सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
आममाफी प्रकरण

रेशमको कैद माफी गर्ने निर्णयविरुद्धको रिट समय अभावले दर्ता भएन

आइतबार, १४ जेठ २०८०, २० : ०७
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । रेशम चौधरीको कैद सजाय माफी दिने निर्णयविरुद्धको रिट आइतबार अदालतमा दर्ता भएन । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका चौधरीको कैद सजाय माफी दिएका छन् ।

राष्ट्रपतिको सो निर्णयविरुद्ध टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले सर्वोच्च अदालतमा रिट दिएकी हुन् । समय अभावका कारण आइतबार रिट दर्ता नभएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

रिट दर्ताबारे सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले रातोपाटीसँग भने,‘आज कार्यालय समय सकियो ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गणतन्त्र दिवसको अवसर पारेर चौधरीको सजाय माफी दिने निर्णय गरेका हुन् । निर्णय नगर्न माग राखेर शुक्रबार पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा पनि निवेदन दर्ता गराएका थिए ।

२०७२ भदौ ७ मा कैलालीको टिकापुरमा थरुहट समर्थक प्रदर्शनकारीको आक्रमणबाट प्रहरी निरीक्षक केशव बोहराले ज्यान गुमाएका थिए । टिकापुरमा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालकको हत्या भएको थियो । 

प्रदर्शनको नेतृत्व रेशम चौधरीले गरेका थिए । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरी अदालतको फैसला अनुसार जेलमा छन् । 

जिल्ला अदालत, उच्च अदालत डोटी र सर्वोच्च अदालतले रेशमविरुद्ध जन्मकैद फैसला गरेको थियो । न्यायको लागि बिन्ती गर्दा गरिरहँदा आममाफी दिने निर्णयले आफूलाई थप पीडा भएको बोहराले बताइन् । नले भनिन्,‘मेरो पति लगायतलाई प्रहार गर्दै गरेको हृदय विदारक चित्कारको आभास गराएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप