन । सबै किशोर किशोरीलाई दिइने व्यवस्था मिलाउनुपर्छ ।’

क्यान्सर रोग विशेषज्ञ घिमिरेका अनुसार एचपीभीको दुई मात्रा खोप लगाउनुपर्छ । दुई मात्रा खोपको १२ हजार रुपैयाँ पर्छ । खोप र अन्य लागत गरी २० हजार रुपैयाँसम्म पर्छ । यसरी एचपीभी खोप महँगो पर्ने भएकाले सरकारले नै उपलब्ध गराउनुको विकल्प नभएको उनले बताइन् ।

‘विगतमा कास्की र चितवनमा एचपीभी खोप अभियान प्रभावकारी रूपमा सञ्चालन भयो,’ उनले भनिन्, ‘नेपालमा खोप लिने समस्या नभएकाले सम्बन्धित निकायले बलियो ढंगले गाभीलाई लबिङ गर्न आवश्यक छ ।’ 

एचपीभी खोपले के गर्छ ?

एचपीभी खोपले पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउँछ । एचपीभी भाइरसको विरुद्धको खोप भएकाले भाइरस शरीरमा छिर्नुभन्दा अगाडि लगाएमा मात्रै प्रभावकारी  हुने क्यान्सर रोग विशेषज्ञ डा घिमिरेको भनाई छ । 

‘शरीरमा भाइरस आउनु भन्दा अघि खोप लगाइने उमेर १५ वर्ष तोकिएको छ ।’ डा घिमिरेले भनिन्, ‘शारीरिक सम्पर्क हुनुभन्दा अगाडि नै यो खोप लगाउनुपर्छ ।’

विदेशमा बालिकाहरूलाई ९  वर्षमा लगाइने गरिएपनि नेपालमा भने १५ वर्ष तोकिएको छ । विदेशमा बालिकालाई मात्रै नभएर बालकलाई समेत यो खोप लगाइन्छ । 

पाठेघरमा क्यान्सर बनाउने भाइरस महिलामा पुरुषको माध्यमबाट सर्ने भएकाले पुरुषलाई पनि यस खोपको आवश्यक पर्ने उनले सुनाइन् । 

पाठेघरको क्यान्सर विरुद्धको खोप लगाएपनि पूर्ण रूपमा क्यान्सर लाग्दैन भन्ने सोच्न नहुने उनले बताइन् । खोप लगाएको ३० वर्षपछि पुनः नियमित पाठेघरको स्क्रिनिङ गर्नुपर्ने हुन्छ । 

एचपीभी खोप आउँदै 

परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा.अभियान गौतमका अनुसार असारसम्ममा एचपीभी खोप नेपाल आइपुग्छ । नेपालले खरिद गरेको एचपीभी खोप देशभरका किशोरीलाई नदिएर जिल्लाहरू छनोट गरी  दिइने छ । 

उनले भने, ‘खोप आगामी असारमा आउँछ होला । कुन कुन जिल्लामा एचपीभी खोप लगाउने भनेर स्वास्थ्य मन्त्रालयलाई फाइल पठाएका छौँ । खोप आएपछि सोहीअनुसार खोप दिइनेछ ।’ 

स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले ३० हजार भाइल खोप आउँदो असार महिनामा आइपुग्ने बताए । क्रमशः आउँदा वर्षमा एचपीभी खोप खरिद प्रक्रियालाई बढाइने सरकारको योजना भएको उनको भनाई छ । 

सरकारले एचपीभी खोप लगाउन सुरु गरेपछि गाभी लगायतका संस्थाले निःशुल्क उपलब्ध गराउन सक्ने उनको भनाइ छ । 

यस्तै, सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत महिलाहरूमा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान तथा प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमको रूपमा अघि बढाउने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप