शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गल्फमा भारतलाई १४ स्ट्रोकले पछि पार्दै नेपालले जित्यो स्वर्ण

मङ्गलबार, १६ जेठ २०८०, १७ : २६
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौं । नवौँ संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताअन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । नेपालका नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र सद्भाव आचार्यको जोडीले दोस्रो दिन सात अन्डर १ सय ३७ स्कोर जोड्यो । समग्रमा १७ अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै सुवास र सद्भावले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

सुवासले ४ अन्डर ६८ र सद्भावले ३ अन्डर ६९ को प्रदर्शन गरे । सुवास र सद्भावले यसअघि गत मार्चमा बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसीपमा पनि टिमतर्फ स्वर्ण पदक जितेका थिए । समग्रमा ३ अन्डर २ सय ८५ को प्रदर्शनसहित भारतले रजत पदक प्राप्त गर्‍यो ।

दोस्रो दिन भारतका सुमित कोटवालले ८ अन्डर ६४ र सुरज जोशीले २ ओभर ७४ को प्रदर्शन गरे । यो जोडीले दोस्रो दिन भारतका लागि ६ अन्डर १ सय ३८ स्कोर जोड्दै दोस्रो स्थान प्राप्त गरेको हो । समग्रमा ५ ओभर २ सय ९३ को प्रदर्शनसहित भुटानले कांस्य पदक हात पा¥यो । दोस्रो दिन ७ ओभर १ सय ५१ स्कोर बनाउने क्रममा उगेन दोर्जीले १ अन्डर ७१ र कर्मा दोर्जी खोर्कोले ८ ओभर ८० मा खेल टुङ्ग्याए ।

प्रतियोगिताको व्यक्तिगत स्पर्धातर्फ भारतीय खेलाडी सुमित कोटवाल ८ अन्डर ६४ को स्कोरसहित शीर्ष स्थानमा उक्लिएका छन् । उनले समग्रमा १२ अन्डर १ सय ३२ सहित पहिलो दिनका लिडर नेपालका सुवास तामाङलाई २ स्ट्रोकले पछि पारे । ४ अन्डर ६८ को कार्ड बनाएका सुवास समग्रमा १० अन्डर १ सय ३४ को स्कोर बनाउँदै दोस्रो स्थानमा झरे ।

राष्ट्रिय टोलीका सदस्य सद्भाव आचार्यले दोस्रो दिन ३ अन्डर ६९ को प्रदर्शन गरे । समग्रमा ७ अन्डर १ सय ३७ को प्रदर्शनसहित उनी तेस्रो स्थानमा छन् । भुटानका उगेन दोर्जी समग्रमा ४ अन्डर १ सय ४० स्कोरसहित चौथो तथा नेपालका टासी छिरिङ र भारतका वरुण मुथप्पा समग्रमा २ अन्डर १ सय ४२ स्कोरसहित संयुक्त रूपमा पाँचौँ स्थानमा छन् ।

नेपालका वाङ्चेन ढोन्डुप र बंगलादेशका मोहम्मद सुमोन समग्रमा १ ओभर १ सय ४५ स्कोरसहित सातौँ तथा पाकिस्तान उमैर सलिम र नेपालका टासी डोङ समग्रमा ५ ओभर १ सय ४९ स्कोरका साथ संयुक्त रूपमा नवौँ स्थानमा रहे ।

नेपाल गल्फ संघ र नेपाल टुरिजम बोर्डद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगितामा ४४ पुरुष र ७ महिला गरी कूल ५१ जना गल्फ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट र महिला व्यक्तिगत गरी ३ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । ५४ होलको प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको सहयोग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप