शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रेरणा

‘गाउँले एफएमदाइको गाउँले तरकारी आयो है आयो !’

शनिबार, १३ जेठ २०८०, १३ : ५८
शनिबार, १३ जेठ २०८०

‘गाउँले एफएमदाइको गाउँले तरकारी आयो है आयो ! होलसेलमा तरकारी किन्नुस् ।’

५० वर्षीय नगेन्द्र खड्का डोकोमा तरकारी बोकेर बजार–बजार डुल्दै चिच्याउँछन्, ठट्यौलो शैलीमा । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका– ९ डौँसुरमा उनको तरकारीखेती छ – ‘सागर कृषि तथा पशुपक्षी फार्म’ नामबाट । सागर भने उनको छोराको नाम हो । यहाँ ६ रोपनी जग्गामा व्यावसायिक तरकारीखेती गर्ने खड्काले वार्षिक ५–६ लाख रुपैयाँ आम्दानी गर्छन् ।  

‘घरमा पाँचजनासँग मोबाइल छ, सबैले फेसबुक हेन्र्या पैँसा कहाँबाट आउँछ ? यही तरकारीबाट हो नि,’ हँसिलो मुहारमा उनले भने, ‘अहिलेका केटाकेटी खेतीपाती गर्न मरेजत्तिकै मान्छन्, हामीलाई पाल्लान् जस्तो छैनन्, क्यार्नु मै बुढो खट्नुपर्छ ।’

cicinda

हाँसेर कुरा गर्नु उनको स्वभाव हो । दिनरात तरकारीबारीमा खटिएर उब्जाएको तरकारी बेच्न वरपर ठूलो बजार छैन । डौँसुर, बिन्द्रासैनी, जम्बुकाँध लगायत स्थानीय बजारका खुद्रा पसलमा उनले डोकोमा तरकारी बोकेर पुर्‍याउँछन् । ‘एकपटक ५५ केजी लिएर गएको रहेछु, बिक्रीपछि मात्र थाह भयो, आफूले उब्जाएको तरकारी गरुङ्गो भएको पनि थाह नहुने रहेछ क्या !’ उनी भन्छन्, ‘बुढिया मुन्छे, डोको बोक्दा–बोक्दा थाप्लोका रौँ गइसके यार । केटाकेटीले बोकेर लगिदिन्नन्, क्यार्नु !’ बोलीपिच्छेजसो ‘यार’ लगाउनु उनको थेगोजस्तै रहेछ ।

घरमा श्रीमती (खजुरा)ले दुई भैँसी, एक हल गोरु र केही बाख्रा पालेर उनलाई सघाएकी छन् । यी गाईवस्तुको मल उनले तरकारीमा प्रयोग गर्छन् । उनका चार सन्तानमध्ये जेठी छोरीको विवाह भइसक्यो । जेठाले १२ पास गरेर गाउँमै व्यापार गरिबसेका छन् । एक छोराले भर्खरै १८ महिने भेटेनरी कोर्स पूरा गरे, एक छोरीले १२ कक्षा पास गरेकी छन् । छोराछोरीलाई यतिसम्मको शिक्षादीक्षा उनले तरकारी बेचेरै दिएका हुन् ।  

kakrako doko

‘गाउँले एफएम दाइ’

०५८ सालतिर, डौँसुरमा उनको सानो पसल थियो । पसलमा उनले रेडियो राखेका थिए । त्यतिबेला जनयुद्ध उत्कर्षमा भएकाले त्यसका समाचारप्रति स्थानीयको चासो बढी थियो । रेडियो नेपाल, माओवादीले सञ्चालन गरेको रेडियो, नेपालगन्जको बागेश्वरी एफएम, कैलाली टीकापुरको फूलबारी एफएम आदिबाट बज्ने समाचार उनले गाउँहरुलाई चर्को ‘भोल्युम’मा सुनाउँथे ।

‘आज यो ठाउँमा यस्तो भीडन्त भयो, यतिजनाको मृत्यु भयो, यतिजना घाइते भए भनेर सबैलाई भन्थेँ,’ उनी भन्छन् । विश्वका घटना पनि उनलाई थाहा हुन्थ्यो । त्यहीबेला माओवादीकै एक नेताले उनको नाम ‘गाउँले एफएम दाइ’ भनेर राखिदिए, त्यसपछि गाउँमा उनी यही नामले चिनिन थाले । 

barima kam gardai

‘०४३ सालतिर रेडियो नेपालबाट चौतारी कार्यक्रम आउँथ्यो, जहाँ अहिलेका इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेल समेत ठाडीभाका गाउँथे,’ उनी भन्छन्, ‘त्यही बेलादेखि मेरो रेडियोतर्फ र गीत–संगीततर्फ लगाव रह्यो ।’

देउडा र लोकगीतमा उनको खास रुचि छ । केही वर्षअघि दैलेख, सुर्खेतबाट प्रसारण हुने धेरैजसो रेडियो कार्यक्रममा उनी पुग्थे र बोल्थे–गाउँथे । गाउँले लबज र प्रस्ट आवाजमा गीत गाउने उनी कतिपय श्रोतामाझ ‘नगेन्द्र खड्का गाउँले एफएम’ नामले चर्चित थिए । 

अहिले पनि उनको घरको बाहिर रेडियो झुन्डिएको हुन्छ । रेडियो सुन्दै उनी बारीमा काम गर्छन् । 

tamatar bari

बजार बुझेर उत्पादन

०७८ वैशाखमा उनले थाहा पाएका थिए– मंसिरमा आम चुनाव हुन्छ । चुनावको प्रचारमा आउने कार्यकर्ताले तरकारी किन्छन् भन्नेमा उनी विश्वस्त थिए । मंसिरमा मात्रै २० हजार बराबरको सिमी बिक्री भयो । ‘निर्वाचनको अवधिमा ६ क्विन्टल त बन्दा मात्रै बिक्री भयो,’ उनी भन्छन्, ‘उम्मेदवारलाई मैले उत्पादन गरेको सिमी र टमाटरको माला समेत लगाइएको थियो ।’

उनले सिमी, काँक्रा, चिचिन्डो लगायतको बिउ पनि आफैँ उत्पादन गर्छन् । हाइब्रिड जातको बिउ भने पसलबाट खरिद गर्छन् । गएको फागुन–चैतमा मात्र उनले २५ हजार रुपैयाँ बराबरको चिचिन्डोका बेर्ना बिक्री गरे । ‘मैले तरकारी कहिले बिक्री हुन्छ भन्ने बुझेर उत्पादन गर्छु,’ उनी भन्छन्, ‘यसपालि दुई सय बोट खुर्सानी लगाएको थिएँ, राम्रै फलेको छ ।’

गएको माघ–फागुनमा लगाएको तरकारी उनले यही वैशाखदेखि बिक्री गर्न थालेका छन् । यसपालि  डेढ महिनाको बीचमा उनले ४० हजार रुपैयाँ बराबरको काँक्रा, ६० हजार बराबरको चिचिन्डो बिक्री गरिसके । 

dokoma tarkari

उनको बारीमा यतिखेर एक क्विन्टलजति काँक्रा बिक्रीका लागि तयार छन्, चिचिन्डो पनि लटरम्म फलिरहेका छन् । अहिले चिचिन्डो प्रतिकेजी सय रुपैयाँमा बिक्री भइरहेको छ । ठुला दुईवटा टनेलमा ६ क्विन्टलजति गोलभेडा तयार छन् । ‘एउटा बोटमा ३–४ केजीसम्म टमाटर फल्छ,’ उनले भने, ‘भर्खरै मात्र २५ सय रुपैयाँको टमाटर बेचेर आएँ । अर्गानिक टमाटर हो यो, ६० रुपैयाँ केजीमा बिक्री भइरहेको छ ।’

कृषिसम्बन्धी तालिम लिएका उनले घरमै कीटनाशक औषधि बनाउँदा रहेछन् । आफूले अहिलेसम्म तरकारीमा विषादीको प्रयोग नगरेको उनको दाबी छ । हँसिला र जोसिला उनी भन्छन्, ‘अर्गानिक मल नै फालाफाल छ यार बाबु ! बजारिया मल किन किन्नु, माटो बिगार्छ ।’

केही दिनअघि परेको असिनाले उनको बारीमा केही क्षति पुर्‍यायो, यसको क्षतिपूर्ति उनले कहीँबाट पाएनन् । उनले व्यावसायिक तरकारीखेती सुरु गरेको १० वर्ष भयो । त्यसअघि उनले परम्परागत रूपमा खेती गर्दै आएका थिए । ‘अहिलेसम्म राज्यबाट कुनै अनुदान वा सहयोग पाएको छैन,’ उनी गुनासो गर्छन्, ‘वास्तवमा राज्यले दिने करोडौँ अनुदान रकम बिचौलियाको हातमा जाने गरेको छ ।’

तरकारीखेतीका लागि उनलाई सिँचाइको समस्या छ । एकपटक सेवक नाम गरेको एक संस्थाले उनलाई पाल दिएको थियो । पालको छानो राखी उनले बारीनजिकै पोखरी बनाएका छन् । ‘वरपर पानीको ठुलो मुहान नभएकाले सिँचाइको समस्या अझै छ,’ उनी भन्छन् ।

kakra

१२ केजीको मुला, ७ केजीको काँक्रा

एकपटक उनको बारीमा १२ केजीसम्मको एउटा मुला फलेको थियो । गत वर्ष, सात केजीको एउटा काँक्रा फल्यो । जसलाई चामुण्डाबिन्द्रासैनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत तिलक विकले किनिदिए । 

कक्षा ३ सम्म पढेका उनी यतिखेर तरकारीखेतीबारे गाउँलेलाई जनचेतना दिने भएका छन् । ‘कसरी ठुलो र फलाउने भन्नेबारे अध्ययन गर्छु,’ उनी भन्छन्, ‘तरकारी लगाउनुभन्दा एक महिनाअघि बारीलाई तयार गरेको हुन्छ, प्रत्येक बोट लगाउँदा एक हात गहिराई र चौडा पनि मिलाएर खन्छु ।’ 

सबैभन्दा राम्रो बाली प्रदर्शन गरेकाले अघिल्लो वर्ष उनी एक्लैले नगरपालिकाबाट प्रथम, दोस्रो र तेस्रो पुरस्कार थापे । ‘एउटा मामुली कृषकका लागि पुरस्कार पाउनु निकै ठुलो हो, यसले हौसला प्रदान गर्छ,’ उनले भने । 

मान्छेका आ–आफ्नै सोख हुन्छन् । पहिले रेडियोप्रेमी उनी समयसँगै यतिखेर टिकटकतिर मोडिएका छन् । कृषिबारे जानकारीमूलक भिडिओ बनाएर उनले ‘नगेन्द्र खड्का ४४९’ नामक टिकटक आइडीबाट सेयर गर्छन् । 

कुराकानीको अन्त्यमा उनले भने, ‘यसो कसैले सहयोग गरिदिए एउटा गीत रेकर्ड गर्ने ठुलो चाहना छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप