विद्यालय आउजाउ गर्न अब चार घण्टा हिँड्नु पर्दैन
कमलामाई । सिन्धुलीको मरिणको देउजोरबाट कपिलाकोट माध्यमिक विद्यालय पुग्न पैदल दुई घण्टा लाग्छ । रीतुमाया स्याङ्तानलाई विद्यालय आउजाउ गर्न चार घण्टाको बाटो हिँड्नुपर्छ । विद्यालय जानुअघि एक भारी घाँस काट्नु उनको दैनिकी हो । यसैगरी उनले कक्षा १० सम्मको पढाइ सकाए । कक्षा ११ पछि माथिल्लो कक्षा पढ्न मरिण गाउँपालिकाले निःशुल्क साइकल उपलब्ध गराएको छ । विद्यालय आउजाउ गर्न सहजताका लागि स्याङ्तानसँगै स्थानीय खयरसाल मावि र कपिलाकोट माविका कक्षा ११ मा अध्ययनरत एक सय ६० छात्रालाई साइकल वितरण गरिएको छ ।
“साइकल चलाउनुका फाइदैफाइदा छन् । स्कुल आउजाउ गर्न छिटो हुन्छ, शारीरिक कसरत पनि हुने भयो । यो वातावरणमैत्री पनि छ”, साइकल चलाउन सिक्दै गरेकी स्याङ्तानले भनिन् । रीतुमायालाई विद्यालय आउजाउ गर्न साइकल पाउँदा खुसी लागेको छ । दुःख साइकल चलाउने बाटोे कच्ची भएकामा छ । तल्लो देउजोरबाट माथिल्लो देउजोरसम्म (एक घण्टा) को बाटो साँघुरो र कच्ची भएकाले साइकल डोहोर्याएर हिँड्नुको विकल्प नभएको उनले बताए । साइकल दिएको स्थानीय सरकारले अब साइकल गुडाउने बाटो सुधार गरिदिनुपर्ने स्याङ्तानको भनाइ छ ।
मरिण बहुमुखी क्याम्पस पढ्न छोरीलाई कोठा खोजेर राखेका मरिण–२ सिर्थौलीका सुब्बा सिंह अब साइकलमा आउजाउ गराउने सोचमा हुन् । घरबाट विद्यालय पैदल आउजाउ गर्न छोरीलाई तीन घण्टा बढी लागेपछि कोठा भाडामा लिएर राखेका हुन् । पालिकाले दिइएको साइकलले छोरीमात्रै होइन, अभिभावक पनि खुसी छन् । “छोरीसित साइकल चलाउने सीप हुने भयो, थप पढ्ने हौसला बढ्यो । पढेर छोरीले साइकल पाइन् भनेर हामीलाई पनि हर्ष भयो”, सिंहले भनिन् ।
मरिणले गरेको कार्यको उनले प्रशंसासमेत गर्न भ्याए । मरिणले जस्तै अरु पालिकाले पनि प्रोत्साहनका कार्यक्रम ल्याउन उनको सुझाव छ । साना बालबालिकालाई पनि १० कक्षा पास भएपछि साइकल पाउने कुराले पढ्न हौसला मिल्ने उनको धारणा छ । मरिण गाउँपालिकाले सुरु गरेको ११ कक्षामा अध्ययनरत छात्रालाई साइकल वितरण र स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई रु एक लाख दिने कार्यक्रमले शैक्षिक सुधारमा मद्दत गर्ने मरिण बहुमुखी क्याम्पसका प्रमुख खेमहरि बराल बताउँछन् । उच्च शिक्षामा महिलाको पहुँच बढाउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताए
उनले भने, “गाउँपालिकाले शनिबार साइकल दिएको भए पनि छात्रा पदैल नै विद्यालयमा आइरहेका छन्, केही दिन सिक्न समय लाग्छ । आफैँ चलाउन सक्ने भएपछि साइकलमै विद्यालय आउजाउ गर्दछन् भन्ने हाम्रो विश्वास छ ।” आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रमअनुसार बजेट व्यवस्था गरेर कक्षा ११ मा अध्ययनरत छात्रालाई साइकल वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विर्मश मोक्तानले बताए । उनका अनुसार स्थानीय सरकारले सडक नपुगेको ठाउँमा कच्ची बाटो भने पनि खनेको छ । त्यसलाई क्रमशः स्तरोन्नति गर्दै लगिने छ ।
छात्राले एसइई दिएपछि पढाइ छाड्ने र सानै उमेरमा विवाह गर्नेको सङ्ख्या बढिरहेकाले छात्रा केन्द्रित कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मोक्तानले बताए । यी र यस्ता कार्यक्रमले स्नातक तह उत्तीर्ण गरेर परनिर्भर नहुने गरी विवाह गर्ने किशोरीको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण