शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
बजेट

बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइन्छ : अर्थमन्त्री महत

मङ्गलबार, १६ जेठ २०८०, १५ : १०
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने दाबी गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गर्न सकिने बताए  ।

उनले भने,  ‘विगतमा गर्न नसकेका कामलाई तुलना गरेर बजेटमा राम्रा विषय धेरै, तर उपलब्धि कम हुन्छ भन्ने शंका कामबाट निवारण गरिन्छ ।’ 

यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरी बजेट निर्माण गरिएको उनको भनाइ छ । बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको अर्थमन्त्री महतले दाबी गरे ।

१७ खर्बको बजेटमा पुँजीगत प्रकृतिको बजेट ४ खर्ब ७१ अर्ब हाराहारी रहेको भन्दै पुँजीगत खर्च नघटाइएको उनले बताए ।

उनका अनुसार मौद्रिक नीति र वित्त नीतिको सामन्जस्यताबाट अब अर्थतन्त्र चलायमान गराउन सकिने छ ।

आउँदा दिनमा राष्ट्र बैंकबाट पनि मौद्रिक नीतिमा सहजता आउने महतको तर्क छ । सीमा नाकामा हुने राजस्व चुहावटका ‘लुपहोल’ पनि बजेटमार्फत टालिएको उनको दाबी छ।

‘राजस्व नीतिमा सुधार गरेका छौं । त्यसमा भएका लुपहोल हटाएका छौं, यसले आगामी दिनमा राजस्व वृद्धि हुने छ,’ महतले भने । 

नेपाली उद्योगलाई प्रवर्द्धन गर्न कम्तीमा १ तहमा करका दर कम गरिएको उनले बताए । सांसदलाई विकास निर्माणका लागि दिएको रकमलाई व्यक्तिलाई दिएजस्तो व्याख्या नगर्न महतले आग्रह गरे ।

यस्तै अर्थमन्त्री महतले विद्युतीय सवारी साधनलाई निरुत्साहित नगरेको भन्दै झुटो प्रचार गरिएको बताए ।

 ‘बजेटको धेय विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने हुँदै होइन, यो झुटो हो । अब फेरि पनि पेट्रोलियम गाडीमै जाने सम्भावना छैन,’ उनी भन्छन्,  ‘पेट्रोलियम पदार्थको त्यही स्तरका गाडीमा धेरै कर छ। त्यसको तुलनामा धेरै कम छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप