शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : पहिलो दिन‌ सुवासलाई पाँच स्ट्रोकको अग्रता

मङ्गलबार, २३ जेठ २०८०, १७ : २०
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२–२३ सिजन अन्तर्गतको अन्तिम प्रतियोगिता ‘सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप’को पहिलो दिन मंगलबार सुवाष तामाङले सानदार सुरुआत गरेका छन् । उनी नेपालका नम्बर एक एमेच्योर गल्फर हुन् ।

उनले पहिलो दिन पाँच स्ट्रोकको अग्रता बनाएका छन् । उनले पहिलो दिन नौ अन्डर ६३ को उत्कृष्ट स्कोर गरे । सुवाषले प्रोफेसनल गल्फर तोरणविक्रम शाहीलाई पाँच स्ट्रोकले पछि पारेका हुन् । गोकर्ण गल्फ क्लबमा भएको उक्त प्रतियोगितामा तोरणले पहिलो दिनको खेल चार अन्डर ६८ मा पूरा गरे ।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल तीन अन्डर ६९ को स्कोर गर्दै संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् । एमेच्योर खेलाडी सदभाव आचार्य दुई अन्डर ७० स्कोरसहित पाँचौ स्थानमा छन् । एक अन्डर ७१ को स्कोर गरेका साविक विजेता शुक्रबहादुर राईसहित कृष्णमान राजबाहक र दिनेश प्रजापति संयुक्त रुपमा छैटौं स्थानमा छन् ।

यसैगरी सूर्यप्रसाद शर्मा, भुवन नगरकोटी, दलबहादुर लामा, रवि खड्का र राजेन्द्र थापामगर संयुक्त रुपमा नवौं स्थानमा छन् । उनीहरूले पहिलो दिनको खेल ईभन पार ७२ मा टुंग्याएका थिए । दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्ण पदक विजेता सुवाषले प्रो गल्फरहरूलाई पहिलो दिनदेखि नै दबाब दिने क्रममा उत्कृष्ट सुरुआत गरे ।

उनले पहिलो, दोस्रो र तेस्रो होलमा लगातार तीन बर्डी प्रहार गरे । आठौं होलमा एक सट खेर फाले पनि उनले पाँचौं र नवौं होलको बर्डीपछि फ्रन्ट नाइन चार अन्डर ३२ मा सकाए । ब्याक नाइनमा पनि सुवाषले उत्कृष्ट लयलाई निरन्तरता दिए । १०औं होलमा एक सट बचाउँदा पाँच पारको ११औं होलमा उनले इगलको सफलता प्राप्त गरे । त्यसपछि १२औं र १४औं होलमा एक÷एक सट बचाउँदै उनले ब्याक नाइन पाँच अन्डर ३१ मा टुंग्याएका थिए ।

तोरणले भने फ्रन्ट र ब्याक नाइन दुवै दुई अन्डर ३४ मा पूरा गरे । दिनको सुरूआत उनले बोगीबाट गरेका थिए । पहिलो होलमा बोगी खेपे पनि तेस्रो, सातौं र नवौं होलमा बर्डी प्रहार गरे । त्यसपछि १२औं र १६औं होलमा एक÷एक सट बचाए ।

जयरामले फ्रन्ट नाइन दुई अन्डर ३४ मा टुंग्याए । पहिलो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गरेका उनले चौथो होलमा भने बोगी खेपेका थिए । उनले ब्याक नाइन एक अन्डर ३५ मा पुरा गरे । ११औं र १३औं होलमा एक÷एक सट बचाउँदा उनले १५औं होलमा बोगी खेपेका थिए ।

प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित उक्त प्रतियोगितामा ४१ प्रोफेसनल र नौ एमेच्योर गरी कुल ५० जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले ७२ होलको प्रतियोगिता खेल्नेछन् । ३६ होलको समाप्तीमा शीर्ष २१ प्रो र कम्तिमा ६ जना एमेच्योर खेलाडीले कट बनाउनेछन् ।

कुल १५ लाख २० हजार रुपैयाँ नगद पुरस्कार राशी रहेको उक्त प्रतियोगिताको विजेताले दुई लाख ७० हजार प्राप्त गर्नेछ । दोस्रो, तेस्रो र चौथो हुने खेलाडीले क्रमशः एक लाख ७० हजार, एक लाख २० हजार र एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । शीर्ष २१ भित्र पर्ने प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार हात पार्नेछन् । 

सूर्य नेपाल गल्फ टुरअन्तर्गत आठमध्ये सातवटा प्रतियोगिताको सकिँदासम्म पाँच लाख १३ हजार पाँच सय रुपैयाँका साथ भुवन नगरकोटी यो सिजनमा सर्वाधिक कमाउने खेलाडी सूचीको शीर्ष स्थानमा छन् । उनीभन्दा १९ हजार पाँच सय रुपैयाँ कम कमाएका शुक्रबहादुर राई दोस्रो स्थानमा रहेका छन् । यो प्रतियोगिताले अर्को सिजनको नम्बर १ खेलाडीको पनि छिनोफानो गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप