आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

अमेरिकी राष्ट्रपति उम्मेदवारका लागि रिपब्लिकनबाट जसको नाम चर्चामा छ

बुधबार, १० जेठ २०८०, १२ : ३२
बुधबार, १० जेठ २०८०

काठमाडौँ । सन् २०२४ मा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । वर्तमान राष्ट्रपति जो बाइडेन पनि दोस्रो कार्यकालका लागि इच्छुक देखिएका छन् । ८० वर्षीय बाइडेन डेमोक्रेटिक पार्टीबाट पुनः अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन चाहन्छन् ।

अर्कोतिर, रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पनि दोस्रो पटक ह्वाइट हाउस प्रवेशका लागि इच्छुक देखिएका छन् । गत निर्वाचनमा बाइडेनसँग नै हारेका ट्रम्प चर्चामा अगाडि देखिए पनि कानुनी झमेलाका कारण उनको उम्मेदवारीको विषय अन्योलमा परेको छ ।

ट्रम्पका अतिरिक्त रिपब्लिकन पार्टीबाट अरू थुप्रै व्यक्तिहरू पनि आगामी राष्ट्रपति पदका लागि पार्टीभित्र हुने 'प्राइमरी' चुनावमा भाग लिन  कस्सिएका छन् ।  

रिपब्लिकन पार्टीबाट फ्लोरिडाका गभर्नर रोन डेसान्टिस पनि आगामी राष्ट्रपतिको दौडमा अगाडि देखिएका छन् । ४४ वर्षीय रोनले यसै साता औपचारिक रूपमा राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्ने अनुमान गरिएको छ ।

यसैगरी ५७ वर्षीय अमेरिकी उद्योगपति एवं राजनीतिज्ञ टिम स्कट पनि रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका लागि इच्छुक देखिएका छन् । उनले त सोमबार नै आगामी राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । 

राष्ट्रपति पदको आगामी निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट चर्चामा रहेका भारतीय मुलका दुइजना सहित केही सम्भावित उम्मेदवारको विषयमा यहाँ चर्चा गरिएको छ :

डोनाल्ड ट्रम्प

donald

डोनाल्ड ट्रम्प अमेरिकाका पूर्वराष्ट्रपति पनि हुन् । उनी दोस्रो कार्यकाल समाल्न ह्वाइट हाउस प्रवेश गर्ने अभियानमा छन् । चर्चामा पनि उनको नाम निक अगाडि छ । राष्ट्रपति पदका सम्भावित उम्मेदवारहरुको विषयमा गरिएको पछिल्लो सर्वेक्षणमा पनि ७६ वर्षीय ट्रम्प आफ्ना प्रतिद्वन्द्वीहरूभन्दा अगाडि देखिएका छन् । सर्वेक्षणमा उनले ५० प्रतिशतभन्दा बढी मत पाएका छन् । 

तर, उनी पछिल्लो समय एकपछि अर्को कानुनी विवादमा फसेका छन् । उनका विपक्षीहरूले यसलाई सबैभन्दा ठुलो मुद्दा बनाउने निश्चित छ । उनले पछिल्लो समय आर्थिक घोटाला, यौन दूर्व्यवहारजस्ता आरोपको सामना गर्नु परिरहेको छ । यस्ता कानुनी समस्याका कारण उनी अप्ठ्यारोमा छन् । यी मुद्दाहरू चर्को रूपमा उठेमा निर्वाचनको समयसम्म ट्रम्पलाई मतदाताले विश्वास गर्ने सम्भावना कम देखिन्छ ।  

रोन डेसान्टिस

रोन डेसान्टिस रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपति पदका लागि अर्का सम्भावित उम्मेदवार हुन् । ४४ वर्षीय रोन अमेरिकी आर्मीका पूर्वअधिकारी पनि हुन् । उनी अहिले फ्लोरिडाका ४६औँ गभर्नर पनि हुन् । उनले सन् २०१९ देखि उक्त पद समाल्दै आएका छन् । 

निकै लामो समयदेखि उनी आगामी राष्ट्रपति पदका लागि उम्मेदवार बन्ने कुरा चर्चामा थियो । पछिल्लो समय उनी आफैले पनि त्यसलाई पुष्टि गरेका छन् । उनले आगामी बुधबार राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा गर्ने सम्भावना छ । 

ron d

सन् २०१३ देखि सन् २०१८ सम्म उनी अमेरिकी तल्लो सदनका सदस्य पनि थिए । उनले आफूले मात्र आगामी राष्ट्रपतीय निर्वाचनमा बाइडेनलाई चुनौती दिन सक्ने दाबी गरेका छन् । यद्यपि, उनी गत नोभेम्बरमा मात्र फ्लोरिडाको गभर्नरमा पुनर्निर्वाचित भएका थिए ।

उनले जेसुकै दाबी गरे पनि राष्ट्रपतिको निर्वाचन जित्ने उनको सम्भावना कम देखिन्छ । पछिल्लो समय उनले गरेको केही कार्यहरूले समाजमा सकारात्मक प्रभाव छाडेको छैन । त्यसमध्ये एउटा हो, ६ साताको गर्भपतनमा प्रतिबन्ध लगाउने विषयमा उनले एक महिनाअघि गरेको हस्ताक्षर। 

माइक पेन्स

रिपब्लिकन पार्टीको तर्फबाट माइकल रिचर्ड पेन्स पनि आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार भन्ने तयारीमा छन् । उनी अमेरिकाका पूर्वउपराष्ट्रपति पनि हुन् । ६३ वर्षीय पेन्सले सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकाको ४८औँ उपराष्ट्रको जिम्मेवारी समालेका थिए ।

यद्यपि, उनले हालसम्म आगामी राष्ट्रपतीय निर्वाचनमा आफू उम्मेदवार बन्ने कुरा औपचारिक रूपमा बताएका छैनन् । तर, गत साता न्यू ह्याम्पसायरमा आयोजित एक कार्यक्रममा उनले आफू पनि राष्ट्रपति निर्वाचनमा उठ्न सक्ने सङ्केत भने गरेका थिए ।

mike pence

जनस्तरमा उनी खासै लोकप्रिय देखिएका छैनन् । खासगरी सामाजिक सुरक्षा र गर्भपतनको मुद्दामा उनी अलोकप्रिय बनेका छन् । रिपब्लिकन मतदाताहरुको विश्वास जित्न पेन्सले ठूलै संघर्ष गर्नु परिरहेको देखिन्छ । गत मार्चमा अमेरिकी म्यागजिन एटलान्टिकले आफूले रिपब्लिकन समूहहरुबीच गरेको सर्वेक्षणको निष्कर्षमा भनेको थियो, ‘माइक पेन्सलाई कसैले पनि मन पराउँदैन ।’

टिम स्कट

टिमोथी स्कट पनि रिपब्लिकन पार्टीको तर्फबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने अभियानमा छन् । ५८ वर्षीय स्कटले २ महिनाअघि नै आफू उम्मेदवार बन्ने सङ्केत गरेका थिए । उनले गत शुक्रबार संघीय निर्वाचन आयोगमा राष्ट्रपति पदको उम्मेदवार बन्न कागजी प्रक्रिया पूरा गरेका छन् ।

tim scott

उनले सोमबार चाल्र्सटन साउदर्न युनिभर्सिटिमा कार्यक्रम पनि आयोजना गरेका छन् । उनी वर्तमान सिनेटमा काला जातीबाट एकमात्र सिनेटर हुन् । स्कटले निर्वाचन प्रचारप्रसारलाई ध्यानमा राखी यसअघि नै लोवा र न्यू ह्याम्पसायर राज्यमा टेलिभिजन विज्ञापनका लागि समयसमेत खरिद गरिसकेका छन् । आफ्ना सहकर्मी सिनेटरहरुमाझ निकै लोकप्रिय रहे पनि उनी प्रारम्भिक मत सर्वेक्षणमा भने उनी अझै पछाडि देखिएका छन् । 

निकी हेली

सन् २०२४ मा हुने अमेरिकी राष्ट्रपति पदकी अर्की आकाङ्क्षी हुन्, निकी हेली । रिपब्लिकन पार्टीको तर्फबाट उनको नाम निकै चर्चामा छ । भारतीय मुलकी ५१ वर्षीया हेली अमेरिकी राज्य साउथ क्यारोलिनाकी पूर्वगभर्नर पनि हुन् । उनले सन् २०११ देखि सन् २०१७ सम्म साउथ क्यारोलिनाको १ सय १६औँ गभर्नरको रूपमा काम गरेकी थिइन् ।

उनी आफैले पनि राष्ट्रपति पदमा आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छन् । उनले अमेरिकाको सबैभन्दा कम उमेरको गभर्नर बन्ने कीर्तिमान पनि आफ्नो नाममा पारेकी थिइन् । उनी केवल ३९ वर्षको उमेरमा गभर्नर बनेकी थिइन् । अमेरिकी राष्ट्रिय राजनीतिमा उनले आफ्नो पहिचान त्यहीँबाट बनाउन सुरु गरेकी हुन् ।

nikki

उनले करिब २ वर्ष संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूतको भूमिका पनि निर्वाह गरेकी थिइन् । निकीको गृहराज्य साउथ क्यारोलाइना कन्जर्वेटिभ पार्टीको गडको रूपमा परिचित थियो । त्यस्तो अवस्थामा पनि उनले गभर्नर पदको निर्वाचन जितेर आफ्नो लोकप्रियताको उदाहरण दिएकी थिइन् ।

निकीले आफ्नो छवि रुढीवादी नेताको रूपमा बनाएकी छन् । गभर्नरको भूमिकामा रहँदा उनले ठुला व्यापारी र उद्योगपतिलाई आफ्नो राज्यमा भित्राउन विशेष योजना अगाडि सारेकी थिइन् । उनले आफ्नो राज्यमा उद्योग स्थापना गर्न चाहने व्यापारी र उद्योगपतिलाई थुप्रै क्षेत्रमा सहुलियत पनि उपलब्ध गराएकी थिइन् । 

साउथ क्यारोलाइना राज्यमा गर्भपतन सम्बन्धी विधेयक रोक्नमा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । आप्रवासीहरूको मुद्दामा पनि निकी निकै कठोर छिन् । राष्ट्रपति बाइडेनको आप्रवासी नीतिप्रति उनी खरो रूपमा प्रस्तुत हुने गरेकी छन् ।

पछिल्लो समय अमेरिकामा बन्दुक आक्रामणका घटनाहरू सामान्य भएका छन् । त्यसैले बन्दुकमाथि नियन्त्रण गरिनुपर्ने विषय पनि अमेरिकामा चर्को रूपमा उठ्न थालेको छ । तर, निकी यसको विपक्षमा देखिएकी छन् । अमेरिकी नागरिकले बन्दुक राख्न पाउनुपर्ने कुराको वकालत गर्छिन्, उनी । खासगरी राष्ट्रपति पद समाल्न बाइडेन र ट्रम्पको उमेर बढी भएकाले अब युवाहरू अगाडि आउनुपर्ने उनी बताउँछिन् । अमेरिकाको आगामी राष्ट्रपति बन्ने दौडमा रहेकी उनी एकमात्र महिला हुन् ।

विवेक रामास्वामी

विवेक गणपथी रामास्वामी पनि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति बन्ने होडमा छन् । भारतीय मुलका ३७ वर्षीय विवेक उद्योगपति पनि हुन् । बायोटेक संस्थापक र लेखक विवेकको विचार धेरै हदसम्म ट्रम्पसँग मिल्ने गरेको पाइन्छ । 

उनी धेरै कुरामा पूर्वराष्ट्रपति ट्रम्पको प्रशंसा गर्छन् । उनले दिएका थुप्रै अन्तरवार्तामा पनि ट्रम्पको मुक्त कण्ठले प्रशंसा गरिएको हुन्छ । उनी ट्रम्प र आफूबीच गहिरो पारस्परिक मित्रता रहेको बताउँछन् । 

vivek

३७ वर्षीय विवेक भारतीय मूलका अमेरिकी हुन् । उनी एफबीआई, आईआरएस र शिक्षा विभागजस्ता निकायहरू बन्द गरिनुपर्ने कुराको वकालत गर्छन् । उनी संघीय वर्कफोर्सप्रति पनि खासै सकारात्मक देखिँदैनन् । राष्ट्रिय राजनीतिमा भने उनी खासै लोकप्रिय देखिँदैनन् । 

विवेकले ६ साता पुगिसकेपछि गर्भपतन गर्न नपाउने विधेयकको समर्थन गर्ने बताएका छन् । तर, यसका लागि बलात्कार, अवैध सम्बन्ध र महिलाको जीवनलाई भने प्राथमिकता दिइनुपर्ने उनको तर्क रहँदै आएको छ । 

असा हचिन्सन

अर्कान्ससका पूर्वगभर्नर विलियम्स असा हचिन्सनले पनि रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी अमेरिकी उद्योगपति र कानुन व्यवसायी पनि हुन् । ७२ वर्षीय हचिन्सन सन् २०१५ देखि सन् २०२३ सम्म अर्कान्ससको ४६औँ गभर्नरको रूपमा कार्य गरेका थिए ।

आगामी कार्यकालका लागि ह्वाइट हाउस प्रवेशको दौडमा रहेका हचिन्सनले गत महिना नै आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । उनी अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पभन्दा आफू धेरै कुरामा फरक रहेको देखाउने प्रयास गर्छन् । 

asa

हचिन्सनसँग सार्वजनिक सेवामा निकै लामो समय काम गरेको अनुभव छ । उनीसँग कंग्रेस सदस्य, अमेरिकाको महान्यायाधिवक्ता, औषधि प्रवर्द्धन प्रशासक र होमल्यान्ड सुरक्षा विभागको उपसचिव भएर काम गरेको अनुभव पनि छ ।

अर्कान्ससको गभर्नरका रूपमा उनले गर्भपतनलाई पूर्णरुपमा प्रतिबन्ध लगाइनुपर्ने विधेयकमा हस्ताक्षर गरेका थिए । उनले बलात्कार, अवैध सम्बन्धजस्ता अपवादलाई पनि गर्भपतनको आधार बनाउन नहुने धारणा राख्दै आएका छन् । राष्ट्रपति पदको निर्वाचनमा आफू उम्मेदवार बन्ने बताए पनि राष्ट्रिय राजनीतिमा उनको खासै प्रभाव देखिएको छैन ।

क्रिस सुनुनु

क्रिस्टोफर थोमस सुनुनु अमेरिकी राजनीतिज्ञसँगै पेसाले इन्जिनियर पनि हुन् । ४८ वर्षीय सुनुनु पनि आगामी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उम्मेदवार बन्दैछन् । न्यू ह्याम्पसाइरका गभर्नर पनि हुन्, सुनुनु ।

उनी सन् २०१७ देखि हालसम्म गभर्नरको भूमिकामा सक्रिय छन् । आगामी राष्ट्रपति पदमा उम्मेदवार बन्न उनले आफ्नो प्रचारप्रसार पनि सुरु गरिसकेका छन् । उनले गत अप्रिलमा सीएनएनसँग कुरा गर्दै आफू राष्ट्रपति पदमा उम्मेदवार बताएका थिए ।

chris

तर, उनी पछिसम्म यो दौडमा कायम रहनेमा आशङ्का व्यक्त गरिएको छ । यद्यपि, आफ्ना केही कार्यका कारण उनी मतदातामाझ लोकप्रिय भने छन् । खासगरी गर्भपतन सम्बन्धी विषय र कोभिड—१९ महामारीका समयमा उनले निर्वाह गरेको भूमिका प्रभावकारी थियो ।

राष्ट्रपति उम्मेदवारको दौडमा रहेका रोन डेसान्टिससँग पनि उनको घनिष्ठ सम्बन्ध छ । त्यसैले पनि उनको उम्मेदवार बन्ने विषयमा आशङ्का व्यक्त गरिएको छ । गत साता रोन डेसान्टिस न्यू ह्याम्पसाइर भ्रमणमा गएका थिए । त्यतिबेला उनले सुनुनुलाई पनि भेटेका थिए । त्यतिबेला पनि उनीहरूले आफूहरुबीच राम्रो सम्बन्ध रहेको बताएका थिए ।

डुग बर्गुम

डगलस जेम्स बर्गुम अमेरिकी राजनीतिज्ञसँगै चर्चित उद्योगपति पनि हुन् । ६६ वर्षीय बर्गुम पनि राष्ट्रपति पदमा उम्मेदवार बन्ने दौडमा छन् । उनी नर्थ डकोटाका ३३औँ गभर्नर पनि हुन् । सन् २०१६ मा पहिलो पटक गभर्नर बनेका बर्गुम हालसम्म उक्त भूमिकामा सक्रिय छन् । 

doug

उनले गत सातामात्र राष्ट्रपति पदको उम्मेदवार बन्ने विषयमा आफूले सोचिरहेको बताएका थिए । यद्यपि, उनले औपचारिक रूपमा भने उम्मेदवार बन्ने घोषणा गरेका छैनन् । गत साता उनले स्थानीय एक समाचारपत्रसँगको कुराकानीमा उम्मेदवार बन्ने विषयमा आफूले सोचिरहेकोसम्म बताएका थिए ।

गर्भपतनको विषयमा भने उनी पनि कडा रूपमा प्रस्तुत हुने गरेका छन् । उनले गत अप्रिलमा नर्थ डकोटा राज्यमा गर्भपतनमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका थिए ।  

ग्लेन याङ्किन

रिपब्लिकन पार्टीबाट ग्लेन योङ्किन पनि राष्ट्रपति पदको उम्मेदवार बन्ने अभियानमा होमिएका छन् । उनी कुशल राजनीतिज्ञसँगै अमेरिकाका प्रतिष्ठित उद्योगपति पनि हुन् । यसका अतिरिक्त उनी भर्जिनियाका ७२औँ गभर्नर पनि हुन् । 

glenn

५६ वर्षीय ग्लेन याङ्किन सन् २०२२ मा भर्जिनियाका गभर्नर बनेका थिए । उनले औपचारिक रूपमा भने आफू उम्मेदवार बन्ने घोषणा गरेका छैनन् । गत महिना आयोजित एक कार्यक्रममा उनले राष्ट्रपति पदको उम्मेदवार बन्ने आफ्नो कुनै योजना नरहेको बताएका थिए ।

तर, गत बिहीबार उनले सामाजिक सञ्जाल ट्वीटरमा करिब एक मिनेट लामो भिडियो सन्देश जारी गर्दै आफू पनि उम्मेदवार बन्न इच्छुक रहेको बताएका छन् । राष्ट्रिय राजनीतिमा खासै प्रभावकारी पकड नरहे पनि आफ्नो राज्यभित्र भने उनी निकै लोकप्रिय छन् । 

क्रिस क्रिस्टि

क्रिस्टोफर जेम्स क्रिस्टि अमेरिकी राजनीतिज्ञसँगै चर्चित कानुन व्यवसायी पनि हुन् । ६० वर्षीय क्रिस्टोफर न्यू जर्सीमा पूर्वगभर्नर पनि हुन् । उनी पनि रिपब्लिकन पार्टीको तर्फबाट आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुक देखिएका छन् । 

ch crist

राजनीतिक नेतृत्व गर्नसक्ने विशेष खुबीका कारण उनी लोकप्रिय पनि छन् । आफ्ना राजनीतिक र सामाजिक मुद्दाहरूलाई कुशलतापूर्वक लागू गराउन सक्ने क्षमता पनि उनीसँग छ । सन् २०१० देखि सन् २०१८ सम्म न्यू जर्सको गभर्नर हुँदा पनि उनले गरेका कामहरूको आलोचनाभन्दा पनि प्रशंसा नै बढी भएको थियो ।

उनी पूर्वराष्ट्रपति ट्रम्पको असल सहयोगीका रूपमा पनि परिचित छन् । चारैतिरबाट ट्रम्पमाथि आक्रमण भइरहँदा उनले आफ्नै अग्रसरतामा एबीसी न्युजसँग आबद्ध भएर उनको बचाउ पनि गरेका थिए । तर, पछि उनी ट्रम्पको आलोचकका रूपमा देखा परेका थिए । 

आगामी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी नहुने उनको धारणा रहँदै आएको छ । यद्यपि, उनी आफैले औपचारिक रूपमा भने आगामी निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छैनन् । 

ल्यारी एल्डर

आगामी राष्ट्रपतीय निर्वाचनका लागि लाउरेन्स एलन एल्डरको नाम पनि चर्चामा छ । उनको नाम रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति उम्मेदवारको रूपमा चर्चामा ल्याइएको छ । ७१ वर्षीय एल्डर पुरातन विचारका संवाहकको रूपमा परिचित छन् ।

larry

उनी परम्परागत विचारहरुलाई प्रोत्साहन गर्ने ‘दि ल्यारी एल्डर सो’ का सञ्चालक पनि हुन् । उक्त कार्यक्रम उनी क्यालिफोर्नियामा चलाउँथे । गत अप्रिलदेखि उनको नाम राष्ट्रपति पदको उम्मेदवारको रूपमा चर्चामा छ । 

उनी आफैले पनि उम्मेदवार बन्न उम्मेदवार बन्ने घोषणा गरेका छन् । उनले पछिल्लो समय अमेरिका पतनको मार्गमा अग्रसर रहेकाले त्यसबाट जोगाउन पनि आफ्नो उम्मेदवारी आवश्यक रहेको तर्क गर्ने गरेका छन् । रेडियो कार्यक्रमका सञ्चालक भएकाले पनि उनी लोकप्रिय छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप