शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका उडेको एअर इन्डियाका जहाज रुसमा आकस्मिक अवतरण

बुधबार, २४ जेठ २०८०, ०९ : ४६
बुधबार, २४ जेठ २०८०

नयाँ दिल्ली । अमेरिकाका लागि उडान भरेको एयर इन्डियाको विमान आकस्मिक रूपमा रुसमा अवतरण भएको छ । सान फ्रान्सिस्कोका लागि उडेको एयर इन्डियाको विमानले रुसमा आपत्कालीन अवतरण गरेपछि स्थितिलाई नजिकबाट नियालिरहेको अमेरिकाले जनाएको छ। 

टाटा समूहको स्वामित्वमा रहेको उक्त विमान एआई १७३ को इन्जिन फेल भएकाले रुसको मगदानतर्फ डाइभर्ट गरिएको थियो । दुई सय १६ यात्रु र १६ जना चालक दलका सदस्य सवार विमान सकुशल अवतरण भएको छ । सो विमानले मंगलवार दिल्लीबाट उडान भरेको थियो ।  

अमेरिकी विदेश मन्त्रालयका उपप्रवक्ता वेदान्त पटेलले भने, ‘रुसमा आकस्मिक अवतरण गरेको तथा अमेरिकी उडान भरेको सो विमानका बारेमा जानकार छौँ। हामीले सो स्थितिलाई नजिकबाट नियालिरहेका छौँ। यद्यपि, म यसको पुष्टि गर्न असमर्थ छु कि सो विमानमा कति अमेरिकी नागरिकहरू थिए ?’ यद्यपि, सो विमानमा रहेका अमेरिकी नागरिकका बारेमा जानकारी लिने काम भने भइरहेको छ । 

वेदान्त पटेलले अगाडि भने, ‘यो उडान अमेरिकाको लागि उडेको थियो। त्यसैले, निश्चित रूपमा त्यो जहाजमा अमेरिकी नागरिक रहेको सम्भावना रहन्छ तर एयर इन्डियाले यात्रुहरूलाई गन्तव्यमा लैजान अर्को उडान पठाउँदैछ।’ उनका अनुसार सम्बन्धित एयरलाइन्सले नै सो बारेमा सही जानकारी दिन सक्छ ।

उता, एयर इन्डियाका प्रवक्ताले एक विज्ञप्तिमा भनेका छन्, ‘एयर इन्डियाले अब म्यागादानबाट सान फ्रान्सिस्कोको लागि जुन ८ मा वैकल्पिक उडान सञ्चालन गर्नेछ, एआई १७३ का सबै यात्रुहरू र चालक दललाई लिएर सो विमान उडनेछ, हाल म्यागादानका स्थानीय होटेलहरूमा यात्रुहरूलाई सुरक्षित राखिएको छ।’ 

उनका अनुसार यात्रुलाई चाँडोभन्दा चाँडो गन्तव्यमा पुर्‍याउने प्रयासमा प्राधिकरणले एयरलाइन्सलाई सहयोग गरिरहेको बताए। विमान (बोइङ ७७७) को चेकजाँच भइरहेको र यात्रुलाई विमानस्थलमा सबै खाले सहयोग उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप