बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको बजेट करिब ३९ प्रतिशत मात्रै खर्च

कोभिड—१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमको साढे १५ अर्ब बजेट फ्रिज
शनिबार, १३ जेठ २०८०, ०६ : १८
शनिबार, १३ जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको दश महिनामा विनियोजन बजेटमध्ये ३८.९३ प्रतिशत बजेट मात्रै खर्च गरेको छ । मन्त्रालयको लेखा शाखाका अनुसार पुँजीगत खर्चतर्फ ४९.१४ प्रतिशत र चालुतर्फ ३४ दशमलव ५४ प्रतिशत खर्च भएको हो । 

आर्थिक वर्ष २०७९÷८० का लागि स्वास्थ्य मन्त्रालयले ६९ अर्ब ३८ करोड २० लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा १४ अर्ब ५३ करोड ७ लाख ४ हजार पुँजीगत खर्चतर्फ थियो भने ५४ अर्ब ४८ करोड २ लाख ८ हजार  चालु खर्चका  लागि भनेर विनियोजन गरिएको थियो ।

कुन शीर्षकमा भएन खर्च 

कोभिड—१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमका लागि १५ अर्ब ४७ करोड ७० लाख बजेट विनियोजन गरिए पनि पनि खर्च भएको छैन । महामारी रोग नियन्त्रण कार्यक्रमका लागि ४७ करोड ३० लाख बजेट छुट्याइएको थियो । जसमा  १७.९१ प्रतिशत चालु खर्च भएको छ । 

उपचारात्मक सेवा कार्यक्रमका लागि ३ करोड ८० लाख विनियोजन गरिएको थियो । जसमा चालूतर्फ मात्रै २१ प्रतिशत खर्च भएको छ । एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका लागि ५५ करोड ८७ लाख विनियोजन गरिएको थियो । चालुतर्फ २७.३ प्रतिशत मात्रै खर्च भएको छ ।

क्षयरोग नियन्त्रण शीर्षकमा ६९ करोड ६६ लाख विनियोजन गरिएको थियो । चालुतर्फ ३१ प्रतिशत मात्रै खर्च भएको छ । 

६ प्रतिष्ठानले गरेको खर्च  

आ.व २०७९÷८० का लागि स्वास्थ्य मन्त्रालय अन्तर्गतका ६ वटा प्रतिष्ठानलाई विनियोजन गरिएको बजेटमध्ये १० महिनाको अवधिमा धेरैले ५० प्रतिशतभन्दा धेरै खर्च गरेका छन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शतप्रतिशत बजेट खर्च गरेको छ  । उसले ११ करोड ९ लाख विनियोजित बजेटमध्ये चालु खर्च शीर्षकमा खर्च गरेको हो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २८ करोड ९४ लाख विनियोजन गरिएको थियो । जसमध्ये चालु खर्चतर्फ शतप्रतिशत नै खर्च गरिएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २२ करोड ७३ लाख रकम विनियोजन गरिएको थियो । सो रकम पनि शतप्रतिशत नै चालु खर्च भएको छ । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ४१ करोड १२ लाख विनियोजन गरिएको थियो । जसमध्ये सबै बजेट चालुतर्फ खर्च भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लागि २५ करोड ३४ लाख विनियोजन गरिएको थियो ।  जसमा ८३.३३ प्रतिशत चालु र ९.४५ प्रतिशत पुँजीगत खर्च भएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा ८६ करोड ५९ लाख विनियोजन थियो । जसमा ७५ प्रतिशत चालु र ५०.१९ प्रतिशत पुँजीगततर्फ खर्च गरिएको छ ।

स्वास्थ्य बीमा बोर्डको खर्च

स्वास्थ्य मन्त्रालय लेखा शाखाका अनुसार स्वास्थ्य वीमा बोर्डमा ७ अर्व ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यहाँ गएको १० महिनाका अवधिमा ८९.९८ प्रतिशत चालुतर्फ खर्च भएको छ । 

स्वास्थ्य अनुसन्धान परिषद्का लागि छुट्याइएको १५ करोड विनियोजन गरिएको थियो । चालूतर्फ सो बजेट शतप्रतिशत खर्च भएको छ ।  

आयुर्वेद सेवा कार्यक्रमका लागि चालुतर्फ ५ करोड ३९ लाख र पुँजीगततर्फ १ करोड ९ लाख विनियोजन गरिएको थियो । जसमा ४२.३२ प्रतिशत चालु र ६.६६ प्रतिशत पुँजीगततर्फ खर्च भएको छ ।

औषधि विभागका लागि १४ करोड ६९ लाख चालू खर्चका लागि विनियोजन गरिएकोमा ५७.७२ प्रतिशत मात्रै खर्च भएको छ । 

यस्तै, औषधि विभागलाई १ करोड ९१ लाख पुँजीगत रकम छुट्याइएको थियो., जसमा १२.६२ प्रतिशत खर्च भएको छ । 

स्वास्थ्य-तथा-जनसंख्या-मन्त्रालय-अन्तर्गत-२०७९-1स्वास्थ्य-तथा-जनसंख्या-मन्त्रालय-अन्तर्गत-२०७९-2स्वास्थ्य-तथा-जनसंख्या-मन्त्रालय-अन्तर्गत-२०७९-3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप