सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कान्छी’बाट उत्कृष्ट नायक भएका शिव श्रेष्ठले सोचेका थिए–अवार्ड भुवनले पाउँछन्, मैले उनको सम्मानमा बोक्छु

मङ्गलबार, ०९ जेठ २०८०, १२ : ३३
मङ्गलबार, ०९ जेठ २०८०

चलचित्र क्षेत्र भनेको मनोरञ्जन मात्र होइन, यसले देशको कला–संस्कृति रीतिरिवाज पर्यटन प्रवर्द्धनका लागि ठुलो योगदान दिएको हुन्छ । चलचित्रले समाज र देशका लागि धेरै सकारात्मक सन्देश समेत दिएको हुन्छ, तर यही चलचित्र क्षेत्र हो, जहाँ धेरै विवाद समेत हुने गरेका उदाहरण प्रशस्त छन् । 

नेपाली चलचित्रको विकास, सम्मान र कामप्रति गर्ने प्रोत्साहनका लागि विभिन्न नामका अवार्ड निरन्तर सञ्चालन हुँदै आएका छन् । यो नेपाली चलचित्र उद्योगका लागि एउटा महत्त्वपूर्ण अङ्ग समेत हो । नेपाली चलचित्र निर्माणलाई उत्साह दिन कलाकार, निर्देशक, लेखक तथा अन्य विधालाई सम्मान, प्रोत्साहनका लागि आयोजना हुने अवार्ड चलचित्र क्षेत्रको एक महत्त्वपूर्ण कार्य समेत हो ।

नेपाली सिनेमा इतिहासमा पहिलोपटक चलचित्र ‘कान्छी’बाट शिव श्रेष्ठले उत्कृष्ट नायक र शर्मिला मल्लले उत्कृष्ट नायिकाको अवार्ड पाएका थिए । लायन्स क्लब विशाल बजारद्वारा २०४३ वैशाख १७ गते प्रज्ञा भवन काठमाडौँमा कार्यक्रम गरी अवार्ड वितरण गरिँदा बलिउडकी चर्चित अभिनेत्री शबाना आजमी प्रमुख अतिथि थिइन् । अवार्डको जुरीमा लैनसिंह बाङदेलसहित सात सदस्यीय समिति थियो । ‘गोरखापत्र’ र कामना’ पत्रिकाका पाठकबाट प्राप्त मतलाई समेत जुरीले गणना गरेको तत्कालीन विशाल बजार लाइन्स क्लबका उपाध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ बताउँछन् । त्यो बेला भने अहिले जस्तो अवार्ड पाउने कलाकार मात्र कार्यक्रममा पुग्ने प्रचलन थिएन ।

त्यो समयमा एक–अर्काका प्रतिस्पर्धीका रूपमा वरिष्ठ अभिनेताद्वय शिव श्रेष्ठ र भुवन केसी थिए । उनै दुईमध्ये एकले उत्कृष्ट अभिनेताको अवार्ड पाउने निश्चित थियो । यस अवार्डमा चलचित्र कुसुमे रुमालबाट भुवन केसी बढी आशावादी रहेको र अभिनेता शिव श्रेष्ठले पनि यो अवार्ड भुवन केसीले नै पाउने विश्वास लिएको भन्दै अवार्ड पाएपश्चात् आफूले भुवनलाई सम्मानका लागि बोक्ने सोचेको कुरा विभिन्न अन्तर्वार्ता र स्वयं लेखकलाई बताएका थिए । जब अवार्डको घोषणा हुने समय आयो, मञ्चबाट शिव श्रेष्ठ भनेर जब घोषणा भयो, आफूले नसोचेको कुरा सुन्दा भावुक भएको बताए । 

नरेन्द्रबहादुर श्रेष्ठका अनुसार, त्यतिबेला कुन अवार्ड कसले पाउने भन्ने जानकारी कार्यक्रममा घोषणा हुने बेला मात्रै थाहा हुन्थ्यो । तत्कालीन समयमा भएको पहिलो अवार्ड नै यति सभ्य र भव्य रूपमा सम्पन्न गरेका श्रेष्ठले अहिलेको अवार्डबारे बजारमा आउने हल्लाले दुःख लाग्ने बताउँछन् । यसरी नेपालको पहिलो अवार्ड उत्कृष्ट रूपमा आयोजना भएको थियो ।

नेपालमा हुने केही प्रमुख चलचित्र पुरस्कारमा राष्ट्रिय चलचित्र पुरस्कार, डी सिने अवार्ड, नेफ्टा फिल्म अवार्ड, कामना फिल्म अवार्ड, फान अवार्ड र बक्स अफिस फिल्म अवार्ड लगायत पर्छन् । योसँगै हरेक दिनजसो हुने अवार्डको यहाँ कुनै हिसाबकिताब र लेखाजोखा छैन ।

अवार्डमा वर्षभरिका उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता, अभिनेत्रीसहित अन्य विधामा पुरस्कार सम्मान दिने गरिन्छ । यो प्रशंसनीय कार्य हो, तर अचम्मित हुने कुरा के हो भने यस्ता अवार्ड फरक–फरक व्यक्तिले पाउने गरेको देखिन्छ । मनपरी यतिसम्म गरिन्छ, कुनै एक अवार्डमा उत्कृष्ट अवार्ड पाएको व्यक्तिले अर्को अवार्ड कार्यक्रममा नामै आउँदैन, उत्कृष्ट दशको सूचीमा समेत पर्दैन । यसले अवार्डप्रतिको विश्वसनीयतामा प्रश्नचिह्न खडा गरिदिएको हुन्छ । चलचित्र क्षेत्रमै काम गर्नेले विश्वास नगरेपछि झन् आमनागरिकले समेत नेपालमा हुने अवार्डप्रति विश्वास गर्ने कुरा भएन र गर्दैनन् पनि, यो चलचित्र क्षेत्रको एउटा गम्भीर विषय बनेको छ । 

दिनहुँ हुने अवार्ड कार्यक्रमलाई चलचित्र विकास बोर्डले विशेष मापदण्ड तय नगरे, यसले यो क्षेत्रमा ठुलो विकृति ल्याउने प्रायः निश्चित छ । कस्तो किसिमले कुन संस्थाले कसरी अवार्ड गर्ने गरेको छ र गर्नुपर्छ, यसबारे नियमावली बनाएर अवार्डलाई व्यवस्थित र मर्यादित बनाउन अब ढिला नगरी विकास बोर्ड लाग्नुपर्छ ।

पछिल्लो समय अवार्ड वितरण विवादित बनेको देखिन्छ । विभिन्न अवार्डको स्तरीयता र पारदर्शिता नहुने, आ–आफ्नालाई अवार्ड वितरण गर्ने र किनबेच समेत हुने गरेको स्वयं फिल्मीकर्मीले बताउँदै आएको समाचार सुनिन्छ । हरेक दिनजसो हुने यस्ता अवार्ड कार्यक्रमको कुनै लेखाजोखा छैन । केही अवार्ड कार्यक्रम त यसरी आयोजना हुने गर्छन्, अवार्ड पाउने कलाकारले आफूले पाएको अवार्डको जानकारी समेत सामाजिक सञ्जाल तथा समाचारबाट थाहा पाउने गरेको उदाहरण छन् । 

अचेल जसले अवार्ड पाउने सूचना पाएको हुन्छ, त्यो व्यक्ति मात्र अवार्ड कार्यक्रममा पुग्ने गरेको देखिन्छ । यसको दुईवटा कारण हुन्छ– एक, अवार्ड दिने सूचना पहिले नै गरिन्छ । दोस्रो, एकले अर्कालाई सम्मान नगर्ने एकले अर्कालाई स्वीकार नगर्ने संस्कारको विकास नेपाली चलचित्र क्षेत्रमा बढ्दै गएको छ । 

chakra bdr chand related

पछिल्लो समय यस किसिमका अवार्ड कार्यक्रममा राष्ट्र प्रमुखसहित विशिष्ट व्यक्ति बोलाएर कार्यक्रम आयोजना गरिन्छ, तर यसरी कार्यक्रम गर्दा ती अवार्ड कार्यक्रम मर्यादित हुँदैनन् । अवार्ड पाउने व्यक्ति समेत अनुपस्थित हुने गरेका छन्, जसका कारण अवार्ड वितरण गर्ने अतिथि नै बेकामे हुने गरेका प्रशस्त उदाहरण छन् ।  

अहिलेसम्म आयोजना भएका अवार्ड कार्यक्रमलाई हेर्दा अवार्ड आयोजना गर्ने आयोजक, जुरी, चलचित्रकर्मी र नेपाल चलचित्र विकास बोर्डको भूमिकाप्रति प्रश्न गर्ने बाटो प्रशस्त रहेका छन् । किन यस्ता अवार्ड आयोजकले खल्तीबाट झिकेर दिने किसिमले आयोजना गरिन्छ ? आमनागरिकले समेत यो कुरा बुझिसकेका छन् । पछिल्लो समय सरकारी उच्च ओहोदाका व्यक्ति बोलाएर कार्यक्रममा अवार्ड घोषणा पुरस्कार गर्ने अनि त्यसलाई प्रचारबाजी गरी विदेशमा समेत अवार्ड कार्यक्रम आयोजना गर्ने गरिन्छ । 

केही आयोजकले यी कार्यक्रममा मानव तस्करी समेत गर्ने गरेको फिल्म क्षेत्रकै केही वरिष्ठ व्यक्तिको गुनासो छ । आयोजकको नाममा होस् वा अवार्ड पाउनेको नाममा, यस्ता क्रियाकलाप हुने गरेको बताइन्छ, यसबारे राज्य मौन छ । यसरी अवार्डका नाममा हुने विकृति विसंगतिलाई नियमन गर्न नसके सम्मानका नाममा हुने कमाउधन्दा हुने र यसले चलचित्र क्षेत्रमा दूरगामी असर पार्ने निश्चित छ ।

चलचित्रको नियमन गर्ने संस्था नेपाल चलचित्र विकास बोर्डले एउटा कार्यविधि र मापदण्ड बनाएर अगाडि बढ्न जरुरी छ । चलचित्रकर्मी स्वयंले अवार्ड कार्यक्रमलाई मर्यादित र सम्मानित बनाउन लागिपर्नुपर्ने हुन्छ । नभए अवार्डको गरिमा दिनानुदिन घट्दै जानेछ । यसले नेपाली चलचित्र क्षेत्रको महत्त्वपूर्ण हिस्साप्रति आमनागरिकको हेर्ने दृष्टिकोणमा समेत नकारात्मक प्रभाव पर्नेछ । नेपाली चलचित्र उद्योगको विकासमा योगदान पु¥याउन यस किसिमका कार्यक्रमलाई सबै मिली मर्यादित बनाऔँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चक्र बहादुर चन्द
चक्र बहादुर चन्द
लेखकबाट थप