इजलासमा टोपबहादुर : अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान् !
काठमाडौँ । ‘चार पटक सांसद भएँ, उप–प्रधानमन्त्रीसम्म भएको मान्छे हुँ राज्यको लागि काम गर्नेले भुटानी बनाएर नेपालीलाई अमेरिका पठाउने कल्पना पनि गर्न सकिँदैन ।’
काठमाडौँ जिल्ला अदालतको २५ नम्बर इजलासमा न्यायाधीश प्रेम प्रसाद न्यौपाने सामु नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीले थप भन्दै गए–‘अफ द रेकर्ड, मेरो विरुद्ध राजनीतिक चलखेल भएको छ श्रीमान् ।’
भुटानी शरणार्थी प्रकरणमा बयान दिन इजलासमा उपस्थित भएका पूर्व उप–प्रधानमन्त्री टोपबहादुर रायमाझीले ७ घण्टा बयान दिएका छन् । बिहीबार बयान दिँदा रायमाझीले न्यायाधीश सामु प्रहरीको हिरासतमा ‘टर्चर’ हुने गरेको पनि गुनासो गरेका छन् । बयान दिनुअघि रायमाझीले अधिवक्ता करुणाकर मल्लिक र आकृति रायमाझीसँग परामर्श गरेका थिए ।
वैशाख ३१ मा पक्राउ परेका रायमाझीविरुद्ध एकजना पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा ‘भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउँछु’ भनेर पैसा लिएको आरोपमा जाहेरी दिएका थिए । आफू पक्राउ परिसकेपछि योजनाबद्ध जाहेरी दर्ता गरिएको जिकिर गर्दै रायमाझीले बयानमा भनेका छन्–‘जाहेरी योजनाबद्ध आएको छ, म जाहेरवालालाई चिन्दिनँ ।’
शरणार्थी प्रकरणका मुख्य योजनाकार रायमाझीलाई अर्का योजनाकार सानु भण्डारीले १ करोड ६० लाख नगद दिएको बयान दिएका छन् । तर, आफू राजनीतिक मान्छे भएको बताउँदै रायमाझीले बयानमा भनेका छन्–‘मैले पैसा लिएको छैन तर, सानु र मेरो छोरा सन्दीप व्यापारिक साझेदार हुन् ।’
सानु भण्डारीको घरमा भेटिएको डायरीमा भेटिएको ‘लेनदेन रेकर्ड’को आधारमा पक्राउ परेका रायमाझीले डायरीको हिसाबबारे भने–‘डायरीको हिसाब मलाई थाहा भएन ।’ डायरी अध्ययन गरेका एकजना प्रहरी अधिकृतका अनुसार रायमाझीलाई ‘मामा’ सम्बोधन गरेर सानुले पटक–पटक रकम दिएको हिसाब राखेको भेटिएको छ
छोरा सन्दीप र सानु सहित ५ जना मिलेर कम्पनी खोलेको र व्यापारमा साझेदार रहेको कुरा उल्लेख गर्दै रायमाझीले भनेका छन्–‘व्यापारको हिसाब मलाई थाहा भएन, छोरालाई थाहा छ ।’
पूर्व सभासद् आङटावा शेर्पाले पनि बिहीबार आफ्नो बयान पुरा गरे । शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्येका सानु भण्डारी पक्राउ परेपछि उनका दाइ राजुलाई ३० लाख दिएर ‘कागज’ बनाएका आङटावाले त्यसबारे बयान दिएका छन् । पूर्व गृहमन्त्री बालकृष्ण खाणले लिएको पैसा फिर्ता गर्ने शर्तमा राजु भण्डारीसँग आङटावाले कागज गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।
इजलासमा शेर्पाले सो कागज पेश गर्दै भनेका छन्–‘राजु भण्डारीसँग मेरो लेनदेन कारोबार छ ।’ शेर्पाले आफूलाई पक्राउ गरेपछि कुटपिट गरेको जिकिर गरेका छन् । तर, उनी पक्राउ परेकै बिहान शौचालयमा लडेर घाइते भएको प्रहरीले दाबी गर्दै आएको छ । शेर्पाको टाउकोमा ७ वटा टाँका लगाइएको छ । शेर्पाले बयानमा भनेका छन्–‘प्रहरीले मलाई कुटपिट गरेर बयान गराए, घाइते छु श्रीमान् ।’
शरणार्थी प्रकरणमा अहिलेसम्म १५ जनाको बयान पुरा भएको छ । शुक्रवार पूर्व गृहमन्त्री बालकृष्ण खाँण, शरणार्थी नेता टेकनाथ रिजाल र सहकारी व्यवसायी हरिभक्त महर्जनको बयान हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण