बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

३० दिनभित्र विश्वासको मत लिन्छु : मुख्यमन्त्री कार्की

बुधबार, १७ जेठ २०८०, १९ : २९
बुधबार, १७ जेठ २०८०

विराटनगर । जसपाले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारको भविष्यलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको छ । 

यद्यपि मुख्यमन्त्री कार्कीले भने आफू ३० दिनभित्र विश्वासको मत लिएर अगाडि बढ्ने बताएका छन् । 

प्रदेशसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा उनले सरकार कानूनअनुसार चल्ने बताएका हुन् । ‘जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्छ,’ कार्कीले भने, ‘म त्यहीअनुसार अगाडि बढ्नेछु ।’ 

जसपाले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रले पनि समर्थन फिर्ता लियो भने सरकारको नीति, कार्यक्रम तथा बजेट पारित कसरी गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘यो नानी पाउनु कहिले कहिले कन्दनी बाट्नु अहिले भनेजस्तो प्रश्न भयो ।’

जसपा सरकारबाट बाहिरिए पनि कोशी प्रदेश सरकार तत्काल अल्पमतमा भने परेको छैन । यद्यपि अब माओवादी केन्द्रले पनि सरकार छोड्न सक्ने आकलन गरिएको छ । यद्यपि माओवादीले यस विषयमा कुनै ठोस प्रतिक्रिया दिएको छैन । 

‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि यस विषयमा हामी निर्णय गर्छौ,’ माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने । 

कोशीमा एमालेको ४०, काँग्रेसको २९, माओवादीको सभामुखसहित १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ जना सांसद छन् । 

९३ जनाको प्रदेशसभा रहेको कोशी प्रदेशमा सरकार निर्माणको लागि आवश्यक बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ । जसपा सरकारबाट बाहिरिएसँगै कार्की नेतृत्वको वर्तमान सरकारलाई एमालेका ४०, माओवादी १३ र राप्रपाका ६ गरी ५९ सांसदको समर्थन छ । 

माओवादीले समर्थन फिर्ता लिएमा भने वर्तमान सरकार स्पष्ट अल्पमतमा पर्नेछ । 

उता, एमाले र राप्रपा बाहेकका पार्टीहरु मिलेर सरकार बनाउन पनि प्राविधिक कठिनाइ देखिन्छ । किनकि काँग्रेस, माओवादी, नेकपा एस र जसपाको गरी ४७ सांसद पुगेपनि सभामुखले विश्वासको मत दिन पाउँदैनन् । जसका कारण काँग्रेससहितको गठबन्धन दलहरुले राप्रपालाई पनि आफ्नो कित्तामा उभ्याउने कसरत जारी राखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप