मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा ८० बालिकालाई विष दिइयो, सबै प्राथमिक स्कुलका विद्यार्थी

सोमबार, २२ जेठ २०८०, १३ : ५८
सोमबार, २२ जेठ २०८०

अफगानिस्तानको उत्तरी इलाकामा दुई वटा प्राथमिक स्कुलका ८० छात्रालाई विष दिइएको छ । सबैलाई अस्पताल भर्ना गरिएको छ । इलाकाका शिक्षा अधिकारीले आइतबार यसबारे जानकारी दिएका हुन् । अगस्ट सन् २०२१ मा तालिबान सत्तामा आएपछि यस्तो घटना पहिलो पटक भएको हो । 

तालिबानले पहिले नै देशमा बालिकालाई ६ कक्षाभन्दा माथि पढ्न प्रतिबन्ध लगाइसकेको छ । जुन स्कुलमा छात्रालाई विष दिएको थियो, ती अफगानिस्तानको सर–ए–पुल प्रान्तमा छन् । यी दुई स्कुल आसपास छन् । एकपछि अर्को गर्दै यी स्कुललाई निशाना बनाइएको हो ।

छात्रालाई षड्यन्त्र गरेर विष दिइयो

सर–ए–पुलको एजुकेसन डिपार्टमेन्टका अधिकारीले आफूहरूले घटनाबारे छानबिन गरिरहेको बताए । छात्रालाई कसरी विष दिइयो भन्ने जानकारी छैन । सुरुवाती अनुसन्धानमा यो कसैको षड्यन्त्रजस्तो लागेको अधिकारी बताउँछन् । कसैले तेस्रो पक्षमार्फत उनीहरूलाई विष दिएको पनि अधिकारीले जानकारी दिएका छन्  । विष दिइएका छात्राहरू एकदेखि ६ कक्षामा अध्ययनरत छन् ।

अफगानिस्तानमा सन् २०१५ मा पनि यस्तै घटना भएको थियो । त्यति बेला हेरात प्रान्तमा स्कुलका ६ सय छात्रालाई विष दिइएको थियो । त्यति बेला कुनै पनि सङ्गठनले यसको जिम्मेवारी लिएको थिएन । यद्यपि, त्यति बेला थुप्रै मानवअधिकार सङ्गठनले तालिबानलाई घटनाका लागि जिम्मेवार बताएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप