बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली भुटानी शरणार्थी प्रकरण

नैतिक सङ्कटमा अख्तियारका प्रमुख आयुक्त र प्रहरी प्रमुख

अनैतिक नगरेपछि नैतिक प्रश्न आउने कुरा नै भएन नि : प्रमुख राई, आईजी भन्छन्, ‘पुष्टि गरुन्, जेल जान तयार छु’
बुधबार, १० जेठ २०८०, १३ : १५

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको नाम समेत मुछिएको छ । यस प्रकरणमा मुख्य केशव दुलाल र तत्कालीन गृहसचिव टेक नारायण पाण्डेबीच भएको कुराकानीमा हालका आईजीपी बसन्त कुँवरको नामसमेत जोडिएको छ । यद्यपि पक्राउ परेका आरोपितहरुले भने आईजीपी बसन्त कुँवरको नाम पोलेका छैनन् । 

सरकारी वकिल कार्यालय काठमाडौँलाई जिल्ला प्रहरी परिसर काठमाडौँले बुझाएको मिसिल कागजातमा तत्कालीन गृहसचिव टेक नारायण पाण्डे र गिरोहका मुख्य सदस्य केशव दुलालबीच भाइबरमा भएको कुराकानीको केही अंश समावेश गरिएको छ । समावेश भएको कुराकानीमा हालका आईजीपी बसन्त कुँवरको नामसमेत लिइएको छ । 

रातोपाटीलाई प्राप्त म्यासेजको स्क्रिनसटमा २०७९ असार महिनामा पाण्डे र दुलालबीच कुराकानी भएको देखिन्छ । तत्कालीन समयमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख थिए, एसएसपी बसन्त कुँवर । तर कुँवरलाई सरकारले डीआईजीमा बढुवा गर्ने सिफारिस गरिसकेको थियो । त्यही भएर कुराकानीका क्रममा पनि कुँवरलाई डीआईजी नै भनी सम्बोधन गरिएको छ ।

२०७९ असार ८ गते भएको कुराकानीको स्क्रिनसटमा केशव दुलालले सचिव टेकनारायण पाण्डेलाई भाइबरमा पठाएको म्यासेजमा ‘सर, बसन्त सरलाई पनि फाइनान्सियल सपोर्ट हुन्छ भनिदिँदा हुन्छ हजुर’ भनेका छन् । त्यसको जवाफमा पाण्डेले ‘हुन्छ’ भन्ने जवाफ फर्काएका छन् । सोही कुराकानीका क्रममा एसपी जयको पनि नाम लिइएको छ । कुराकानी हेर्दा एसपी जयको बढुवाका सम्बन्धमा कुराकानी भएको बुझिन्छ । 

त्यसपछि दुलालले टेक नारायण पाण्डेलाई २०७९ असार १० गते बिहान १०ः१२ बजे पठाएको म्यासेजमा ‘सर नमस्ते, डीआईजीपी वसन्त कुँवरसँग कुरा भयो हजुर ?’ भनी सोधेका छन् । त्यसको जवाफमा तत्कालीन गृहसचिव पाण्डेले ‘म गर्छु, १२ बजेपछि जानु न’ भनी जवाफ फर्काएका छन् । 

त्यसको जवाफमा केशव दुलालले ‘ओके हजुर’ भनी जवाफ फर्काएका छन् । त्यसको डेढ घण्टापछि सचिव पाण्डेले केशव दुलाललाई म्यासेज पठाएर ‘पठाउनु, कुरा भा’को छ भनेका छन् । उक्त म्यासेज ११ः४७ बजे पठाइएको छ ।  

त्यसपछि फेरि असारको १३ गते सचिव पाण्डे र बिचौलिया दुलालबीच कुराकानी भएको छ । असार १३ गते अपराह्न १३ः१६ बजेको कुराकानीमा केशवले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बसन्त कुँवरको मोबाइल नम्बर माग गरेका छन् । केशवले ‘सर नमस्ते, हामीलाई केही खबर आएको छैन, बसन्त सरको नम्बर सेण्ड गरिदिनोस् न, सानुजी लाई कल गर्न लगाउँछु हजुर’ भनी म्यासेज पठाएका छन् । त्यसको जवाफमा पाण्डेले ‘हस्’ मात्रै भनेका छन् । पछि १४ः५३ बजे पाण्डेले कुँवरको मोबाइल नम्बर पठाएका छन् । 

tn-pandey-viber

अपराध महाशाखामा उजुरी र अनुसन्धान

नक्कली भुटानी शरणार्थी प्रकरणबारे सुरुमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमै उजुरी परेको थियो । हाल आईजीपी रहेका बसन्त कुँवर एसएसपी भई उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा २०७९ जेठ १८ गते नक्कली भुटानी शरणार्थी प्रकरणको उजुरी परेको थियो । तर उजुरीमाथि प्रारम्भिक अनुसन्धान सुरु नहुँदै एसएसपी कुँवरको डीआईजीमा बढुवा सिफारिस भएपछि उनले उक्त विषयमा राम्रोसँग अनुसन्धान गर्न नै नपाएको रातोपाटीलाई बताएका छन् । 

आईजी कुँवर भन्छन्, ‘आरोप प्रमाणित भए जेल जान तयार छु’

केशव दुलाल र टेक नारायण पाण्डेबीचको कुराकानीमा तपाईंको नाम पनि मुछिएको छ, विषय के हो भन्ने रातोपाटीको प्रश्नमा त्यस्तो कुरा आफूले पनि समाचारमा देखेको तर त्यो प्रकरणमा आफ्नो कुनै भूमिका नभएको बताए । उनले भने, ‘मेरो नाम कसैले लिएको भन्ने कुरा मैले पनि समाचार नै हेरेर थाहा पाएको हुँ । यसमा मेरो कहीँ कतै कमजोरी छैन । कसैले मलाई गलत प्रमाणित गर्न सक्छ भने म जेल जान तयार छु ।’

टेक नारायण पाण्डे र तपाईंबीच के कुराकानी भएको हो भन्ने रातोपाटीको प्रश्नमा आईजीपी कुँवरले आफू र तत्कालीन गृहसचिव पाण्डेबीच यस विषयमा कुनै कुराकानी नै नभएको बताए । कुँवरले भने, ‘म त्यतिबेला उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा वा त्यहाँबाट बढुवा भई हेडक्वार्टरमा जाँदा पनि मेरो उहाँसँग कुनै कुराकानी नै भएन । गृहसचिवले मसँग वा मैले गृहसचिवसँग कुराकानी गर्नुपर्ने कुनै कारण नै हुँदैनथ्यो । त्यही भएर केही कुरा हुनुपर्ने कारण नै छैन ।’

तर गृहसचिव पाण्डेले त तपाईंसँग कुरा भयो, भेट्न जानु भनेका छन् नि भन्ने प्रश्नमा आईजीपी कुँवरले भने, ‘पाण्डेले मसँग कहिले कुरा गरेका रहेछन्, मेरो के कुरा भएको रहेछ, खोजेर ल्याए भइहाल्छ त । हुँदै नभएको कुरा कहाँबाट कसरी ल्याउने रहेछन् कुन्नी ?’

असार १३ गते सानु भण्डारीले तपाईंसँग भेटेको कुरा छ नि त भन्ने प्रश्नमा पनि आईजीपी कुँवरले आफूले केशव दुलाल, सानु भण्डारी र टेक नारायण पाण्डेसँग कहिल्यै कुरा नगरेको र नक्कली भुटानी शरणार्थी प्रकरणमा उजुरीको अध्ययन हुँदै गर्दा आफ्नो बढुवा भएको कारण आफूले नै त्यस विषयमा अनुसन्धान गर्न एसएसपी मनोज केसीलाई भनेको बताए ।

कुँवरले रातोपाटीसँग भने, ‘मनोज केसी अहिले पनि उपत्यका अपराध अनुसन्धान कार्यालयमै हुनुहुन्छ । उहाँलाई सोध्नुभए हुन्छ मैले यो विषयमा के के कुरा गरें भनेर । उहाँलाई सोध्नुहोस्, यस विषयको अनुसन्धान गर्न मैले नै सहयोग र निर्देशन दिएको हुँ । पहिलो चरणमा आरोपीहरु पक्राउ गर्ने समयमा पनि मनोज केसीसँग छलफल भएरै काम भएको हो ।’

तपाईंको कुनै संलग्नता वा भूमिका नभए तपाईंको नाम किन मुछियो त भन्ने प्रश्नमा आईजीपी कुँवरले तेस्रो पक्षले मेरो नाम किन लिए भन्ने विषयमा आफूलाई थाहा नहुने भन्दै आफ्नो कुनै संलग्नता नरहेको र यस विषयमा छानबिन भए आफूले पूर्ण सहयोग गर्नेसमेत बताए । 

आईजीपी कुँवरले भने, ‘यो प्रकरणमा अनुसन्धान गर्नुपर्छ भनेर मैले नै भनेको हुँ । प्रहरीको छवि उचो राख्न प्रहरीले यति धेरै मिहिनेत गरेको छ र अहिलेसम्मको सफलता मिलेको हो । तर प्रहरीभित्र नै फाटो ल्याउन र विवादमा ल्याउनका लागि यस्ता कुरा गरिएका छन् । कसैलाई पदको लोभ होला, कसैलाई प्रोमोसनको लालसा दिइएको होला । मैले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गरेको छु, कसैले गलत पुष्टि गर्न सक्छ भने म जेल जान तयार छु ।’

अख्तियार प्रमुख राईलाई पनि नैतिक प्रश्न 

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित सानु भण्डारीको बयानमा तत्कालीन गृहसचिव तथा हालका अख्तियार प्रमुख प्रेम राईको पनि नाम मुछिएको छ । अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईको गाडीमा एक करोड रुपैयाँ राखिदिएको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् । 

तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले सचिव प्रेमकुमार राईको गाडी देखाईदिएको र सोही गाडीमा लगेर पैसा राखिदिएको भण्डारीको बयानमा उल्लेख छ । पैसा गाडीमा राखिसकेपछि सुरक्षा सल्लाहकार इन्द्रजित राईले तत्कालीन गृहसचिव प्रेमकुमार राईको कार्यकक्षमा बोलाएर ‘अब तपाईंको काम हुन्छ, तपाईंहरु जानु’ भनेर फर्काएको सानु भण्डारीले प्रहरीसँगको बयानमा खुलाएका छन् । 

भण्डारीले प्रेम राईको नाम पोल गरेपनि प्रहरीले भने प्रेमकुमार राईसँग कुनै सोधपुछ गरेको पाइएको छैन । आरोपितको बयानकै आधारमा अन्यलाई सोधपुछका लागि पक्राउ पुर्जी थमाएको प्रहरीले अख्तियारका प्रमुख आयुक्त राईका हकमा भने नरम नीति लिएको देखिन्छ । 

भण्डारीको आरोपपछि तपाईंमाथि पनि नैतिक प्रश्न त आउला नि भन्ने रातोपाटीको प्रश्नमा राईले अनैतिक काम नै नगरेपछि नैतिक प्रश्न आउने भन्ने कुरा नै नभएको जवाफ दिए । राईले भने, ‘मैले केही नगरेको, नजानेको, नबुझेको, नबोलेको मान्छेले भनेको कुरामा कसरी नैतिक प्रश्न आउँछ ?’ 

राईले अगाडि भने, ‘कुनै पनि बिचौलियाले के के बोले, त्यो उनीहरूले बाहिर ल्याइदिए, बिचौलियाले कहिले तीन करोड, कहिले दुई करोड र कहिले एक करोड दिएको भन्दो रहेछ, गाडीको डिकीमा राखिदिएको भन्छ रे, अनि डिक्की खुलै हुन्छ ? त्यहाँ चालक पनि होला नि !’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप
सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप