शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
खानेपानी समस्या

काकाकुल वीरेन्द्रनगर : कहाँ पुग्यो भेरी पम्पिङ मेगा प्रोजेक्ट ?

आफ्नै कार्यकालमा खानेपानीको समस्या समाधान गर्ने मेयर ढकालको दाबी
मङ्गलबार, २३ जेठ २०८०, १५ : ०७
मङ्गलबार, २३ जेठ २०८०

सुर्खेत । वीरेन्द्रनगरमा यतिबेला खानेपानीको चरम संकट छ । गर्मी मौसम सुरु भएसँगै प्रयोगमा ल्याइएका पानीका मुहानमा समेत पानीको सतह घट्दा उपत्यकामा खानेपानीको चरम संकट चुलिएको हो । खानेपानीका धारा जडान भएका घरधुरीमा समेत ३ देखि ५ दिनको फरकमा मात्र पानी आउने गरेको छ, त्यो पनि अपर्याप्त । 

वीरेन्द्रनगर, बाँगेसिमलकी शान्ता शाहीले हप्तामा कहिले ५ दिनको फरकमा त कुनै साता धारामा आउँदै नआउने हुँदा पानी किनेर खानुपर्ने बाध्यता रहेको बताइन् । परिवार सङ्ख्या ठुलो हुँदा आर्थिक आम्दानीको स्रोत नभए पनि दैनिक ३ सय तिरेर पानी खानु परिरहेको उनको गुनासो छ । 

‘हामीले इनार पनि बनाउन सकेका छैनौँ । धारमा पानी आउँदा टन्नै भरेर राख्थ्यौँ र त्यही चलाउँथ्यौँ,’ उनले भनिन्,‘ आजभोलि पानी आउनै छाड्यो, अब त धारामा हेर्न पनि छाडी सक्यौँ ।’ 

वीरेन्द्रनगरको गण्डकी लाइनकी अमृता भट्टराई खानेपानीका लागि अहिले इनारमा निर्भर रहनु परेको बताउँछिन् । ‘धारामा आउने पानी ३÷४ दिनको फरकमा आउँछ,’ उनले भनिन्,‘ खानेपानीको समस्या समाधान कहिले हुने हो खै ? दिक्क लागिसक्यो ।’ 

खानेपानीको चरम अभाव मात्रै होइन, अघोषित लोडसेडिङले पनि फागुन यता वीरेन्द्रनगरको बसाइँ सकसपूर्ण छ ।

प्रदेश राजधानी बनेसँगै वीरेन्द्रनगरमा दिनप्रतिदिन जनसङ्ख्या बढ्दो छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार यसअघि २ लाख जनसङ्ख्या रहेको उपत्यकामा ३५ हजार घरधुरी थिए । 

photo aayojana bare jankari

उक्त जनसङ्ख्यालाई सहज खानेपानीको आपूर्ति गर्न करिब २७८ लिटर प्रतिसेकेन्ड आवश्यक पर्थ्यो । सुर्खेत उपत्यका खानेपानी संस्थाका अनुसार हाल प्रयोगमा ल्याइएका स्रोतहरूबाट १२८ लिटर प्रतिसेकेन्ड पानी मात्र उपलब्ध हुने भएकाले पानीको अभाव भएको हो । 

३५ हजार घरधुरीमध्ये हालसम्म २० हजार घरधुरीमा मात्रै खानेपानीको धारा जडान भएको छ । संस्थाका अध्यक्ष कुलमणि देवकोटाका अनुसार यो वर्ष थप घरधुरीमा खानेपानीको लाइन वितरणपछि अझ पानी अभाव हुने देखिन्छ । 

अहिले प्रयोग भइरहेको पानी आवश्यक भन्दा ५४ प्रतिशतले कम हो । हाल झुप्रा खोला, खरिखोला बोरीखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट गरी १५७ लिटर प्रतिसेकेन्ड पानी ल्याइ आपूर्तिको व्यवस्था मिलाइएको छ । खडेरीको समयमा माग बढ्ने भएपनि मुहानमा पानी घट्ने हुँदा खानेपानीको पहुँच सहज नभएको देवकोटाले बताए । 

यस्तोमा खानेपानी समस्याको लागि एउटै विकल्प हो, भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने । 

कहाँ पुग्यो भेरी पम्पिङ आयोजना ? 

तीन दशक पछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भनेर अघि बढाइएको योजना हो– ‘भेरी पम्पिङ’ योजना । 

०७७ देखि आयोजनाका लागि बजेट विनियोजन हुँदै आएको हो । भेरीको पानी पम्पिङ गरेर वीरेन्दन्रनगर ल्याउन संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लिफ्टिङ प्रविधिमार्फत् उपत्यकामा ल्याउने भनिएको छ । 

६ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको विषयमा हालै नगरपालिकामा बृहत् छलफल भएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाका उप–निर्देशक मधुसुधन खनालका अनुसार पानी प्रशोधन केन्द्र लेकबेसी नगरपालिकाको वन क्षेत्रमा राख्नुपर्ने छ । 

वन क्षेत्र भएकाले इआइए गर्नुपर्ने भएपनि अहिलेसम्म त्यो काम अघि बढेको छैन । इआइए भए औपचारिक रुपमा आयोजनाको काम सुरु हुने अपेक्षा छ । 

3

दुई चरणमा सम्पन्न हुने आयोजनाका लागि पहिलो चरणअन्तर्गत ४ अर्ब ६५ करोड ३० लाख ६६ हजार बराबरको बजेट सुनिश्चित भइसकेको छ । 

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालका अनुसार खानेपानी सम्बन्धमा नगरपालिकाले ऐन ड्राफ्ट गरेको छ । नगर सभाबाट पास भएपछि आयोजनाको टेन्डर प्रक्रियामा अघि बढ्नेछ । 

उनले भनिन्,‘आयोजनाको दुई चरणमा काम गरिनेछ । पहिलो चरणको कार्यका लागि बजेट सुनिश्चित भइसक्यो । पहिलो चरणको काम तीन वर्षमा सम्पन्न हुनेछ । आफ्नै कार्यकालमा खानेपानीको समस्या समाधान गर्ने मेयर ढकालको दाबी छ ।

ढकालका अनुसार असार मसान्तसम्म आयोजनाको टेन्डर आह्वान हुनेछ । पहिलो चरणमा नदीबाट पानी पम्पिङ गर्ने, ट्याङ्की बनाउनेदेखि पानी वितरणसम्मको काम हुनेछ । आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिका–११, अमृत डाँडामा पानी ल्याउने छ । 

पहिलो चरणमा भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृत डाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य छ । 

दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ ।

त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । अनि, ५५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ । 

अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । अबको ६ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने लक्ष्य राखिएको छ । आयोजनाबाट वीरेन्द्रनगरको ५ लाख जनसङ्ख्या लाभान्वित हुनेछ ।

आयोजना सम्पन्न नहुञ्जेलसम्म भइरहेका संरचना र पम्पिङ गरिएको पानीबाट खानेपानी सहज बनाइने नगरप्रमुख ढकालले बताइन् । 

आयोजना डिजाइन कन्सल्टेन्सी प्रशान्त मल्लका अनुसार आर्थिक वर्ष २०८०÷०८१ का लागि १ अर्ब ५० करोड बराबरको बजेट अनुमान गरिएको छ । त्यसमा संघीय सरकारको ८५ करोड, वीरेन्द्रनगर नगरपालिकाको ७ करोड ३५ लाख र प्रदेश सरकारबाट १३ करोड ६५ लाख बजेट विनियोजन गर्नुपर्ने हुन्छ । 

आयोजना अगाडि बढाउन असार १० गतेभित्र खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना कार्यान्वयन ऐन २०८० स्थानीय राजपत्रमा प्रकाशित गर्नुपर्नेछ भने जग्गा प्राप्तिको लागि पनि सार्वजनिक सूचना प्रकाशन गरिसक्नुपर्ने छ ।

यस्तै असार मसान्तसम्म वीरेन्द्रनगर नगरपालिका, लेकबेसी नगरपालिकाबीच भेरी पम्पिङ उप आयोजनाको इन्टेक र ट्रिटमेन्ट प्लान्टको लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौता गराइ सक्नुपर्ने छ । 

सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले आयोजनाको लागि अहिले सुनिश्चित भएको बजेट अपुग हुने भएकाले ८ अर्ब बजेट सुनिश्चित गरिनुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप